Comments Add Comment

क्या दामी काठमाडौं !

‘झिलिमिली झिलिमिली

ए है के को झिलिमिली ?

बत्तीको झिलिमिली ।’

देउसी भाकामा भट्याइए जस्तै थरीथरीका बत्तीको उज्यालोले धपक्कै बलेको छ, काठमाडौं शहर । औंशीको यो कालो रातलाई चिर्दै धर्ती जगमगाएको छ । यस्तो लाग्छ, आकाशमा चम्किने तारा पूञ्ज धर्तीमा झरेको हो । शहरका चोक, गल्ली जताततै बिजुली बत्तीले रहरलाग्दो बनेको छ ।

आवसिय भवनदेखि ठूला व्यापारिक भवन, सपिङ सेन्टर, मल बिजुली बत्तीले रहरलाग्दो बनेको छ । अक्सर राती ११ बजेपछि सुस्ताउने काठमाडौं शहर यतिबेला भने जाग्रम बसेको छ । जताततै उज्यालो, जताततै चहलपल छ ।

हरेकजसो भान्साबाट फैलिएको सेलरोटीको सुगन्ध, हरेकजसो आँगनमा गुञ्जिरहेको देउसी-भैलो, हरेकजसो घर-दैलोमा सजिएको सायपत्री फूलको मालासँगै रंगबिरंगी बत्तीले शहर रंगीन बनेको छ ।

तिहार भन्नु नै उज्यालो पर्व । झिलिमिली पर्व । यतिबेला सबैले आफ्नो घर-बगैंचालाई थरीथरीका बिजुली-बत्तीले सजाएका छन् । धार्मिक मान्यता के छ भने, घरलाई झिलिमिली बनाएपछि लक्ष्मीले बास गर्छिन् । धनकी देवी लक्ष्मीलाई भित्र्याउने धार्मिक विश्वाससँगै घर सफा-सुग्घर गर्ने, फूलमालाले सजाउने र बिजुली बत्तीले धपक्कै बाल्ने गरिन्छ ।

दियो-पाला बालेर लक्ष्मीको पूजा गरेपछि देउसी-भैलोलाई आमन्त्रण गरिन्छ । तर, अहिले उज्यालोको लागि दियो पाला मात्र बाल्ने गरिदैन । विद्युतिय बत्तीको व्यापक प्रयोग गरिन्छ । तिहारलाई लक्षित गरेर बजारमा थरीथरीका विद्युतिय बत्ती उपलब्ध हुनेगर्छ । विभिन्न आकर-प्रकार, साजसज्जा र रंगहरुमा उपलब्ध ति बिजुली-बत्ती लस्करै सजाएर बाल्ने प्रचलन झांगिएको छ ।

केही बर्षअघिसम्म यस्तो उज्यालोको कल्पना गर्न संभव थिएन । लोडसेडिङको मार खेपिरहेको मुलुक रात परेसँगै अध्याँरोमा हराउने गथ्र्यों । तिहार जस्तो पर्वमा अत्याधिक विद्युत खपत हुने भएकाले विद्युत आपूर्ति सहज हुँदैनथ्यो । पछिल्लो समय नेपाल विद्युत प्राधिकरणले विद्युत आपूर्ति सहज बनाएको छ । तिहार जस्तो पर्वमा समेत पुग्दो विद्युत आपूर्ति भइरहेको छ । त्यसैले त तिहारमा उपभोत्ताले मन खोलेर घरलाई झिलिमिली बनाएका छन् ।

तिहार खासमा उज्यालकै पर्व हो । गर्मी यामको समाप्ति र जाडो यामको सुरुवातमा आउने यो पर्वले केही सांकेतिक अर्थ पनि बोकेको छ । जाडो याममा धर्ती रुखो हुन्छ । कठ्यागि्रने चिसो बढ्छ । रुख-पात नाङ्गो बन्छ । हरियाली हराउँछ । प्रकृति उजाड हुन्छ । दिन छोटो र रात लामो हुन्छ । यो मौसमी परिवर्तनले हाम्रो मानसिकतामा पनि असर गर्छ । चिकित्सकहरुले भन्ने गरेका छन्, जाडो याममा चिन्ता, तनाव वा डिप्रेसन जस्तो मानसिक समस्या बढ्ने गर्छ । यो भनेको प्रतिकुल मौसमको कारणले हो ।

अतः प्रतिकुल मौसमसँग जुध्नका लागि मनको ज्योति बाल्नुपर्छ । मनलाई उज्यालो बनाउनुपर्छ । अँध्यारो रातलाई उज्यालोले चिर्न सक्छ भन्ने सांकेतिक सन्देशको रुपमा पनि तिहारको उज्यालोलाई लिने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment