Comments Add Comment

सागमा अफगानिस्तानको टुंगो कात्तिक २४ मा लाग्ने

१७ कात्तिक, काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा अफगानिस्तानलाई सहभागी गराउने वा नगराउने निर्णय कात्तिक २४ गते लाग्ने भएको छ ।

ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) को बैठक आगामी कात्तिक २३ र २४ गते काठमाडौंमा हुनेछ । यही बैठकले अफगानिस्तानलाई सागमा सहभागी गराउने या नगराउने टुंगो लाग्ने नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले बताए ।

उनले भने, ‘अन्तिम अवस्थामा आएर अफगानिस्तानले सागमा भाग लिने प्रस्ताव राखेपछि हामीले यो विषयमा छलफल गरिरहेका छौं ।’

अफगानिस्तानले सन् २०१६ भारतमा भएको १२ औं सागमा भाग लिएपछि दक्षिण एसिया छाडेर सेन्ट्रर एसियामा गएका थिए । सन् १९८४ देखि सुरु भएको साग खेलकुदमा अफगानिस्तानले भने २००४ पाकिस्तान भएको नवौं सागदेखि भाग लिएको थियो ।

१३ औं साग खेलकुद प्रतियोगिता मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा हुदैछ ।

‘सबैसँग बसेर मैले कुरा गरिरहेको छु । अन्तिम टुंगो भने लागेको छैन । अब १३औं सागमा अफगानिस्तान रहन सक्ने या नसक्ने भन्ने कुरा कात्तिक २३ र २४ गते ओसीएको निर्णयले गर्नेछ’, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष श्रेष्ठले भने ।

त्यस्तै, अफगानिस्तानले सबै खेलमा भाग लिने प्रस्ताव भने नराखेको अध्यक्ष श्रेष्ठले बताए । उनले भने, ‘सीमित प्रतियोगितामा मात्रै भाग लिने अफगानिस्तानको प्रस्ताव छ । यहाँ प्राविधिक पक्षहरु पनि हुन्छन् । त्यसैले अहिले नै भइहाल्न भन्ने सम्भावना छैन । छलफल भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment