Comments Add Comment

मर्जरले दुई तिहाई विकास बैंक विलिन, अझै ८ वटा लाइनमा

१५ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले पुँजी वृद्धिको योजना ल्याउनुअघि मुलुकमा ८६ वटा विकास बैंकहरु थिए । त्यो संख्या घटेर अहिले २५ मा झरेको छ । अर्थात् ३ वर्षको अवधिमा दुई तिहाई विकास बैंकहरुको अस्तित्व मेटिएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ जारी गरी कार्यान्वयनमा ल्याएको थियो । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया सुरु गराएपश्चात् २०७६ भदौ मसान्तसम्म कुल १७६ बैंक तथा वित्तीय संस्था मर्जर/प्राप्ति प्रक्रियामा सामेल भइसकेका छन् । यसमध्ये १३२ संस्थाको इजाजत खारेज हुन गई कुल ४४ संस्था मात्र कायम रहेका छन् । यो सूचीमा क, ख र ग वर्गका सबै संस्थाहरु छन् ।

मर्जरमा होमिएर जति पनि गाभिए त्यसमा फाइनान्स कम्पनीपछि विकास बैंकको संख्या उच्च छ । यस अवधिमा ६१ वटा विकास बैंकहरु गाभिएका छन् ।

बलिया विकास बैंक पनि टिक्न सकेनन

दशैंअघि एनएमबी बैंक लिमिटेडमा ओम डेभलपमेन्ट बैंक मिसियो । पोखरा केन्द्रीय कार्यालय रहेको ओम राष्ट्रिय स्तरको विकास बैंक थियो । सञ्चालनमा रहेका विकास बैंकहरु मध्ये अब्बल मानिएको ओमसमेत अर्को ठूलो बैंकमा गएर गाभिन बाध्य भयो । मर्जरपछि एनएमबी बैंकको नामबाट कारोबार सुरु भइसकेको छ ।

एनएमबी र ओमको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको शेयर मुल्य अनुपात १००:७६ रहने स्वीकृति साधारणसभाले प्रदान गरेको थियो । सोही अनुसार नै एनएमबी र ओम मर्जरमा गए ।

राष्ट्रियस्तरकै विकास बैंक गण्डकी भने मेगामा मर्जरमा नगई विलय हुन लागेको हो । मेगामा विलय हुनका लागि गण्डकीले एक्विजिशनको सहमति पत्रमा हस्ताक्षर गरिसकेको छ । गण्डकीका सीईओ रेशमबहादुर थापा विकास बैंकका सीईओहरुको संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसनका द्वितीय उपाध्यक्ष हुन् ।

अर्को राष्ट्रिय स्तरको विकास बैंक कैलाशको हालत पनि उस्तै छ । २०७३ सालअघि मूनाफाका आधारमा नम्बर वान देखिँदै आएको कैलाशले प्राइम कमर्शीयलमा गाभिँदैछ ।

मर्जर अझै जारी

सञ्चालनमा रहेका २५ विकास बैंकहरु मध्ये ८ वटा विकास बैंकहरु मर्जरमा जाँदैछन् । ८ मध्ये केहीले पार्टनर खोजिरहेका छन् भने केहीले पार्टनर भेटेर सहमतिसमेत गरिसकेका छन् । मर्जर तयारीमा रहेको कैलाशले प्राइममा जाने सहमति गरिसक्यो । गण्डकी पनि मेगालाई आफ्नो अस्तित्व सुम्पन तयार भइसक्यो ।

यी अब्बल भनिएका बैंकहरुको नै हालत यस्तो हुँदा अन्य साना विकास बैंकहरुको हालत कस्तो छ ? डेभलपमेन्ट बैंकर्स एशोसिएसनका कार्यालय सचिव हेमजंग कार्की भन्छन्, ‘आजसम्मको संख्या २५ छ, कति घट्छन् भन्न सकिन्न ।’

कार्कीले भनेजस्तै विकास बैंकको संख्या कतिमा झर्छ भनेर भन्न सकिने अवस्था छैन । मर्जरमा जानका लागि नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सहयोगी विकास बैंक, सहारा विकास बैंक, देव विकास बैंक र साल्पा विकास बैंक समेत मर्जरमा जाने तयारीमा छन् ।

यसमध्ये सहयोगी विकास बैंक सिटिजन्स बैंक इन्टरनेसनलमा जाने तयारी गरिरहेको छ भने सहारा विकास बैंक र देव विकास बैंक एकआपसमा मर्जरमा जाने तयारीमा रहेका छन् ।

समस्याग्रस्त सूचीमा परेर केही समयअघि मात्रै फुकुवा भएको नारायणी डेभलपमेन्ट बैंकको पनि मर्जरमा जानुको विकल्प छैन । यसर्थ यस बैंकले मर्जरमा जानका लागि पार्टनर खोजिरहेको बुझिएको छ । कर्पोरेट डेभलपमेन्ट बैंकले पनि मर्जरमा जानका लागि साथी खोजिरहेको छ ।

खोटाङ केन्द्रीय कार्यालय रहेको साल्पा विकास बैंक पनि मर्जरमा जानै पर्ने देखिएको छ । साल्पाले मर्जरमा जानका लागि उपर्युक्त पार्टनर खोजिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment