Comments Add Comment

कँडेलको स्पष्टीकरण : मैले भारतीय नागरिकता लिएको छैन

६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले आफूसँग भारतीय नागरिकता नरहेको स्पष्टीकरण दिएका छन् । उनले आफूमाथि लगाएको आरोप पुष्टि गर्न चुनौतीसमेत दिएका छन् ।

हालै एक पत्रिकाले कँडेल भारतीय नागरिक भएको दाबी गर्दै समाचार प्रकाशित गरेको थियो । बुधबार कांग्रेस पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै पूर्वगृहराज्यमन्त्री समेत रहेका कँडेलले भने त्यसको खण्डन गरे । उनले भने, ‘मैले भारतीय नागरिकता लिएको छैन, मतदाता सूचीमा नाम पनि छैन ।’

अंगीकृत नागरिकता प्राप्तिमा हालकै व्यवस्था कायम हुनुपर्ने भनेर निरन्तर आवाज उठाइरहेका बेला आफैमाथि भारतीय भएको आरोप लाग्दा दुःख लागेको उनले सुनाए ।

‘वैवाहिक अंगीकृत नागरिकता प्राप्तीका लागि हालकै प्रावधान राख्नुपर्ने भनेर संसदमा भनिरहेको थिएँ, ‘बुधबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै सांसद कँडेलले भने, ‘सर्लाहीमा भएको कुमार पौडेलको हत्याको विषयमा आवाज उठाइरहेको थिएँ । यहि बेला यस्तो आरोप (भारतीय नागरिक रहेको) लगाइयो ।’

उनले आरोप पुष्टि गर्न चुनौती दिए । ‘मेरो नाममा भारतमा एक इन्च जग्गा भएको, कुनै पनि स्थानीय निर्वाचन वा आम मतदाता निर्वाचनको सूचीमा नाम भएको पुष्टि भए जस्तोसुकै कारबाही भोग्न तयार छु’ उनले भने ।

आफूसँग भारतीय सवारी चालक अनुमति पत्र भने रहेको उनले स्वीकार गरे । ‘मेरो बाल्यकालदेखि नै शिक्षा भारतमा भएको हो । सोही शैक्षिक प्रमाणत्रको आधारमा त्यो (लाइसेन्स) लिएको हुँ र अहिलेसम्म पनि छ’ कँडेलले भने ।

उता गए नेपाली, यता आए भारतीय !

नवलपरासीका सांसद कँडेल भारतीय कलेज आर्यविद्या प्रचार समितिका अध्यक्ष हुन् । उनले चुनाव लडेर त्यो पद जितेका थिए । आफ्नो हजुरआमाले नेपालको सीमानजिकै त्यसबेला स्कुल खोलेको भन्दै कँडेलले आफूभन्दा अगाडि बुवा पनि उक्त संस्थाको अध्यक्ष रहेको स्मरण गरे ।

नेपाली नागरिक समितिको अध्यक्ष भएको भन्दै उनीविरुद्ध भारतको इलाहावाद उच्च अदालतमा मुद्दा चलिरहेको छ । ‘म नेपाली हुँ, सांसद हुँ भनी दिएको प्रमाण छ’ कांग्रेस सांसद कँडेलले भने, ‘सन् १९५० को सम्झौताका आधारमा नेपालीलाई पनि भारतमा सामाजिक संस्था चलाउने अधिकार छ ।’

कँडेलले अघि भने, ‘उता नेपाली भनेर किक हान्ने । यता भारतीय नागरिक भएको आरोप लगाउने ? भारतको उच्च अदालतले अर्को देशको नागरिक विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष बन्न पाउँदैन भनेर फैसला गर्यो भने छोडिदिन्छु ।’ यद्यपि सन् १९५० को नेपाल–भारत सम्झौताका आधारमा नेपालीलाई पनि भारतीय सामाजिक संस्था चलाउने अधिकार रहेको उनले सुनाए ।

तत्कालीन राधा कुमारी विद्यालय (हाल इन्टर कलेज) कँडेलकी हजुरआमा स्व. राधादेवीले सीमा क्षेत्र नजिकै खोलेकी थिइन् । राणहरुले नेपालमा स्कुल खोल्न नदिएपछि भारतमा २००६ सालमा सीमाबाट २०० मिटर पर ठुठीबारीमा विद्यालय खोलिएको भउनले सुनाए । यो स्कुलको सञ्चालक समितिको अध्यक्षमा उनका बुवा स्व.पृथ्वीराज कँडेल थिए । त्यसपछि आफू भएको उनले सुनाए ।

आफूले विद्यालय ब्यवस्थापन समितिको अध्यक्षको सपथ लिँदा भारतीय नागरिक भएको भनी सपथ लिएको भनी भ्रम छरिएको भन्दै उनले खण्डन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment