Comments Add Comment

वीरगञ्जमा आन्दोलनरत मेडिकल विद्यार्थीमाथिको आक्रमणको विरोध

८ कात्तिक, काठमाडौं । चिकित्सा शास्त्र अध्ययन गर्ने विद्यार्थीले शान्तिपूर्ण आन्दोलनमा उत्रिएका वीरगञ्जको नेशनल मेडिकल कलेजका विद्यार्थीमाथि सञ्चालकले दुव्र्यवहार र हातपात गरेको आरोप लगाएको छ ।

शुक्रबार रिपोर्टस क्लबमा आयोजित पत्रकार सममेलनमा संघर्ष समितिले मेडिकल कलेजका सञ्चालक बसरुद्दिन अन्सारीकै उपस्थिति र निर्देशनमा विद्यार्थीमाथि हातपात, कुटपिट, गालीगलौज र विद्यार्थीको गाडी तोडफोड गरिएको भन्दै आपत्ति जनाएको हो ।

चिकित्सा शिक्षा संघर्ष समिति तथा चितवन मेडिकल कलेज विद्यार्थी परिवारको तर्फबाट संयोजक प्रकाश चन्द र चिकित्सा शिक्षा संघर्ष समितिका प्रवक्ता नरेश भट्टको संयुक्त नाममा जारी गरेको विज्ञप्तिमा बिहीबार राति मेडिकल कलेजको होस्टल परिसरभित्रै केही स्थानीय गुण्डा र सञ्चालक नजिकका सिनियर विद्यार्थीले प्रदर्शमा उत्रिएका विद्यार्थीमाथि कुटपिट गरेको जनाइएको छ ।

चन्दले विद्यार्थीसँग चर्को शुल्क असुल्ने अन्सारीलाई राजनीतिक संरक्षण नदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरे । ‘विद्यार्थीले शान्तिपूर्ण आन्दोलन गरेर आफ्ना जायज माग राखिरहेको अवस्थामा कलेज प्रशासनले ज्यादती गर्दा पनि सरकार मुकदर्शक हुनु दुःखद् हो’ उनले भने ।

मेडिकल कलेजले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको विरोधमा बिहीबार नेशनल मेडिकल कलेजका विद्यार्थी आन्दोलनमा उत्रिएका थिए । उनीहरुमाथि बिहीबार साँझ नै आक्रमण भएको विद्यार्थीहरुले बताएका छन् ।

मेडिकल कलेज सञ्चालकले शक्तिको आडमा विद्यार्थीमाथि ज्यादती गरेको चन्दले बताए । मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता नलिए एमबीबीएसको पहिलो दोस्रो वर्षको वार्षिक परीक्षा हुनै नदिने पनि उनले चेतावनी दिए ।

समितिका प्रवक्ता नरेश भट्टले वीरगञ्जको घटनाले मुलुकमा निरंकुशताको अवशेष बाँकी नै रहेको देखिएको टिप्पणी गरे । संघर्ष समितिकी सदस्य मान्यता थापाले विद्यार्थीहरुमाथि दमन गर्ने र हातपात गर्ने मेडिकल कलेज सञ्चालक अन्सारीसँग प्रधानमन्त्री ओलीको किन साँठगाँठ भन्दै प्रश्न गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment