Comments Add Comment

नेकपा सचिवालय बैठक शनिवार बस्दै, को-को बन्दैछन् उम्मेदवार ?

१५ कात्तिक, काठमाडौं । मंसिर १४ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गर्न सत्तारुढ नेकपाको सचिवालय बैठक शनिबार विहान बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा प्रतिनिधिसभा, प्रदेशसभा र उपमहानगरपालिकाका उम्मेदवारबारे छलफल हुने महासचिव बिष्णु पौडेलले जानकारी दिए ।

शुक्रबार बिहान प्रधानमन्त्री निवासमा दुवै अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच छलफलपछि सचिवालय बैठक बोलाइएको हो ।

छलफलमा प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य अवस्थाबारे प्रचण्डलाई जानकारी गराएका थिए ।

नेकपा स्रोतका अनुसार प्रधानमन्त्रीले आफूलाई अतिरिक्त कुनै समस्या नरहेको बताएका थिए ।

लामो समयदेखि नेकपा सचिवालय बैठक बस्न सकेको छैन । सचिवालय नबसेका कारण पार्टी एकीकरणका बाँकी कामसमेत थाति छन् । स्रोतका अनुसार शनिबारको बैठकमा भने उम्मेदवार छनौटमै छलफल हुनेछ ।

नेकपाले प्रतिनिधिसभा, प्रदेशसभा र उपमहानगरपालिकाका मेयर उम्मेदवार केन्द्रबाट तय गर्ने तथा गाउँपालिका अध्यक्ष उपाध्यक्ष प्रदेश कमिटीले तय गर्ने मापदण्ड बनाएको छ । त्यस्तै वडाध्यक्षका उम्मेदवारका हकमा सम्बन्धित जिल्ला कमिटीले निर्णय गर्नेछन् ।

कास्की-२ को प्रतिनिधिसभा सदस्यमा विद्या भट्टराई,सोमना प्यासी र राजकाजी गुरुङको नाम सिफारिस भएको छ । रवीन्द्र अधिकारीको निधनपछि रिक्त रहेको सो क्षेत्रमा नेकपाले उनकी पत्नी विद्यालाई उम्मेदवार बनाउने लगभग निश्चित रहेको नेकपाका एक शीर्ष नेताले बताए ।

यो पनि पढ्नुस्–

भक्तपुरको प्रदेशसभा उम्मेदवारमा नेकपाका चार नेता सिफारिस

त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्रकी उपप्राध्यापकसमेत रहेकी भट्टराई रवीन्द्रसँगै विद्यार्थी राजनीतिमा थिइन् । उनी तत्कालीन एमाले सम्बद्ध अनेरास्ववियुको उपाध्यक्षबाट बिदा भएकी थिइन् ।

त्यस्तै तीनवटा प्रदेशसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा नेकपाले बागलुङको सिट राष्ट्रिय जनमोर्चालाई छाड्ने भएको छ । गत निर्वाचनमा वाम गठबन्धन गरेर जनमोर्चालेनै जितेको सो क्षेत्रमा यसपटक पनि नेकपाले सघाउने गरी शनिबारको बैठकमा छलफल हुने भएको छ ।

दाङ क्षेत्र नम्बर ३ को प्रदेशसभा सदस्यमा बिमला वलीलाई उम्मेदवार बनाइने नेकपा स्रोतले जनाएको छ । सो क्षेत्रबाट निर्वाचित तत्कालीन एमालेका उत्तरकुमार वलीको सवारी दुर्घटनामा निधन भएको थियो । सो क्षेत्रबाट नेकपाका पूराना नेता शोभाराम बस्नेत पनि सिफारिस भएका छन् । विमला वली उत्तर ओलीकी पत्नी हुन् ।

भक्तपुरको क्षेत्र नम्बर १ को प्रदेशसभामा शुक्रवारमात्र प्रदेश ३ कमिटीले चारजनाको नाम सिफारिस गरेको छ । सिफारिस भएका रमेश बुढाथोकी, मोहनवीर श्रेष्ठ, देवीप्रसाद ढकाल र नारायणी फुयालमध्ये जिल्लाबाट बुढाथोकी वा श्रेष्ठमध्ये एकले जित्ने रिपोर्ट केन्द्रमा पुगेका छ ।

धरान उपमहानगरपालिकाको मेयरमा प्रकाश राई, फोक्वा हाङ चोत्लुङ (सुब्बा) र बेणु काफ्लेको नाम सिफारिस भएको छ । त्यहाँ प्रकाश राईले टिकट पाउने सम्भावना रहेको नेकपाका एक सचिवालय सदस्यले बताए ।

रिक्त रहेका बागलुङ बाहेक सबै ठाउँमा तत्कालीन एमालेका उम्मेदवार विजयी भएका थिए ।

यो पनि पढ्नुस्–

धरानको मेयरका लागि नेकपाबाट तीन जनाको नाम सिफारिस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment