Comments Add Comment

असफलतासँग डराउने होइन, सामना गर्ने

हामीलाई सबैभन्दा धेरै त्यो समयमा पीडा हुन्छ । जब हाम्रो कोही आफ्नो  व्यक्तिले हामीलाई अस्वीकार अर्थात् रिजेक्ट गर्छ । उसले कहिल्यै हाम्रो आशालाई निराश बनाउँदैन भन्ने ठूलो आशा लिएर बस्छौं । तर, हाम्रो त्यो आशा टुट्छ र हाम्रो सबै सपनाहरु चकनाचुर हुन्छन् ।

कहिल्यै पनि आशाका किरणहरुलाई पछ्याउन छाड्नु हुँदैन । तपाईंसँग सधैं दुईवटा अप्सन हुन्छन् । पहिलो जब कसैले हामीलाई निराश पार्छ । हरेक कुरा आफूले सोचे अनुसार नहुँदा मनलाई कसरी सम्झाउने ?

आफूसँग प्रश्न सोध्नुपर्छ 

सबैभन्दा पहिला जागिर, सम्बन्ध, प्रेम, राम्रो नम्बर आदि किन पाउन चाहानुहुन्छ भन्ने प्रश्न सोध्नुपर्छ । कतैकतै तपाईंको भित्रबाट यी कुरा प्राप्त गर्दा समाजमा तपाईंको स्थिति राम्रो हुन्छ भन्ने जवाफ आउँछ । तपाई स्वयंलाई प्रमाणित गर्न सक्नुहुन्छ । जवाफ प्राप्त भएपछि यदि तपाई उत्कृष्ट प्रमाणित हुन सक्नुभएन भने के तपाई आफूलाई सिध्याउनुहुन्छ ? यसो गर्नु त मूर्खता हुन्छ । त्यसैले तनाव लिन छाड्नुपर्छ र सफलताको लागि अझ राम्रो तयारीमा जुट्नुपर्छ ।

स्वयंलाई पीडा दिनुहुँदैन

जीवनमा सधै उतारचढाव आइरहन्छन् । जीवनको कुनै मोडमा हामीलाई रिजेक्ट पनि गरिन्छ । तर, त्यसका कारण हाम्रो जीवनमा कुनै प्रभाव पर्नु हुँदैन । त्यो कुरा तपाईंको लागि थिएन भनेर आफ्नो मनलाई सम्झाउनुपर्छ । आफूलाई नकारात्मक सोच र कमजोर भावनाले ग्रस्त बनाउनुहुँदैन । यसो गर्दा तपाईं उदासी र खिन्नताको स्थितिमा पुग्न सक्नुहुन्छ ।

स्थितिमा नयाँ दृष्टिकोण

तपाईंले चाहनुभएको कुराबाट रिजेक्ट हुनु पनि तपाईंको लागि राम्रो कुरा हुन सक्छ भन्ने कुरा हेर्ने प्रयास गर्नुपर्छ । जस्तै, तपाईंले कुनै जागिर नपाउनु अथवा विवाह हुन सकेन भने त्यसको कारण त्योभन्दा अझ राम्रो राम्रो पोस्टसहितको जागिर अथवा अझ राम्रो विवाहको प्रस्ताव आउनका लागि समेत हुनसक्छ भन्ने कुरा बुझनुपर्छ ।

नियन्त्रणमा रहनुपर्छ

प्रायः हामी कुनै कुरा चाहन्छौं र त्यो कुरा प्राप्त गर्न सकेनौं भने हामी त्यो कुरा पाउनका लागि कुनै गलत बाटो अपनाउने कोसिस गर्छौं । हामी नयाँ योजना बनाउनतिर लाग्छौं अथवा केही षडयन्त्र गर्न थाल्छौं । हाम्रो दिमागले जसरी पनि त्यो कुरालाई कसरी प्राप्त गर्ने भन्ने कुरा मात्र सोच्न थाल्छ । जुन अति नै गलत कुरा हो । त्यसैले आफूलाई नियन्त्रण राख्नुपर्छ ।

यथार्थलाई स्वीकार्नुपर्छ

जब कुनै कुराको लागि सेलेक्सन अथवा रिजेक्सनको समय आउँछ र त्यसमा यदि हामीले हुन्छ र हुँदैनमध्ये हुँदैन सुन्नुपर्छ भने त्यसलाई व्यक्तिगत रुपमा लिनु हुँदैन । त्यसोगर्दा समस्या बढ्छ । त्यो रिजेक्सनको कारण के हो भन्ने भन्ने कुरा स्वयंलाई सोध्नुपर्छ । के रिजेक्ट हुनु हाम्रो लागि सही हुन सक्छ ? यस्ता प्रश्नको जवाफ आफूसँग सोध्नुपर्छ । जसले तपाईंलाई यथार्थलाई स्वीकार गर्न सिकाउँछ ।

स्वयंको प्रश्न र स्वयंको जवाफ

जब तपाइर्ंले आफ्नो बारेमा प्रश्न सोध्नुहुन्छ त्यो समयमा तपाईंलाई आफ्नो राम्रो र नराम्रो कुराको बारेमा थाहा हुन्छ । त्यस्तो समयमा आफूलाई बुझ्नुपर्छ । ढुंगालाई हिरा बनाउने प्रयास गर्नुपर्छ । केही प्रश्न यस्ता हुन्छन् जसको जवाफ केवल तपाईंसँग मात्र हुन्छ ।

स्वयंलाई प्रेम गर्न सिक्नुपर्छ

जीवनमा कुनै पनि कुरा पाउनको लागि सर्वप्रथम आफूलाई प्रेम गर्न आवश्यक हुन्छ । आफूलाई सम्झाउनुपर्छ । कसैले केही भन्यो भनेर आफूमा नकारात्मक सोच राख्नु हुँदैन । आफूलाई माफ गर्नुपर्छ । यदि तपाईं आफूलाई प्रेम गर्दै धैर्यतापूर्वक आफ्नो लक्ष्यमा अगाडि बढ्नुभयो भने संसारको कुनै पनि शक्ति, कुनै पनि अड्चनले तपाईलाई सफल हुन रोक्न सक्दैन ।

आफूलाई हारेको सम्झनु हुँदैन

कहिल्यै पनि आफूलाई कम सम्झनु हुँदैन । जिन्दगीको दौडमा हार-जीत त भईरहन्छ । त्यस क्रममा कहिल्यै पनि आफूलाई हारेको सम्झनु हुँदैन । कुनै कुरामा रिजेक्ट भएपछि हामी आफूमा कमी गन्न थाल्छौं । जिन्दगीमा शान्ति चाहनुहुन्छ भने मानिसका कुराहरुलाई मनमा लिन छाडेर आफ्नो लागि प्रेम दर्शन सिक्नुपर्छ ।

राम्रो सोचको राम्रो नतीजा

यदि तपाईंलाई यो संसारमा आफूलाई सुन्ने कोही छैन जस्तो लाग्छ भने यो गलत कुरा हो । तपाईंले सबैभन्दा अगाडि आफ्नो सपोर्ट सिस्टमलाई बलियो बनाउनुपर्छ । आफू भित्रबाट असफलताको प्रश्न चिन्ह मेटाउनुपर्छ । हाम्रो मनिटर जो कोही पनि हुन सक्छ, आमा-बुबा, शिक्षक, भाइ-बहिनी, आफन्त अथवा कुनै मिल्ने साथी । उनीहरुले हाम्रो कुरालाई मन लगाएर सुन्ने गर्छन् । त्यसैले सकारात्मक सोच राख्नुपर्छ, सपोर्ट अवश्य प्राप्त हुन्छ ।

लेख्नु पनि राम्रो उपाय हो

यदि तपाईंलाई आफ्नो कुरा कसैको अगाडि भन्न गाह्रो हुन्छ । डराउनु हुन्छ अथवा तपाईं आफ्नो मन भित्रको कुरा गर्दा स्थिति बिग्रन्छ जस्तो लाग्छ भने आफूलाई लागेको कुरा लेख्नु राम्रो उपाय हो । आफ्नो कुरा सम्बन्धित व्यक्तिकहाँ पुर्‍याउने यो राम्रो उपाय हो ।

आफ्नो भावनामा काबुमा राख्नुपर्छ

असफलताको महसुस गर्नु सामान्य कुरा हो । यसको सामना मानसिक रुपले बलियो मानिसले मात्र गर्न सक्छ । हामी सबैमा आफ्नो भावनालाई नियन्त्रित गर्न सक्ने शक्ति छ । असफतालाई मनमा लिनु हुँदैन । यदि तपाईंलाई आफू असफल हुनुको कारण आफूमा नै कुनै कमी भएकोले गर्दा हो भन्ने लाग्छ भने यो अति नै गलत कुरा हो । तपाईं हरेक कुरा गर्न सक्नुहुन्छ । तर, हिम्मत गर्नुपर्छ । आफ्नो भावनालाई नियन्त्रण गर्नुपर्छ । बोलेर सक्नुहुन्न भने लेखेर भए पनि आफ्नो कुरालाई अगाडि बढाउनु पर्छ ।

असफलतापछि पनि प्रेम देखाउनुपर्छ

असफलतालाई खुशीका साथ अपनाउनु पर्छ र जिन्दगीमा यसबाट केही सिकेर अगाडि बढ्नुपर्छ । कसैले हुँदैन भन्दैमा तपाईंको जिन्दगी रोकिँदैन । जिन्दगीको अर्को नाम यात्रा हो, त्यसैले हिँड्दै जानुस् र खुशी बटुल्नुहोस् । आफूले आफैलाई प्रेम गर्नुपर्छ किनभने हरेक दुःख र पीडाको औषधि हो प्रेम । जिन्दगीमा प्रेम र खुशी छ भने सबै कुरा छ ।

असफलताले प्रेरणा प्रदान गर्छ

सफलता सँग-सँगै असफलता पनि जीवनको एउटा महत्वपूर्ण पक्ष हो । हामीलाई केही समस्या अथवा कुनै कुराले निराश बनायो भने हामी सोच्ने गर्छौं यो केवल हामीसँग मात्र भयो । तर, हरेक मानिसको जीवनमा निराशा र समस्याहरु हुन्छन् ।

जीवनमा भएका असफलताहरुले हामीलाई अझ बढी रचनात्मक, उर्जावान र क्षमतावान बनाइदिन्छ । जसले असफलताको अनुभव गरेको हुन्छ अथवा जसले असफलतालाई  सम्झिरहन्छ। प्रायः उसले अरुलाई इज्जत र सहयोग गर्छ । अरुलाई आफ्नो दुःख भन्नुभन्दा अरुको कुरा सुन्छ, सबै ठिक हुन्छ भन्ने हौसला दिन्छ ।

हरेक कुरामा सकारात्मक खोज्नाले नकारात्मकताबाट बच्न सकिन्छ । आफ्नो केही असफलताहरुलाई सम्झनुपर्छ र अरुलाई आफ्नो असफलताको कथा सुनाएर प्रेरित गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment