Comments Add Comment

आर्यघाटमा हड्ताल ! दाहसंस्कारमा लाग्ने शुल्क बढ्यो

ज्याला र सुविधा बढाउने घाटसेवकको माग पूरा भयो

६ कात्तिक, काठमाडौं । बुधबार बिहानै पशुपति आर्यघाटमा कालो ब्यानर टाँगियो, जसमा लेखिएको थियो– अनिश्चितकालसम्म शव दाह गर्ने, दाउरा बोक्ने, खाडल खन्ने सबै बन्द रहनेछ ।’

जायज/नाजायज सबै माग पूरा गर्न हड्ताल नै गर्नुपर्ने ‘रोग’ बुधबार निकै संवेदनशील क्षेत्र मानिने आर्यघाटसम्म पुग्यो । आन्दोलन नगरी कान नसुन्ने सरकारलाई दबाव दिन आर्यघाटको शव दहनमा हडताल गर्नु परेको घाट सेवकहरुको गुनासो थियो ।

बुधबार बिहान शोकाकुल अवस्थामा आफन्तको शव जलाउने पूर्वतयारीका लागि पशुपति आर्यघाट पुगेका आरबी ठकुरीका आँखा सुरुमै कालो तुलमा ठोक्किए । के अब शव जलाउन नपाइने भयो त ? मनमनै प्रश्नले चिमोट्यो ।

ठकुरीले सोधखोज गर्दा घाट सेवा केन्द्रमा रहेका घाट सेवकहरु आन्दोलनमा रहेको जानकारी मिल्यो । चिता बुक गर्न खोज्दा सेवा अवरुद्ध भएको र घाट सेवकहरु उपलब्ध नहुने उनले जानकारी पाए ।

शव लिएर आर्यघाट पुगेकाहरु आफैं बन्दोबस्त गरेर शव जलाउने तयारीमा लागे । तर, मेसो नपाएर अल्मलिएका थिए । कतिपय भने आन्दोलन स्थगित हुने आशमा शव त्यतिकै राखेर अल्मलिएर बसे ।

‘हामी आइपुग्दा यहाँ केही शव नजलाई राखिएको थियो, केही भने आफन्तले जलाउँदै थिए,’ उनले भने, ‘तर चिता मिलाउन नजानेर शव जलिसक्दा पनि खुट्टामा आगोले छोएकै थिएन । बिजोग अवस्थाममा शव जलाइँदै थियो ।’

ठकुरीका अनुसार शव जलाउन कति आफन्तहरु आफैं दाउरा ओसार्दै थिए भने कतिपय जानी नजानी चिता बनाउन ब्यस्त थिए । घाट सेवकहरु भने घाटको आसपास हडताल घोषणा गरेर चुपचाप बसिरहेका थिए ।

पशुपति आर्यघाटमा २० वर्षभन्दा बढी काम गरिसकेका कृष्ण मगर सरकारले यो पेशा गर्नेहरुलाई संरक्षण नदिएकाले शव नजलाउने आन्दोलनमा जानु परेको बताउँछन् । उनले शान्तिपूर्ण रुपमा राखेको माग नसुनिएपछि सेवा नै रोक्ने निर्णयमा पुग्नु परेको बताए ।

‘हाम्रा पनि परिवार छन्, शवको धुँवा खाएर अस्वस्थकर वातावरण्मा खटिएर काम गर्नुपर्छ, तर ज्याला न्यून छ,’ उनले भने, ‘महंगी अनुसार कहिल्यै हाम्रो ज्याला नबढेपछि बाध्य भएर यसो गर्नुपरेको हो ।’

जिन्दगी नै आर्यघाटमा बित्न लाग्दा पनि आफूहरुको कामको सही मूल्याकंन राज्यले नगरेकाले घाटमा आन्दोलन गर्नुपरेको मगरको गुनासो थियो ।

बिहानै केही शव आर्यघाटमा ल्याइसकिएको थियो । त्यहीबेला पशुपति क्षेत्र विकास कोषमा आन्दोलनकारी र कोषबीच वार्ता सुरु भयो । कोषले शव जनलाउन सुरु नगरे माग पूरा नगर्ने चेतावनी दिएपछि ९ बजेतिर घाट सेवकहरुलाई फोन आयो । र, भनियो, ‘वार्ता चलिञ्जेल शब जलाउन थाल्नू, वार्तामा कुरा नमिले फेरि काम रोक्नुपर्छ ।’

त्यसपछि बल्ल घाट सेवकहरु काममा फर्किए । सौभाग्य कोषको कार्यालयमा चलेको वार्तामा ११ बजेतिर सहमति जुट्यो । र, शव जलाउन रोकिने अवस्था आएन ।

सहमतिलगत्तै आन्दोलनरत पक्षले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको घोषणा गरेको छ । जसले गर्दा शवमाथि सुरु भएको राजनीति तत्कालका लागि टरेको छ ।

के थियो आन्दोलनकारीको माग ?

पशुपतिमा अहिले करिब ४०/५० जना घाट सेवकहरु कार्यरत छन् । तीमध्ये धेरैजना बुढ्यौली उमेरका छन् । पशुपति क्षेत्र विकास कोषले ६० वर्ष नाघेकाहरुलाई अवकाश दिने तयारी गरिरहेको छ ।

कोषले यसअघि अवकास दिँदा ५० हजार रुपैयाँ दिने गरेकोमा अहिले १ लाख ५० हजार रुपैयाँ दिने व्यवस्था गरेको थियो । तर, घाट सेवकले यसमा असहमति जनाउँदै आन्दोलन गरेका हुन् । आन्दोलनमा उनीहरुको अर्को माग थियो, शव जलाउनेहरुको पारिश्रमिक पनि बढ्नुपर्छ ।

उनीहरुको माग यति मात्रै थिएन, अवकाश दिँदा पाउनुपर्ने रकम बढाएर १० लाखसम्म पुर्‍याउनुपर्ने थियो । बीमाको व्यवस्था गर्नुपर्ने, कामदारको पारिश्रमिकबाट कट्टा गरिएको १० प्रतिशत रकममा कोषले पनि १० प्रतिशत थप गरेर जम्मा गर्नुपर्ने । र, कामदारले आफ्नो ज्यानले सकुञ्जेलसम्म आर्यघाटमा काम गर्न पाउनुपर्ने ।

उनीहरुले साउन २३ गते नै कोषमा मागसहितको पत्र कोषमा बुझाएका थिए । तर, कोषले अढाई महिनासम्म कानमा तेल हालेर बसिदियो । जसका कारण बुधबार विहान ६ बजे नै घाट सेवकहरुले शवदाहस्थलमा कालो ब्यानर टाँगेर हड्ताल सुरु गरे ।

यसरी मिल्यो कुरो

दुई महिनासम्म घाट सेवकहरुको कुरा नसुनी बसेको पशुपति क्षेत्र विकास कोष शवमाथि हडताल घोषणा भएको एकघण्टामै मागहरु पूरा गर्न राजी भयो ।

वार्तामा शव जलाउने लगायतका कार्यमा संलग्न घाट सेवा केन्द्रका कर्मचारीहरुको सेवा सुविधा बढाउने सहमति भयो ।

कोषका सदस्यसचिव डा. प्रदीप ढकालका अनुसार एउटा शव जलाएवापत पाउने १२ सय रुपैयाँबाट बढाएर १५ सय बनाइएको छ । साथै औषधि उपचार खर्च ५ हजारबाट बढाएर १५ हजार रुपैयाँ बनाउने सहमति भएको छ ।

अब आर्यघाटबाट अवकाश पाउँदा उपदानवापत पाउने डेढ लाख रुपैयाँ लाई बढाएर ५ लाख रुपैयाँ पुर्‍याउन पनि पशुपति क्षेत्र विकास कोष तयार भएको छ । आर्यघाटमा ५ वर्ष सेवा गरेकाहरुलाई ५ वर्षबाट डेढ लाख, १० वर्षमा ३ लाख र २० वर्ष सेवा गरेकालाई ५ लाख उपदान दिएर विदा गर्ने सहमति भएको छ ।

पशुपति आर्यघाटमा काम गर्ने उमेर हद भने ६० वर्ष नै राख्न कोष र घाट सेवकहरु सहमत भएका छन् ।

दाहसंस्कारमा लाग्ने शुल्क बढ्यो

घाट सेवकहरुको आन्दोलनले उनीहरुको माग पूरा भएको छ । तर, घाटमा आफ्ना मान्छेको दाहसंस्कार गर्न पुग्नेहरुको खर्च बढेको छ । अब आर्यघाटमा शव अन्त्येष्टि गर्दा लाग्ने शुल्क बढेको छ ।

शव दाह गरेको शुल्कमा ३ सय रुपैयाँ बढेको छ । पहिले १२ सय रहेको शवदाह शुल्क अब १५ सय पुगेको छ । त्यसैगरी दाउरा बोक्ने र शव बोक्ने शुल्कमा २/२ सय रुपैयाँ बढेको छ । यसअघि यो शीर्षकमा चार/चार सय शुल्क लाग्थ्यो, अब मृतकका आफन्तहरुले ६ सय रुपैयाँ तिर्नुपर्ने भएको छ ।

त्यसैगरी चपरी बोक्ने शुल्क ३ सयबाट बढेर ४ सय रुपैयाँ पुगेको छ ।

दशनामीहरुका लागि शव गाड्न खाल्डो खन्ने शुल्क पनि १२ सयबाट बढेर १५ सय रुपैयाँ पु‍र्‍याइएको छ । त्यस्तै बच्चाको शव गाड्न खनिने खाल्डोको शुल्क पनि २५ प्रतिशतले बढाइएको छ ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव ढकालले ९ वर्षदेखि नबढेको शुल्क बढाइएको बताए ।

‘उहाँहरुले त अस्वाभाविक रुपमा बढाउन माग गर्नुभएको थियो, हामीले न्यायोचित हुने गरी सहमति गरेका हौं,’ ढकालले भने, ‘म कोषमा आउनासाथै पनि यस प्रकारको आन्दोलन भएको थियो, हामीले उहाँहरुलाई न्यायोचित व्यवस्था गर्छौं भनिरहेका थियौं । बुधबार एक्कासी फेरि आन्दोलन सुरु हुन लागेको थाहा पाउना साथै वार्तामा बोलाएर समस्या समाधान गर्‍यौं ।’

घाट सेवा केन्द्रका कर्मचारीको आन्दोलन घोषणापछि कोषको निर्देशनमा विद्युतीय शवदाहगृहका दुईवटै मेसिन प्रयोगमा ल्याइएको ढकालले बताए । यसअघि एउटा मात्र मेसिन प्रयोग हुँदै आएको थियो ।

‘यदि आन्दोलन लम्बिएको भए पनि हामीसँग विद्युतीय शवदाह गृहको विकल्प थियो,’ उनले भने, ‘हामी निकट भविश्यमा नै दाउराबाटै मेसिनमार्फत शव पोल्न सकिने गरी अर्को मेसिन ल्याउँदैछौं । यसले पनि भविश्यमा यस्ता समस्या आएमा विकल्प खुला राख्छ ।’

भिडियो हेर्नुस्

तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment