Comments Add Comment

सागमा एथलेटिक्स : वैकुण्ठको बिरासत कसले बोक्ने ?

१० कात्तिक, काठमाडौं । कुनै बेला दक्षिण एसियाली एथलेटिक्समा नेपाललाई बलियो मानिन्थ्यो । दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा वैकुण्ठ मानन्धरले त राज नै गरे ।

तर अहिले त्यो इतिहासको कुरा भइसक्यो ।

वर्तमानमा नेपाललाई आसन्न १३ औं साग खेलकुद प्रतियोगितामा स्वर्ण जित्न सहज छैन ।

साग काठमाडौं र पोखरामा मंसिर १५ देखि २४ गतेसम्म सुरु हुँदैछ । सागको मिति नजिकिँदै जाँदा एथ्लेटिक्स खेलाडीमा छट्पटाहट बढ्दो छ । छोटो समयको तयारी र न्युन स्रोत–साधनका कारण खेलाडीले आफ्नो मनोबल उकास्न सकिरहेका छैनन् ।

‘अहिले हामी क्लोज क्याम्पमा छौं । तयारी सामान्य ढंगले चलिरहेको छ । त्यस्तो एकदम उत्साहित हुनुपर्ने केही छैन,’ भद्रकालीस्थित आर्मीको खेलमैदानमा अभ्यास गरिरहेका हरि रिमाल भन्छन् ।

अहिले बन्द प्रशिक्षणमा ४७ खेलाडी छन् । कात्तिक १३ गते एथ्लेटिक्सको अन्तिम खेलाडी छनोट हुँदैछ ।

तर मुख्य प्रशिक्षक चन्द्र गुरुङ नै आफ्ना कति खेलाडीलाई सहभागी गराउने भन्नेमा अन्यौलमा छन् । उनी भन्छन्, ‘राज्यको पैसा सकाएर मात्र पनि भएन । नेपालको लज्जास्पद हार नहोस् भन्ने हो । केही स्पर्धामा भने सहभागिता जस्तो मात्रै हुन्छ ।’

गुरुङले अघि भने, ‘करिब ४५ जना खेलाडीलाई सागमा सहभागिता गराउने तयारीमा छौं । जसले राम्रो गर्छ ती खेलाडीलाई हामी साग खेलकुदमा सहभागिता गराउँछौं ।’

पदकको आशा कति ?

साग खेलकुदमा नेपाल अहिलेसम्म एथ्लेटिक्समा पदकविहीन भएको छैन । तर स्वर्ण पदकबाट भने धेरैपटक चुकेको छ ।

सन् १९८४ देखि सुरु भएको साग खेलकुदको इतिहासमा बैकुण्ठ मानन्धर त्यस्ता खेलाडी हुन्, जसले लगातार तीनपटक स्वर्ण पदक जित्दै कीर्तिमान कायम गरे । सन् १९८४, १९८५ र १९८७ मा गरी बैकुण्ठले जितेको तीन स्वर्णमा आज पनि नेपालले गर्व गर्छ ।

एथलेटिक्समा उनले कायम गरेको रेकर्ड अहिलेसम्म तोडिएको छैन । बैकुण्ठले १९८७ को सागमा म्याराथनमा निर्धारित दूरी २ घण्टा १५ मिनेट तीन सेकेण्डको रेकर्ड राखेका थिए ।

एथ्लेटिक्सले साग खेलकुदमा जितेको कुल पाँच स्वर्णमध्ये तीन स्वर्ण बैकुण्ठ मानन्धरको नाममा रहँदा टिका बोगटी र राजेन्द्र भण्डारीको नाममा पनि एक–एक स्वर्ण छ । भारतमा भएको सातौं साग खेलकुदमा टीका बोगटीले नेपाललाई म्याराथनमा स्वर्ण दिलाएका थिए ।

त्यस्तै, बंगलादेशमा २०१० मा भएको ११ औं सागमा पनि राजेन्द्र भण्डारीले स्वर्ण जितेका थिए । साग खेलकुदमा अहिलेसम्म स्वर्ण, रजत र कास्य गरी कुल ३७ पदक नेपालले एथ्लेटिक्स खेलमा जितेको छ ।

यो पटक आफ्नै घरेलु मैदानमा साग हुँदा पनि एथ्लेटिक्समा स्वर्ण आश गर्नू तर भर नपर्नू भनेझैं छ ।

१०० र २०० मिटरकी एथ्लेटिक्स खेलाडी सरस्वती चौधरी सागमा मेडलभन्दा पनि आफ्नो व्यक्तिगत प्रदर्शन सुधार गर्ने लक्ष्य राखेको बताउँछिन् । उनले भनिन्, ‘तयारी ठीकै भइरहेको छ । पदक जित्न सकिएला या नसकिएला तर मेरो लक्ष्य भनेको व्यक्तिगत प्रदर्शन सुधार गर्ने हो ।’

मुख्य प्रशिक्षक चन्द्र गुरुङ म्याराथन, रिले, ५ हजार र १० हजार मिटरमा पदकको आश गरिएको बताउँछन् । उनले भने, ‘म्याराथन, रिले, ५ हजार र १० हजार मिटरमा पदकको आश छ ।’

दीर्घकालीन योजनाको खाँचो

नेपाली खेलाडी कमजोर नभएपनि पर्याप्त लगानी र दीर्घकालीन योजनाको अभावमा खुम्चिनुपरेको मुख्य प्रशिक्षक गुरुङ बताउँछन् ।

‘राम्रो तयारी र लामो समयसम्म बन्द प्रशिक्षणमा राख्ने हो भने धेरै वैकुण्ठ मानन्धरजस्ता खेलाडी जन्मिने छन्,’ उनले भने, ‘२–३ महिनाको अभ्यासले केही हुदैन ।’

एक वर्षको अभ्यास अवधि राखेको भए यो सागमा राम्रो उपलब्धि हासिल गर्न सक्ने उनको आँकलन छ ।

१२ औं सागमा एथ्लेटिक्सलाई पदकविहीन हुन बाट जोगाएका हरि रिमाल पनि यो तयारीप्रति सन्तुष्ट छैनन् । ‘तयारी निकै ढिलो गरी सुरु भयो । सन्तोष मान्नुपर्ने ठाउँ भने छैन,’ उनी गुनासो गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment