Comments Add Comment

वीरगञ्जमा स्वार्णिम चलचित्र महोत्सवको तयारी तीब्र

राष्ट्रपतिले उद्घाटन गर्ने, चर्चित भारतिय अभिनेता गोविन्दा आउने

१७ कात्तिक, वीरगञ्ज । वीरगञ्जमा स्वर्णिम चलचित्र महोत्सव–२०७६ को तयारी तीब्र पारिएको छ । कात्तिक २१, २२ र २३ गते आदर्शनगर रंगशालामा हुने महोत्सवको तयारी तीब्र पारिएको हो ।

‘तराई पहाड हिमालको उत्सव’ भन्ने नाराका साथ गर्न लागिएको महोत्सवको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने आयोजक नेपाल चलचित्र निर्माता संघले जनाएको छ ।

नेपालकै प्रथम चलचित्र महोत्सवमा भारतका चर्चित अभिनेता गोविन्दा आउने तय भइसकेको आयोजकले आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । ‘वीरगञ्ज ३ दिन चलचित्रमय हुन्छ, यसले वीरगञ्जको पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधिको उन्नयन हुन्छ ।’ महोत्सव तयारी समितिका संयोजक एवम् चलचित्र निर्माता संघका उपाध्यक्ष बिमल पौडलले भने, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा कमाउनेछ ।’

तराई मधेशका कथा र कलाकारलाई समेत नेपाली चलचित्रमा समेट्निुपर्छ भन्ने मान्यताका साथ आफूहरुले पहिलो चलचित्र महोत्सव वीरगञ्जमा गर्न लागेको पौडेलले बताए । स्थानीय कलाकारलाई प्राथमिकताका साथ महोत्सवमा सहभागी गराउने उनको भनाइ छ ।

महोत्सव आयोजनामा नेपाल उद्योग वाणिज्य महासंघ र वीरगञ्ज उद्योग वाणिज्य संघको साझेदारी र सहयोग छ । नेपाली चलचित्रलाई समयानुकुल, मौलिक एवं देश काल परिस्थिति अनुसारको कथा तयार गरी निर्माण गर्न महोत्सव फलदायी हुने महोत्सवको स्थानीय संयोजक नन्दु श्रीवास्तवले विश्वास व्यक्त गरे ।

महोत्सवमा १ करोड २० लाख खर्च हुने अनुमान गरिएको छ । प्रदेश सरकारले १० लाख, वीरगञ्ज महानगरपालिकाले १५ लाख रुपैयाँ र प्रादेशिक पर्यटन प्रवर्द्धन समितिले समेत रकम छुट्याएको छ ।

पत्रकार सम्मेलनमा वीरगञ्ज महानगरपालिकाको नगरप्रमुख विजय कुमार सरावगीले चलचित्र महोत्सवको सफलताले यस क्षेत्रको भाषा, कला, संस्कृति एवं कलकारहरुलाई देश विदेशमा परिचित गराउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

‘आउने दिनमा चलचित्र उद्योगसँग जोडिन चाहने मानिसहरुका लागि महोत्सव अवसर बन्न सक्छ, कनेक्टिभीटिको काम गर्छ, उनीहरुलाई रोजी रोटीको बाटो बन्न सक्छ ।’ उनले भने, ‘काठमाडौंपछि कार्यक्रम गर्न सक्षम क्षेत्र वीरगञ्ज मानिन्छ, यहाँ महोत्सव सफल हुँदा यसले सकारात्मक सन्देश प्रवाह हुन्छ ।’

वीरगञ्ज उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्याक्ष सुबोध गुप्ताले महोत्सवले यस क्षेत्रको पर्यटन प्रवद्धनमा समेत टेवा पु र्‍या उने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment