Comments Add Comment

छात्रालाई जिउँदै जलाएको घटनामा बंगलादेशमा १६ जनालाई मृत्युदण्ड

७ कात्तिक, काठमाडौं । बंगलादेशमा एक छात्रालाई जलाएर हत्या गरेको आरोपमा १६ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

राजधानी ढाकादेखि १६० किलोमिटर टाढाको फेनी शहरमा १९ वर्षीया छात्रा नुसरत जहान रफीलाई गत अप्रिलमा विद्यालयमा नै मट्टितेल खन्याई जलाएर हत्या गरिएको थियो ।

प्रधानाध्यापकविरुद्ध यौन दुर्व्यवहारको उजुरी दिएको दुई हप्तापछि उनको हत्या भएको थियो । उनको हत्याको विरोधमा बंगलादेशमा ठूलो आन्दोलनसमेत भएको थियो । नुसरत हत्याको घटनामा अदालतले पनि धेरै छिटो फैसला सुनाएको हो । यस्ता घटनाको अन्तिम निर्णय आउन सामान्यतया १ वर्ष लाग्ने गरे पनि यो घटनामा करिब ६ महिनामा नै फैसला आएको हो ।

मुद्दा अभियोजक हाफेज अहमदले भनेका छन् ‘बंगलादेशमा कुनै पनि हत्यारा उम्कन पाउने छैनन् ।’ विपक्षीतर्फका कानुन व्यवसायीले भने अदालतको यस फैसलाउपर पुनरावेदनमा जाने बताएका छन् ।

नुसरतको हत्यामा उनको आफ्नै सहपाठी र स्थानीय समुदायका शक्तिशाली व्यक्तिको पनि सहभागीता भएको आशंका गरिएको थियो ।

अदालतले प्रधानाध्यापक सिराज उद डोउलासहित ३ जना शिक्षकलाई दोषी ठह¥याएको छ । दोषी ठहर हुनेमा अवामी लिग पार्टीका स्थानीय नेताहरु राहुल अमिन र मक्सुद आलम पनि रहेका छन् ।

घटनामा धेरै स्थानीय प्रहरी कर्मचारीको पनि संलग्नता खुलेको छ, जसले नुसरतको हत्या नभई आत्महत्या गरेको हो भन्ने पुष्टि गर्न भूमिका खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment