Comments Add Comment

भैरहवाका पसलमा बाख्रीको सडेको मासु !

Photo Credit : अनुगमनपछि शिल गरिएको मासु पसल/अनलाइनखबर

७ कात्तिक, बुटवल । रुपन्देहीको भैरहवाका केही मासु पसलबाट गुणस्तरहीन मासु बिक्री भएको पाइएको छ ।

सिद्धार्थनगर नगरपालिकाले बिहीबार नगर क्षेत्रभित्रका मासु पसलहरुमा अनुगमन गर्दा अधिकांश पसलमा सडेगलेको मासु भेटिएको हो ।

वडानम्बर ७ को जनकपथ, ५ को वीपीपथ र वडानम्बर १३ को हाटबजार लाइनमा रहेका मासु पसलको अनुगमन गर्दा १२ पसलबाट एक क्विन्टल बढी सडेको मासु भेटिएको अनुगमन समिति संयोजक यादवप्रसाद सापकोटाले जानकारी दिए ।

‘जनस्वास्थ्यमाथि निकै खेलवाड गरेको पायौं,’ संयोजक सापकोटाले भने, ‘महिनौंदेखि सडेको मासु बिक्रीका लागि राखेको पाइएपछि हामीले बरामद गरेर नष्ट गरेर उनीहरुलाइ चेतावनी दिएका छौं ।’

अनुगमनका क्रममा सिद्धार्थ नगरपालिका-७ जनकपथमा रहेको न्यू सुपर मासु पसलबाट मात्रै ८० केजी बढी बाख्रीको सडेगलेको मासु बरामद भएको छ । सोही पसलबाट ८ वटा बाख्री पनि नियन्त्रणमा लिइएको छ ।

उक्त पसल नगरपालिकाबाट अर्को निर्देशन नहुँदासम्म संचालनमा रोक लगाइएको सापकोटाले जानकारी दिए । यो पसल मासु व्यवसायी संघ, सिद्धार्थनगरका पूर्वअध्यक्ष जाकिर हुसैनको हो ।

उक्त पसलमा गत वर्ष पनि करिब डेढ क्विन्टल सडेको मासु नगरपालिकाको अनुगमन समितिले बरामद गरी नष्ट गरेको थियो ।

‘पटक-पटक एउटै पसलेले जनस्वास्थ्यमाथि खेलाँची गरेपछि कारबाही गरेर पसल नै बन्द गर्न निर्देशन दिएका हौं,’ अनुगमन समिति सदस्य एवम उपभोक्ता मञ्च नेपालकी कार्यबाहक अध्यक्ष भगवती भण्डारीले भनिन् ।

अनुगमन समितिले वडानम्बर १३ मा रहेको सोनु मासु पसलबाट पनि १० किलो सडेगलेको खशीबोकाको मासु बरामद गरेको छ ।

वडानम्बर ८ मा रहेको कुरैशी मासु पसल र भैरहवा फ्रेस हाउसबाटबाट पनि सडेगलेको मासु बरामद गरेको छ ।

यस्तै, अनुगमनका क्रममा केही मासु पसल दर्ता विनै संचालन गरिएको, दर्ता नवीकरण नगरिएको, सरसफाइ नगरिएको, कुखुरा र खशीबोकाको मासु एउटै फ्रिजमा राखिएको पाइएपछि त्यसलाई तत्काल सुधार्न निर्देशन दिइएको छ ।

समितिले वडानम्बर १३ मा रहेको ताज मासु पसल, कुरैशी मिट सप, सोफिया फ्रेस हाउस, माहिरा फ्रेस  हाउस, न्यू खान मासु पसल, न्यू मनकामना फ्रेस हाउस, खान फ्रेस हाउस, अमिर एण्ड कुरैशी मासु पसलमा अनुगमन गरेको थियो ।

नगरपालिकाको अनुगमन समितिले बुधबार पनि वडानम्बर ५ र ६ मा रहेका खाद्यान्न पसल, किराना पसल तथा होटल र मिठाइ पसलमा अनुगमन गरेको होे ।

अनुगमनमा म्याद गुज्रिएका खाद्यवस्तु भेटिएपछि जफत गरी नष्ट गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment