Comments Add Comment

प्रधानमन्त्रीलाई के भएको हो ? यस्तो छ वास्तविकता

१४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ग्राण्डी अस्पतालमा डायलासिस गरिरहँदा डा. चक्रराज पाण्डे नेताहरुलाई ब्रिफ गरिरहेका थिए, ‘हि इज् पर्फेक्ट ।’

तर, विहीबारै प्रधानमन्त्रीलाई भेटेका नेकपाका एक नेता भन्छन्, ‘उहाँको अवस्था अलि गम्भीर नै देखियो ।’

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावल, नारायणकाजी श्रेष्ठ लगायतलाई डा. चक्रराज पाण्डेले प्रधानमन्त्री ओली पूर्ण स्वस्थ्य रहेको रिपोर्टिङ गरे । जब कि प्रधानमन्त्रीको मिर्गौलामा समस्या आएपछि बुधबार नै डायलासिस गरिएको खबर सञ्चार माध्यममा आएको थियो । बिहीबार पनि प्रधानमन्त्री डायलासिसका लागि गएका थिए । बुधबार दुई घन्टा र बिहीबार झण्डै चारघन्टा डायलासिस गरिएको थियो ।

अस्पताल प्रशासन र प्रधानमन्त्रीको सचिवालयले सूचना लुकाइरहेकै बेला बिहीबार अपराह्न प्रधानमन्त्री ओलीलाई भेट्न ग्राण्डी पुगेका नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले औपचारिक रुपमा ओलीको डायलासिस गरिएको पुष्टि गरे ।

दोस्रो डायलासिस सकिनासाथ क्याबिनमा प्रधानमन्त्रीलाई भेटेका प्रचण्डले चिकित्सकहरुसँग पनि केहीबेर कुराकानी गरे । भेटपछि उनले सञ्चारकर्मीहरुसँग भने, ‘भर्खर एउटा डायलासिस भएर रेष्टमा हुनुहुन्छ । उहाँको स्थिति सामान्यतिर गइरहेको छ ।’

प्रधानमन्त्रीलाई भएको के हो ?

प्रधानमन्त्रीको निजी सचिवालय र अस्पताल प्रशासनले अहिलेसम्म उनको डायलासिस गरेको बताएको थिएन । उनीहरुको दाबी थियो, यो नियमित चेकजाँच मात्र हो ।

तर, उनीहरुले झुठो बोलिरहेको प्रचण्डको अभिव्यक्तिले पुष्टि गरिदिएको छ ।

त्यसोभए प्रधानमन्त्री ओलीलाई भएको के हो त ? डायलासिस गरेको भनेपछि उनको मिर्गौलामा समस्या बढेको प्रष्ट भएको छ ।

प्रधानमन्त्री ओली मिर्गौलाको बिरामी हुन् । झण्डै १२ वर्ष अगाडि भारतको एपोलो अस्पतालमा उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसयता नियमित औषधि सेवन गर्दै आएका उनी हालै दुई पटक सिंगापुर गएका थिए । सिंगापुरमा प्लाज्माफेरेसिस विधिबाट उपचार गरिएको थियो ।

उपचारमा संलग्न चिकित्सकहरुका अनुसार अहिले फेरि मिर्गौलामा समस्या देखिएको छ । सिंगापुरबाट फर्किइसकेपछि पनि केही समय पहिले ग्राण्डीमा नै चेकजाँच गराउँदा मिर्गौलाले राम्रोसँग काम नगरेको पाइएपछि क्याथेटर राखिएको थियो । तर, अहिले फेरि समस्या आयो ।

चिकित्सकहरुका अनुसार मिर्गौलाले काम नगरेका कारण प्रधानमन्त्री ओलीको फोक्सोमा समेत पानी जम्मा भइसकेको रहेछ । त्यही कारण बुधबार आकस्मिक रुपमा डायलासिस गर्ने निर्णय चिकित्सकहरुले लिए ।

तर, बुधबार प्रधानमन्त्रीको रक्तचाप निकै कम भएका कारण दुई घन्टा मात्र डायलासिस भयो । डायलासिसपछि प्रधानमन्त्रीले निकै दुखाई महसुस गरेका थिए । उपचारका क्रममा उनलाई पटक–पटक अक्सिजन दिन परेको थियो ।

बिहीबार झण्डै चार घन्टा डायलासिस भयो । दुई चरणको डायलासिसका प्रधानमन्त्री निकै थकित देखिए पनि केही घण्टा आराम गरेर प्रधानमन्त्री बालुवाटार फर्कने चिकित्सकहरुले नेकपा नेताहरुलाई जानकारी दिएका छन् । एक चिकित्सकका अनुसार विहीबार पनि अस्पतालमै आराम गर्दा राम्रो हुने भएता पनि प्रधानमन्त्री डिस्चार्ज भएर आफूलाई सामान्य रहेको देखाउन चाहन्छन् ।

चिकित्सकहरुका अनुसार जब मिर्गौलाले राम्रोसँग काम गर्दैन, त्यस्तो बेला फोक्सो लगायत शरीरका अन्य भागमा पानी जम्मा हुन्छ । र, त्यही पानी निकाल्नका लागि पनि डायलासिस गर्ने गरिन्छ । यससँगै औषधि दिएर मिर्गौलालाई पूर्ण रुपमा सक्रिय बनाउने प्रयास पनि हुनेछ ।

प्रधानमन्त्रीलाई बुधबार र विहीबार दुईपटक डायलासिस गरेर औषधि दिइएको छ, ताकि उनको मिर्गौलाले फेरि पहिले जस्तै काम गरोस् । चिकित्सकहरुले डिस्र्चाज गरेर घर पठाउनुको अर्थ पनि अबको केही दिन उनको अस्वथा हेर्ने उद्देश्य रहेको बताइएको छ ।

तर, केही दिन पर्खेर हेर्ने निर्णय कत्तिको चुनौतीपूर्ण होला ? यो चिकित्सकहरुले नै जान्ने कुरा हो ।

सम्भावित दुई विकल्प

चिकित्सकहरुका अनुसार एक चरण डायलासिस गरेर औषधि दिँदा मिर्गौलाले फेरि पहिलेकै जस्तो काम गर्न सक्छ । त्यसो भएमा थप उपचार गर्नु पर्दैन । तर, डायलासिस गरेर औाषधि दिँदा पनि मिर्गौलाले काम गरेन भनेचाहिँ दुई वटा मात्र विकल्प हुन्छ । एउटा– लगातार डायलासिस । दोस्रो– मिर्गौला प्रत्यारोपण ।

चिकित्सकहरुका अनुसार प्रधानमन्त्रीको मिर्गाैलाले अब पनि पहिलेको जस्तै काम गरेन भने हप्तामा दुईपटक डायलासिस गर्नुपर्ने हुन्छ । यो विकल्पबारे प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकहरुले छलफल गरेका छन् । तर, निर्णयमा पुगिसकेका छैनन् । किनकि, हप्तामा दुईपटक डायलासिस गरिरहन निकै कष्टपूर्ण हुन्छ । र औषधि खाँदा नै ठीक हुन्छ कि भन्ने डाक्टरहरुमा आशा देखिन्छ ।

अर्को विकल्प भनेको मृगौला प्रत्यारोपण नै हो । प्रधानमन्त्री ओलीको पहिल्यै एकपटक प्रत्यारोपण भइसकेकाले अब गर्ने पुनःप्रत्यारोपण हो ।

स्रोतका अनुसार प्रधानमन्त्री यसअघि सिंगापुर उपचार गर्न जाँदा नै यो विकल्पबारे छलफल भएको थियो । तर, यो जोखिमपूर्ण हुन्छ । चिकित्सकहरुका अनुसार पुनः प्रत्यारोपण गर्दा मिर्गौला काम नगर्नेदेखि संक्रमण हुने लगायतका धेरै जोखिम हुन्छन् ।

त्यसैले प्रधानमन्त्री ओली बिहीबार अस्पतालबाट डिस्चार्ज भएर बालुवाटार आए पनि उनी पूर्णरुपमा स्वस्थ भइसकेका होइनन् । उनी चिकित्सकहरुको अब्जरभेसनमा नै हुनेछन् र थप परीक्षणहरुका आधारमा आगामी उपचार प्रक्रियाको निधो गर्ने चिकित्सकहरुको तयारी छ ।

यो पनि पढ्नुहोस प्रधानमन्त्रीलाई आजै डिस्चार्ज गर्छौं : डा. पाण्डे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment