Comments Add Comment

युरोपमा देउसी-भैलो (फोटो फिचर)

बार्सिलोना। हर्ष उल्लाससहित तिहारको रन्कोले घरदेशलाई ढपक्क बालेको बेला परदेश पनि अछुतो छैन। दोस्रो पुस्ताका नेपाली बालबालिकासहित युरोपका बिभिन्न देशहरुमा देउसी- भैलो कार्यक्रमहरु हुँदा तिहारको रन्कोले यता पनि छोएको हो।

परदेशमा व्यस्त समयका बाबजुत पनि नेपालीहरू आफ्नो परम्पराअनुसार चाडपर्व मनाउन पछि परेका छैनन् । आ-आफ्नो समय अनुकुल जमघट तथा रमाइलो गर्दै यतिबेला तिहार मनाइरहेका छन् । युरोपका बिभिन्न मुलुकहरुमा नेपाली परम्परा अनुसार नै देउसी-भैलोका कार्यक्रमहरु भइरहेका छन्।

स्पेनमा नेपाली पाठशाला बार्सिलोनाले हरेक वर्षजस्तै यसपटक पनि सामुहिक देउसी-भैलो कार्यक्रम सम्पन्न गरेको छ। खुल्ला ठाउँमा ‘शुभ-दीपावली’ लेखिएका अक्षरहरु र देउसी- भैलो भाकाले सबैको ध्यान केन्द्रित गरेको देखिन्थ्यो। आइतबार बार्सिलोनामा दोस्रो पुस्ताका नेपाली बालबालिकाहरुसहित स्थानीय कलाकार र अभिभावकहरु देउसी-भैलोमा रमाए।

विदेशमा पनि आफ्नो संस्कृतिको जगेर्नाका लागि यस्ता गतिबिधिहरुलाई निरन्तरता दिन जरुरी रहेको पाठशाला संयोजक सरला सापकोटा बताउँछिन्। ‘एनआरएनए स्पेनले आफ्नै भवन निर्माणको उदेश्य अघि सारेको छ। हामी देउसी-भैलोबाट संकलित रकम हस्तान्तरण गर्दै सो अभियानमा ईटा थप्ने कोशिस गर्दैछौ,’ उनले भनिन्।

फ्रान्सको पेरिसमा पनि ‘देउसी-भैलोको उद्देश्य, नेपाली घरको भविष्य’ भन्दै तिहारको रन्कोले छोएको छ।

एनआरएनए फ्रान्सले राजदूताबासदेखि स्थानीय ब्यबसायी,समाजसेबीहरुको घर- घरमा नै पुगेर देउसी-भैलो कार्यक्रम गरेको हो।

राजदूत दीपक अधिकारीको निवासमा पुगेर टोलिले देउसी-भैलोमार्फत नै आफ्नो उदेश्यबारे स्पष्ट पारेको थियो।

संघले देउसीभैलो मार्फत संकलित रकम छुट्टै बैंक खातामा राख्ने र ‘नेपाली घर’ निर्माणका लागि आर्थिक स्रोत जुटाउँदै जाने लक्ष्य लिएको छ।

झन्डै ६ सय नेपालीहरुको संख्या रहेको स्विट्जरल्याण्डमा पनि यसपटक देउसी-भैलो गुञ्जियो। मुना भट्टराई आचार्य र ज्योति पुनको पहलमा देउसी-भैलो कार्यक्रमको आयोजना भएको हो।

स्थानीय पत्रकार हिरालाल श्रेष्ठका अनुसार झण्डै ५ दशकदेखि नेपालीहरुको बसोबास रहेको स्विट्जरल्याण्डको इतिहासमा घर-घरमा पुगेर देउसी-भैलो खेलेको सम्भवत: पहिलोपटक हो। टोलीले स्विट्जरल्याण्डको बासेल आराउ र जुरीख शहरहरुमा नेपालीको घर-घरमा नै पुगेर देउसी-भैलो खेलेको थियो।

नेपाली स्कुल नर्वेलाई भने एक साता अघिदेखि नै तिहारको रन्कोले छोएको थियो। ओस्लोमा आयोजित देउसी-भैलो कार्यक्रममा नेपाली कला, संस्कृति र भाषा सिक्न प्रेरित गर्दै नेपाली बालबालिकाहरुले गीति नाटकसमेत प्रस्तुत गरेका थिए।

सबै जातजाति र भेषभुषा झल्कने पोशाकसहित नृत्य प्रस्तुत गर्दै बालबालिकाहरुले नेपालको साँस्कृतिक बिबिधताको झल्को देखाए। देउसी-भैलो गीतमा पनि उनीहरुको लोभलाग्दो प्रस्तुति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment