Comments Add Comment

डोटी बस दुर्घटना : सहचालकले चलाएका थिए बस

१७ कात्तिक, डोटी । डोटीको शिखर नगरपालिका-१ गेरुपानीमा सहचालकले चलाएका कारण बस दुर्घटना भएको यात्रुले बताएका छन् ।

महेन्ऽनगरबाट बाजुरा जाँदै गरेको महाकाली यातायातको ना७ख ६१८१ नम्बरको बस शनिवार बिहान साढे ४ बजे दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो भने ३३ जना घाइते भएका थिए ।

‘चालकले निन्द्रा लाग्यो भन्दै सहचालकलाई बस चलाउन दिए,’ बाजुरा रिठाबजार घर भइ दुर्घटनामा घाइते भएकी यात्रु गंगा थापाले भनिन्, ‘त्यसको करिब २० मिनेटमै दुर्घटना भयो ।’

चालकले सहचालकलाई बस चलाउन दिएर आफू साइडमा बसेको अर्का एक यात्रुले बताए । दुर्घटनामा घाइते उनले भने, ‘चालकले चलाउँदासम्म गाडी ठीकै थियो सहचालकले चलाएपछि दुर्घटना भएको हो ।’

तर, चालक लोकेन्द्र बडैला गाडी आफैले चलाएको दावी गर्दैछन् । प्रहरी नियन्त्रणमा रहेका बढैलाले बस सहचालकले नभइ आफै चलाइरहेको प्रारम्भिक वयान दिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहरा बताउँछन् । ‘बाहिर कताकता सहचालकले बस चलाएको भन्ने सुनेपछि हामीले चालकलाई सोध्यौं,’ प्रहरी निरीक्षक बोहराले भने, ‘ऊ (चालक) आफैंले चलाएको थिएँ भन्दैछ ।’

शंका लागेर सहचालक एलेक्स लिम्बुलाई समेत नियन्त्रणमा लिएको प्रहरी निरीक्षक बोहरा बताउँछन् ।

गाडीमा सामान्य समस्या देखिएपछि साइड लगाउन खोज्दा दुर्घटना भएको चालकले दावी गरेको प्रहरी निरीक्षक बोहरा बताउँछन् । उनले भने, ‘सहचालकले आफू कम्मल ओडेर सुतेको र बस दुर्घटना भइसकेपछि मात्रै थाहा पाएको हुँ भन्दैछ ।’

आफूहरुले घाइतेको बयान लिइनसकेको बोहरा वताउँछन् । ‘प्रारम्भिक वयानबाट सहचालकले चलाएको जस्तो देखिदैन,’ बोहराले भने, ‘हामी अनुसन्धानकै क्रममा छौं, घाइतेहरुसँग सोधपुछ र अरु अनुसन्धान गरिसकेपछि क्लियर होला ।’

दुर्घटनामा परी बाह्रबिस-६ बाजुराका ५१ वर्षी य नयाँ सेरालाको मृत्यु भएको थियो । सेरालाको शव परीक्षणपछि दाहसंस्कारका लागि आफन्तहरुले लगिसकेको बोहराले बताए ।

घाइतेहरुमध्ये नौ जनालाई हेलिकप्टरमार्फत थप उपचारका लागि शनिबारै काठमाडौं लगिएको छ । अन्य घाइतेहरुमा चार जनाको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यस्तै आठ जनाको कैलालीको धनगढीमा, चार जनाको दिपायलको शैलेश्वरी अस्पतालमा र तीन जनाको सैनिक अस्पताल राजपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । अन्य घाइतेहरुलाई सामान्य उपचारपछि घर फर्काइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment