Comments Add Comment

किमाथांका नाकामा सी चिनफिङको आँखा परिसक्यो

हिमालय सीमापार बहुआयामिक कनेक्टिभिटीको चिनियाँ अभियानको नेपाल अब अभिन्न पक्ष भइसकेको छ । चिनियाँ नेताहरुले भने जस्तै चीनको विकास र सम्बृद्धिको मात्र होइन हिमालय सीमापार बहुपक्षीय सञ्जालको पनि पहिलो हकदार नेपाल नै हुनुपर्छ ।

हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा शुरु भएको नेपाल चीन पारवहन तथा कनेक्टिभिटीका बहुपक्षीय सम्झौताहरु उहाँको दोस्रोे कार्यकालमा क्रमशः कार्यन्वयनको चरणमा आइपुगेका छन् । सी चिनफिङले नेपालको ऐतिहासिकि भ्रमणमार्फत यसको शुरुवात गर्नुभएको छ ।

सी चिनफिङको भ्रमणका क्रममा उत्तरका हिमाली नाकाहरुसम्म आएको चिनियाँ पूर्वाधारको विकास अब नेपाल छिचोल्ने भन्ने नै मुख्य निचोड हो । तीमध्ये अब किमाथांका नेपाल र चीनलाई जोड्नेमात्र होइन चीनलाई दक्षिण एशिया जोड्ने रणनीतिक मार्ग बन्ने आधार तय भएको छ ।

चिनियाँ पक्षले लेगुवादेखि किमाथांकासम्मको बाटोको डीपीआर मागेका छन् । सम्झौतापत्रमै लेखिएको छ । हिलेबाट लेगुवा भोजपुर जाने मध्य पहाडी राजमार्गको एउटा विन्दू संखुवासभा हो । हाम्रो अर्को नेपाल सरकारको तर्फबाट काठमाडौं किमाथांका राजमार्ग भनेर हालसालै १६३ किलोमिटरको सडक निरन्तर प्रक्रियामा छ । त्यसमध्ये १४८ किलोमिटरको ट्रयाक खुलिसकेको छ ।

राजेन्द्र गौतम

खाँदबारीदेखि किमाथांका जोड्ने ट्र्याक खुलाउन १४/१५ किलोमिटर बाँकी रहेको छ । हालको भोटखोला गाउँपालिकाको वडा नम्बर २ च्याङ्तामको गुठी गुम्बाबाट पूरानो किमाथांका गाविसको अहिले भोटखोला १ को गोङगप्पा भन्ने ठाउँको बीचमा महभीर र शंखेभीर भन्ने दुई ठूला भीर छन् ।

ठूलो भिरका कारण त्यो बाटो लामो समयदेखि ट्र्याक ओपन गर्न सकिएन । म प्रतिनिधिसभा सदस्य निर्वाचित भएर आएदेखिनै त्यो बाटो सामान्य ठेकेदारले खोल्न सक्दैन, त्यसमा विष्फोटक पदार्थ चाहिन्छ भनेर सरकारसँग पटक–पटक आग्रह गरेँ । यो १४ किलोमिटर सडक ट्र्याक खोल्ने जिम्मा नेपाली सेनालाई दिउँ भन्ने मेरो आग्रह सरकारले मानेर हालैमात्र मन्त्रिपरिषद बैठकले नेपाली सेनालाई दिने निर्णय गरिसकेको छ । अब ट्र्याक खुल्छ ।

चीनले लेगुवादेखि किमाथांका सडकको सम्पूर्ण डिपिआर मागेको छ । अब उसले डबल लेन स्टाण्डर्ड बाटो बनाइदिने भएको छ । जति चाँडो हामीले डीपीआर दिन्छौं त्यति नै चाँडो किमाथांका हुँदै हामी चीनसँग जोडिन्छौं । करीव २ सय किलोमिटरको यो सडक भनेको गेम चेञ्चर आयोजनान नै हो कम्तिमा प्रदेश १ र २ का लागि ।

चिनियाँहरुले यस्ता पहाडी र अप्ठेरा भूभागमा सुरुङमार्गनै बनाउने गरेका छन् । उनीहरुले सुरुङमार्ग बनाए भने किमाथांकादेखि खाँदबारीसम्मको १६२ किलोमिटरको दूरी झण्डै ५३ किलोमिटरमा आउँछ । संखुवासभाको जीवन परिवर्तन गराउने यो बाटोको लागि चाँडो डीपीआर तयार पार्न दबाब दिइरहेका छौं ।

अहिले जति पनि चीनसँग जोडिएका उत्तरी नाकाका बाटोहरुको कुरा भइरहेको छ,ती मध्ये सबैभन्दा उपयुक्त विकल्प हो किमाथांका । जम्मा २२ सय २३ मिटर उचाइमा छ त्यो ठाउँ । यो भनेको बाह्रै महिना आवत–जावत र कारोबार गर्न सकिने वातावरण हो । हामीले हिमालय सीमापार कनेक्टिभिटीको कुरा गरिरहँदा सडक सञ्जालका लागि किमाथांका जस्तो अनुकुल अरु नाका नहुन सक्छन् ।

किमाथांका ट्रान्स हिमालय कनेक्टिभिटीमा उपयुक्त नाका हो भन्ने कुरामा सी चिनफिङको आँखा परिसक्यो । चीनको नेतृत्व यो बाटो खोल्न चाहन्छ भन्ने कुरा बुझेरै हाम्रो सरकारले पनि ट्र्याक ओपन गर्न सेनालाई दिने र डीपीआर बनाउने काममा तिब्रता दिएको छ ।

अरुणको गढतिरमा त्यसको पोजिसन छ । उत्तरी नाकाहरु अरु पनि खुल्नुपर्छ तर किमाथांका हाम्रो रणनीतिक सडक हुनेछ । यो त अरुण नदीको किनारा हुँदै जाने हो । अर्को कुरा त्यसको फाइदा के छ भने, अरुण नदीमा चीनले दुईटा पुल हालिसकेको छ ।

किमाथांका उतापट्टि चाङ्गा बजार छ । चांङ्गा चाहिँ बेङबाङ नगरपालिकाको ठूलो बजार हो । उतापट्टि मोटर कुदिरहेका छन् । हामी त्यहाँको बजारसँग जोडिन चाहान्छौं । त्यहाँबाट सिगात्से पनि धेरै टाढा छैन । उचाइको हिसाबले पनि बाह्रै महिना चल्ने यो नाकालाई हामीले सबैभन्दा ठूलो ब्यापारिक नाकाका रुपमा बिस्तार गर्न सक्ने धेरै सम्भावना छन् ।

यो नेपालको बाह्रै महिना चल्ने नाका त हुँदै हो,प्रदेश नम्बर एकको विकास सम्बृद्धि र आर्थिक उन्नतिका लागि त यो मुटु नै हो । प्रदेश २ को पनि किमाथांकानै सबैभन्दा नजिक हुनसक्छ किनकि त्यो बाटो त इटहरी निस्कन्छ, इटहरीबाट प्रदेश २ को दूरी कति छ हामी सबैलाई थाहा छ ।

प्रदेश १ र २ लाई सहजतापूर्वक बाह्रै महिना डेलिभरि दिने उत्तरी नाका कुनै छ भने किमाथांका हो । यसलाई देशकै ठूलो व्यापारिक नाकाका रुपमा विकास गर्न प्रधानमन्त्रीले पनि चाहानुभएको छ । चिनियाँहरुले त यसलाई विशेष महत्व दिएका छन् । हालैमात्र हामीले दुईतिरको बैठक सीमानामा राख्दा पनि किन यो नाकाको सडक बनेन भनेर उनीहरु हामीलाई सोधिरहेका थिए ।

किमाथांका नाका हाम्रा लागि भन्दा पनि चीनको लागि रणनीतिक छ । उसले नेपालको मात्र होइन, दक्षिण एशियाको बजार हेरिरहेको छ । दक्षिण एशियाको बजारमा जानका लागि भारतको जोगवनी किमाथांकाबाट सबैभन्दा नजिकको दूरीमा छ । उसले त्यताको समेत बजार हेरिरहेको छ ।

सी चिनफिङ जब चीनको राष्ट्रपति भए, प्रारम्भमा उनी नाथुला भएर भारत छिर्न चाहान्थे । तर नाथुला धेरै उचाइमा रहेको र आधा भन्दा बढी समय हिउँले ढाकिने भएकाले बाह्रै महिना चल्ने नाका होइन । उसै पनि चीन भारतसँग सिधैं नाका खोल्ने भन्दा पनि नेपाल भएर जान चाहन्छ ।

त्यसपछि चीनले त्यस क्षेत्रमा किमाथांकालाईनै रणनीतिक नाकाका रुपमा लिएको हो भन्ने कुरा हालै सी चिनफिङको भ्रमणका क्रममा लिखित रुपमै लेगुवा किमाथांका सडकको कुरा आउनुले पुष्टि हुन्छ । बीआरआइभित्रको रणनीतिक मार्गमा यो क्षेत्र परेको छ । केरुङ र किमाथांका दुईटा हिमाली नाका दक्षिण एशिया प्रवेशका मुख्य प्रवेशद्वार हुन् अब ।

किमाथांकाबाट ठिक १६० किलोमिटरमा रिओ पुगिन्छ । रिओ र सिगात्सेको दूरी करीव दुई अढाइ सय किलोमिटर छ । सिगात्सेसम्म चीनको रेल पुगिसकेको छ । यसबाट के बुझौं भने किमाथांका चीन र नेपाल दुवैका लागि रणनीतिक नाकामात्र होइन बाह्रै महिना चल्ने नाकामात्र पनि हो ।

जोगबनीबाट बिराटनगर ९ किलोमटिर । विराटनगरबाट धरान ४० किलोमिटर । हिलेसम्म आउँदा ६५ किलोमिटर र हिलेबाट ६५ किलोमिटर तुम्लिङटार पुग्न सकिन्छ । खाँदबारीबाट किमाथांका १६२ किलोमिटरमा पुगिन्छ । यस हिसाबले किमाथांकाले चीन र भारतलाई करीव ३ किलोमिटरको दूरीमा छुन्छ ।

चीनले जसरी बीआरआईमार्फत हिमालय सीमापार कनेक्टिभिटीको कुरा गरिरहेको छ, दक्षिणएशियाको गेट वे नेपाललाई बनाउने निश्चित छ । चिनियाँ नेताहरुले यसलाई खुलेरै भनेका छन् कि, नेपाल हाम्रो गेटवे हो र यसको विकास गर्छौं । यसकै लागि उत्तरी नाकाहरु खुलाउने कुरा हालैको राष्ट्रपतिको भ्रमणमा लिपिबद्धनै भइसकेको छ ।

किमाथांका ट्रान्स हिमालय कनेक्टिभिटीमा उपयुक्त नाका हो भन्ने कुरामा सी चिनफिङको आँखा परिसक्यो । चीनको नेतृत्व यो बाटो खोल्न चाहान्छ भन्ने कुरा बुझेरै हाम्रो सरकारले पनि ट्र्याक ओपन गर्न सेनालाई दिने र डीपीआर बनाउने काममा तिब्रता दिएको छ ।

संखुवासभाको लागि भन्नुहुन्छ भने यो त भाग्य खुल्ने हो । संखुवासभाको शीरदेखि तीरसम्म यो बाटो हिड्छ । धनकुटाको प्रवेश विन्दूदेखि संखुवासभाको शीर किमाथांकासम्म पुग्ने सडक हो । यो चाहिँ संखुवासभाबासीको मात्र नभएर सिंगो मुलुकको लाइफलाइन हो ।

ट्र्याक ओपन चाहिँ हामीले चाँडै गर्नुपर्छ भन्ने एक सूत्रीय अभियान छ हाम्रो । सेनाले आफ्नो काम अघि बढाउँदैछ । यसबीचमा डीपीआर तयार पारेर हामीले चीनलाई हस्तान्तरण गर्नेछौं । किमाथांका–लेगुवा सडक बन्छ र नेकपाको नेतृत्वमा यो सम्भव भयो भनेर हामी तीन वर्षपछिका चुनावमा जान्छौं ।

अहिले दुवैतिरको राजनीतिक नेतृत्वबीच पनि राम्रो र विश्वासको सम्बन्ध स्थापित भएको बेला छ । चिनियाँ राष्ट्रपतिले हाम्रो नेतृत्वलाई विश्वास गर्नुभएको छ । यो मौकामा हामीले हिमालय सीमापार यातायात सञ्जाल निर्माण गर्न सक्नुपर्छ भन्नेमा दुवैतिरको जोड छ ।

मैले त आफैंले भनेको छु, यो संखुवासभाको लाइफलाइन हो । यो ट्र्याक ओपन गर्न सकिन भने अर्को चुनावमा उम्मेदवार बनेर आउदिन भनेको छ । यो सडक हाम्रो भविष्यसँग जोडिएको छ । सिन्धुपाल्चोकको तातोपानी नाकाले त्यहाँका जनताको जीवनस्तर कसरी उकास्यो, त्यही अवस्थामा किमाथांकालाई पु¥याउने हो भनेको हुँ ।

अबको तीन वर्षभित्रमा किमाथांकासम्मको ट्र्याक खुल्नेछ र चीनले दुई लेनको सडक बनाउन थालिसकेको हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment