Comments Add Comment

दाङ क्षेत्र नं. ३ (ख) का लागि नेकपाले गर्‍यो ३ जनाकाे नाम सिफारिस

८ कात्तिक, काठमाडौं । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार छनोट गर्न जुटेको प्रमुख सत्तारूढ दल नेकपाले दाङ क्षेत्र नं. ३ (ख) को प्रदेशसभा सदस्यका लागि ३ जनाको नाम सिफारिस गरेको छ ।

उम्मेदवार सिफारिसका लागि दाङ क्षेत्र नं. ३ की नेकपा इञ्चार्जसमेत रहेकी राष्ट्रिय सभाकी सदस्य कोमल ओलीको  निवासमा बसेको बैठकले विमला ओली, चूर्णबहादुर ओली र शोभाराम बस्नेतको नाम सिफारिस गरेको हो ।

सिफारिसमा परेका तीनैजना पूर्वएमाले हुन् । विमला सोही क्षेत्रबाट निर्वाचित दिवंगत उत्तर ओलीकी पत्नी हुन् भने चूर्णबहादुर सोही निर्वाचन क्षेत्रका नेकपा संयोजक हुन् । सिफारिस परेका शोभाराम पनि राजनीतिमा लामो लगानी गरेका व्यक्ति हुन् । तत्कालीन एमाले र तत्कालीन माओवादी दुवैको समर्थन स्वर्गीय उत्तरकुमार ओलीकी पत्नी विमलालाई छ। त्यसैले सिफारिसमा परेकामध्ये विमलालाई उम्मेदवारको प्रवल दाबेदार ठानिएको छ ।

नेकपा नेतृ कोमल वलीले सर्वसम्मत रूपमा छानिएका तीन उम्मेदवारमध्येबाट केन्द्रले एक जनालाई छान्ने बताइन् ।

तत्कालीन प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको गाडी दुर्घटनामा परी निधन भएपछि दाङ क्षेत्र नं. ३ (ख) रिक्त छ । अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट नेकपाले राम्रो जनमत बटुलेकाले यसपटक पनि जनताले साथ दिने यो पार्टीको विश्वास छ । नेपाली कांग्रेसलगायतका अन्य दलको दाबी पनि आ–आफ्नै छ । यी दल पनि उम्मेदवार छनोट गरेर निर्वाचनमा होमिने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment