Comments Add Comment

कलाकारको देउसी : रामकृष्ण छोरी माग्ने, शुभेच्छा कुकुर छाड्ने

हिन्दुहरुको दोस्रो महान् चार्ड तिहारको रमझम बढिसकेको छ । पाँच दिनसम्म विभिन्न जनावरदेखि लक्ष्मी माता तथा भाइटीका लगाउँदै मनाइने यो चार्डको आफ्नै विशेषता छ । चाहे त्यो काग पूजा होस् वा धनतेरस, कुकुर पूजा हाेस् वा गाई पूजा, लक्ष्मी पूजा होस् अथवा गोर्वद्धन पूजा । अनि दाजु-भाइको रक्षा र सु-स्वास्थको कामना गर्दै लगाइने भाइटीका, यी सबैको आफ्नै मूल्य-मान्यता छन् ।

दशै‌ं सकिनासाथ बालबालिकाहरु लट्टाई र चंगा थन्काएर पटाका पड्काउनतिर लाग्छन् । त्यस्तै देउसी-भैलोको योजना बनाउन पनि व्यस्त हुन थाल्छन् । बाल्यकालको यो समय सबैको जीवनमा  मीठा सम्झना भएर रहन्छन् । हामी पनि आफ्नो बाल्यकालमा देउसी र भैलो खेलेेको सम्झँदा आज पनि राेमाञ्चक हुन्छाैं ।  त्यस्तै अनुभव हाम्रा केही कलाकारहरुको छ:

साथीहरुले भन भन भाइ हो, देउ छोरी भन्थे : रामकृष्ण ढकाल

यसपटकको तिहारका लागि ‘टीका माला…’ शीर्षकको मार्मिक तिहार गीत गाएर चर्चामा आएका गायक रामकृष्ण ढकालको बाल्यकालको देउसीको अनुभव रोमाञ्चक छ । गायक ढकालले बाल्यकालमात्र होइन, किशोर तथा युवावस्थामा पनि देउसी-भैलो खेलेका छन् । धेरै नखेले पनि कहिलेकाही साथीभाइसँग देउसी खेलेेको रमाइलो अनुभव छ, उनीसँग ।

केही वर्षअघिको एउटा रमाइलो देउसी सम्झँदै गायक ढकाल भन्छन्, ‘केही साथी-भाइसँग काठमाडौंमा देउसी खेल्न जाँदा भन भन भाइ हो देउसी रे….भन्नु पर्नेमा केही उट्पट्याङ स्वभावका साथीहरुले भन भन भाई हो, देउ छोरी भन्दै भट्याउन थाले । विस्तारै हाम्रो समूहका सबै साथीहरुले देउसी रेको ठाउँमा देउ छोरी… भनेर भट्याउन थालेपछि देउसी खेल्न गएको घरको ढोका नै खोलेनन् । त्यो वर्षको देउसी सम्झँदा अहिले पनि रमाइलो लाग्छ ।’

ढोका ढक्ढक्याउँदा कुकुर छाडिदिन्थेँ : शुभेच्छा थापा

अनिभेत्री शुभेच्छा थापालाई तिहारको सबैभन्दा मन पर्ने कुरा भनेकै  देउसी-भैलो हो । उनी सानीछँदा हरेक वर्ष साथीहरुसँग भैलो खेल्न जान्थिन् ।

बाल्यकालमा भैलो खेल्न जाँदा घरको ढोका लगाइ दिने र ढोका ढक्ढक्याउँदा कुकुर छाडिदिने कुरालाई उनी आज पनि रमाइलो मान्छिन् ।

कुन्ति मोक्तानको दार्जीलिङको भैलो

गायिक कुन्ति मोक्तान पनि बाल्यकाल छँदा भैलो खेल्न गएको सम्झन्छिन् । बाल्यवस्था दार्जीलिङमा बिताएकी गायिका मोक्तानसहितको सानो लेडिज व्यान्ड थियो । ‘हाम्रो त्यो ब्याण्डका सबै सदस्यहरु युवतीहरु मात्र भएकाले देउसी-भैलोमा अरुको तुलनामा धेरै पैसा जम्मा हुन्थ्यो । देउसी-भैलो खेल्नका लागि पहिलेदेखि सबै घरहरुबाट भैली खेल्नका लागि हामीलाई निमन्त्रणा आउने भएकोले देउसी भैलो खेल्न जान र सबै घर पुग्न कुनै किसिमको समस्या हुँदैन थियो, गायिका मोक्तान सम्झिन्छन्-‘ आज पनि आफ्नो व्यान्डका सहकर्मीहरुलाई सम्झिरहन्छु र अरुले देउसी-भैलो खेलेको देख्दा आफ्ना ती पुराना रमाइला तिहारहरु सम्झन्छु ।’

बेनिशा हमाल सानो छँदा देउसी र भैलो 

अभिनेत्री बेनिशा हमाललाई पनि सानो छँदा देउसी र भैलो खेल्दा धेरै रमाइलो भएको सम्झिन्छन् । देउसी भैलो खेल्न जाँदा पुरा योजनाका साथ जाने गरेकेा पनि अभिनेत्री हमालको अनुभव छ । आफु सानैदेखि देउसी भैलो खेल्नका लागि गुन्यू-चोलो लगाएर ,मेकअप गरेर जाने गरेकेा पनि उनी सम्झिन्छन् ।

आनन्द कार्की  राति अवेरसम्म देउसी खेल्ने

गायक आनन्द कार्की पनि सानोछँदा देउसी-भैलो खेल्न पाउँदा रमाउने व्यक्ति थिए । उनी सानोछँदा राति अवेरसम्म देउसी खेल्ने गरेको सम्झन्छन् । ‘एक पटक चार-पाँच जना साथीहरु मिलेर रातभरि देउसी खेलेको र पछि पैसा भाग लगाउँदा एक जनाको भागमा दुई रुपैयाँमात्र भागमा परेको थियो, दुःख लाग्दो कुरा त के भयो भने त्यो दुई रुपैयाँ पनि पसल जाँदा हरायो, गायक कार्की भन्छन्-‘आफूले रातभरी दुःख गरेर देउसी खेलेको पैसा हराएपछि बेस्सरी रोएको बाल्यवस्थाको त्यो अवस्था अझै पनि सम्झन्छु ।’

मञ्जु कार्कीलाई भैली खेल्दा कुकुरले लखेटेको

मेकअप आर्टिष्ट मञ्जु कार्की पनि तिहार भन्ना्साथ सानोछँदा देउसी-भैलो खेलेकेा क्षणहरुलाई सम्झन्छिन् । उनलाई देउसी- भैलोमा भट्याउन साह्रै रमाइलो लाग्थ्यो । उनी देउसी-भैलो आउनुभन्दा  धेरै दिन अगाडिदेखि नै भट्याउने अभ्यास गर्थिन् । प्रायः देउसी-भैलो खेल्न जाँदा रात पर्ने र कुकुरले लखेट्ने क्षणले उनलाई आज पनि हाँस उठ्छ । त्यस्तै एउटा तिहारमा देउसी भैलोमा राति ढिलासम्म भैली खेलेर जम्मा भएको पैसा व्यागमा राखेकेा तर व्यागमा प्वाल परेकोले सबै पैसा हराएको सम्झँदा आज पनि उनी पेट मिचिमिचि हाँस्छिन् ।

आगन्तुक खरेलले भैलीको पैसा नपाएपछि 

गायिका आगन्तुक खरेल पनि आफ्ना दिदी, बहिनी र दाजुसंग देउसी-भैलो खेलेको सम्झन्छिन् । प्रायः हरेक वर्ष देउसी-भैलो खेल्ने गरेको आगन्तुकले एउटा वर्षको तिहारमा देउसी-भैलोमा आफूभन्दा ठुला दाइ-दिदीसंग देउसी-भैलो खेल्न गएको र घर आएर सबैले पैसा बाँढेर लिए तर आफुलाई नदिएपछि आफु धेरै बेरसम्म रोएको गायिका खरेलको अनुभव रहेको छ ।

आज पनि देउसी-भैलोको समयमा आफ्ना ती दिनहरु सम्झिएर रमाइलो पनि लाग्नुको साथै ती दिनहरु अहिले झन् मिस गरेको गायिका खरेलको भनाइ छ ।

सुदन डोटेलको  देउसी 

गीतकार तथा लिभरपूल कलेज, नयाँ वानेश्वरका प्रिन्सिपल सुदन डोटेल पनि सानोछँदा हरेक तिहारमा देउसी र भैलो खेलेको सम्झन्छन् । ‘सानोमा चार,पाँच जना साथीहरु मिलेर देउसी खेल्न जान्थ्यौं, गीतकार डोटेल किशोरावस्थाको एउटा देउसीको प्रसंग सम्झँदै भन्छन्-‘अन्य घरहरुमा त ठिकै भयो तर एउटा घरमा पुग्दा रातिको करिव दश बजिसकेको थियो । त्यो घरमा धेरै बेर भट्टायौ तर मान्छे नउठेपछि गोबरले लिपेको आँगन नै विगारिदिने योजना बनायौं । त्यहि क्रममा सबै मिलेर आँगन खन्न थाल्यौं, केही बेर खनेपछि त्यो घरको मान्छे उठे । हामी सबै साथी-भाई आफ्नो ज्यान बचाउन तुफान भाग्यौं । केहीबेर त त्यो मान्छेले हामीलाई लखट्यो, तर हामी बच्न सफल भयौं । तिहारको धेरै दिनसम्म पनि हामी त्यो बाटो हिँड्न डरायौं । आज पनि त्यो घटना सम्झदा असाध्यै हाँस उठ्छ ।’

अञ्जना गुरुङले खेल्न नपाएको भैलो

गायिका अञ्जना गुरुङलाई भने एउटा तिहारमा उनकी आमाले भाइ र उनलाई घरमै छाडेर माइत गएको सम्झना छ । उक्त वर्षको तिहारमा आफ्ना साथीहरुसंग देउसी-भैलो खेल्न नपाएकोमा उनलाई आज पनि पछुतो लागिरहन्छ । यद्यपि, देउसी-भैलो नखेली नै उनीहरुलाई आमाले देउसी-भैलोको रुपमा दक्षिणा दिएको कुराले भने उनलाई आज पनि रमाइलो लाग्ने बताउँछिन् ।

देविका बन्दनाले साथीसँग खेलेको भैलो 

गायिका देविका बन्दना भने सानोमा साथीहरुसंग भैलो खेल्न गएको सम्झन्छिन् । उनी भन्छिन्-‘त्यो बेलाको भैली असाध्यै रमाइलो हुन्थ्यो । हामी साँझदेखि रातिको दुई बजेसम्म भैलो खेल्ने गर्दथ्यौं । पैसा पनि राम्रो जम्मा हुन्थ्यो । देउसी-भैलो खेलेको पैसाले हामी सबै साथीहरु वन भोज खान गएको सम्झँदा आज पनि कस्तो रमाइलो लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment