Comments Add Comment

यी चलचित्र, जसले १० करोड व्यापारको आँकडा पार गरे

केही बर्ष अगाडिसम्म नेपाली चलचित्रले १ करोड ग्रस कलेक्शन गर्दा अचम्मित हुनुपर्ने अवस्था थियो । तर, बर्षमा एक वा दुई चलचित्र अहिले लोभलाग्दो १० करोड क्लब ग्रसमा पुग्न थालेका छन् । नेपाली चलचित्रले १० करोड ग्रस गर्नु चुनौतीपूर्ण कुरा त हो, तर असंभव छैन भन्ने केही चलचित्रले देखाइसकेका छन् ।

हुनत, निर्माताको आँकडालाई नै सबैले विश्वास गर्नुपर्ने अवस्था छ । यसैले पनि नेपाली चलचित्रको वास्तविक आँकडा सार्वजनिक गर्न समस्या छ । तर, निर्माताको कुरालाई आधार मान्दा आधा दर्जन बढी चलचित्र १० करोड क्लबमा सहभागी छन् ।

स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्का अभिनित चलचित्र ‘कोहिनुर’ले १० करोड ग्रस कलेक्शन गरेको दाबी निर्माणपक्षको थियो । भलै, यो चलचित्रको कलेक्शनको बिषयमा विवाद छ । तर, पनि १० करोड क्लबमा पुग्ने यो नै पहिलो नेपाली चलचित्र हो ।

यसपछि भने केही चलचित्रले यो आँकडा छोएका छन् । चलचित्र ‘छक्का पन्जा’ले यो क्लब छोएन मात्र, नयाँ रेकर्ड समेत राख्यो । निर्माणपक्षका अनुसार चलचित्रले १६ करोड ग्रस कलेक्शन गरेको छ ।

यही चलचित्रको दोश्रो सिरिज ‘छक्का पन्जा २’ले १४ करोड ग्रस कलेक्शन गरेको दाबी यसको निर्माणपक्षले गरेको छ । यस्तै, ‘छक्का पन्जा ३’ले इतिहास रच्ने व्यापार गर्यो । चलचित्रले १७ करोड भन्दा माथिको ग्रस कलेक्शन गर्दै नयाँ रेकर्ड बनाएको छ ।

चलचित्र ‘शत्रु गते’ले पनि १० करोड क्लबलाई छोएको थियो । यो चलचित्रले १२ करोड ग्रस कलेक्शन गरेको दाबी यसको निर्माणपक्षले गर्दै आएको छ । यो बर्ष रिलिजमा आएका २ चलचित्रले यो आँकडा पार गरेका छन् । असोज ३ गतेबाट रिलिज भएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले ११ करोड ग्रस कलेक्शन गरेपछि यसको निर्माणपक्षले पत्रकार सम्मेलन नै आयोजना गरेर आँकडा सार्वजनिक गरेको थियो ।

असोजको २४ गतेबाट रिलिज भैरहेको चलचित्र ‘छ माया छपक्कै’ले १२ करोडको आँकडा १७ दिनमा पार गरेको दाबी निर्माता रोहित अधिकारीको छ ।

यसरी हेर्दा, नेपाली चलचित्र कमै भएपनि लोभलाग्दो आँकडा पार गर्न सफल भएका छन् । चलचित्रको व्यापारिक रफ्तार, मल्टिप्लेक्सको वृद्धी, राम्रा चलचित्र र ब्यानरमाथि दर्शकको विश्वास आदिले पनि चलचित्रको बजार २० करोड माथिको हुन धेरै समय नलाग्ने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment