Comments Add Comment

सर्टिफाइड म्यानेजमेन्ट कोर्स अब नेपालमै शुरु

७ कात्तिक,काठमाडौं । नेपालमा पहिलो पटक सर्टिफाइड म्यानेजमेन्ट कोर्स शुरु भएको छ । विश्वमा यसअघिनै प्रचलनमा रहेको यो कोर्सको कक्षा लिन विभिन्न कर्पोरेट संस्थाका व्यवस्थापन तहका व्यक्तिहरु सहभागी भएका छन् ।

द इन्स्टिच्युट अफ सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्ट्स अष्ट्रेलियाले सञ्चालन गरेको यो अन्तर्राष्ट्रियस्तरको तालिमको आयोजना काठमाडौंमा भने एकेडेमी अफ म्यानेजमेन्ट एकाउन्टेन्सी नेपाल (एम्यान)ले गरेको आयोजक डिपी दाहालले बताए ।

सो कार्यक्रममा अन्तर्राष्ट्रिय य क्षेत्रका व्यवस्थापन विज्ञहरुले सहभागिता जनाएका छन् । त्यस्तै प्राध्यापक सिएएमए डा.ब्राण्डन ओकोनल, प्राध्यापक सिएएमए डा.जनेक रत्नातघटसंगा, डा. क्रिस डिसलगायतले कक्षा सञ्चालन गरिरहेको दाहालले जानकारी दिए ।

धुम्बाराहीस्थित अकामा होटलसमा सात दिनसम्म सञ्चालन हुने कक्षामा विभिन्न क्षेत्रका लेखा व्यवसायमा संलग्न तथा व्यवस्थापन तहको नेतृत्व गरिरहेका ३५ जना व्यक्तिले भाग लिएका छन् । यसअघि नेपालबाट बाहिर गएर सात जनाले यो कोर्स लिएका थिए ।

परिवर्तित विश्व परिस्थितिमा व्यवस्थापन विज्ञको बढ्दो आवश्यकतालाई पूरा गर्न नेपालमा यस्तो कक्षा शुरु गरिएको आयोजकको भनाइ छ । देशको अर्थतन्त्रलाई गतिशिल बनाउन संघीयता लागू भएपछि फाइनान्सियल एकाउन्टेन्ट मात्र भएर नपुग्ने भएकाले कस्ट एण्ड म्यानेजमेन्टको क्षेत्रलाई पनि ध्यान दिनुपर्ने भएको दाहालले बताए ।

नेपालमा म्यानेजमेन्ट एकाउन्टका विज्ञहरु नभएका कारण कतिपय ठूला लगानीका अन्तर्राष्ट्रिय बजार प्रतिस्पर्धी संस्था तथा पाँच तारे होटलहरुले विदेशबाट व्यवस्थापक झिकाएर जागिर दिने गरेका छन् । आवश्यक शैक्षिक योग्यता पुगेका व्यवस्थापकहरुलाई यो कक्षा दिइएको हो ।

हाल विश्वमा इन्स्टिच्युट अफ सर्टिफाइड म्यानेजमेन्ट एकान्टेन्ट्स अष्ट्रेलियाले तीस भन्दा बढी देशहरुमा सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्सी कोर्स सञ्चालन गरिरहेको छ । नेपालमा पनि सर्टिफाइड म्यानेमेन्ट एकाउन्टेन्सी कोर्सको आवश्यकता रहेको लेखा परीक्षकहरुले बताउने गरेका छन् ।

लेखा सञ्चालनसम्बन्धी नीति नियमहरु प्रष्ट भए पनि कुशल व्यवस्थापक नहुँदा धेरै संगठनहरुमा समस्या आउने गरेकाले यो खाले उच्चस्तरको कक्षा सञ्चालन गर्न थालिएको एम्यानले जनाएको छ ।

यस सम्बन्धमा गत बर्ष अष्ट्रेलियाको मेलबर्नमा द इन्स्टिच्युट अफ सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्ट्स र नेपाल अडिटर्स एशोसिएसन (अडान), एकेडेमी अफ म्यानेजमेन्ट एकाउन्टेन्सी नेपाल (एम्यान) बीच सम्झौतामा हस्ताक्षर भएपछि नेपालमा पनि सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्ट्स कोर्स सञ्चालन गर्न थालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment