Comments Add Comment

काठमाडौंमा पनि वायु प्रदूषणले मापदण्ड नाघ्यो

दिल्लीको प्राणघातक वायुको असर कति ?

काठमाडौं । काठमाडौंमा वायु प्रदूषणले मापदण्डको तह पार गरेको छ । राजधानीका विभिन्न स्थानहरुमा वातावरण विभागले गरेको वायु गुणस्तरको निगरानीका क्रममा रत्नपार्क क्षेत्रमा वायुप्रदूषणले तोकेको सीमा पार गरेको देखाएको हो । विभाग अन्तर्गत्को वायु गुणस्तर निगरानी केन्द्रको तथ्यांक अनुसार पार्टिकुलेट म्याटर २.५ भएको हावा खतराको तहमा पुगेको हो ।

विश्व स्वास्थ्य संगठनले विभिन्न स्थानहरुमा हावामा हुने प्रदूषणको मापदण्ड तय गरेको छ । यसमध्ये काठमाडौंमा १० माईक्रोग्राम प्रतिघनमिटरसम्मको अवस्थालाई सामान्य मान्ने गरिन्छ । संगठनको मापदण्ड अनुसार एक नाइट्रोनभन्दा साना धुलाका कण भएको हावालाई पिएम १ भनेर चिनाउने गरिन्छ । पार्टिकुलेट म्याटर २.५ युक्त हावा ४० माईक्रोग्राम प्रतिघनमिटरभन्दा धेरै हुन नहुने गरी संगठनले मापदण्ड तोकेको छ । तर, पछिल्लो २४ घण्टामा काठमाडौंको रत्नपार्कको हावामा पार्टिकुलेट म्याटर २.५ को धुलोका कण ५३ माईक्रोग्राम प्रतिघनमिटर नाघेको छ । यो हिस्सा आइतबार ६० नाघेको वातावरण विभाग अन्तर्गत्को वायु गुणस्तर निगरानी केन्द्रका प्रमुख गोविन्दप्रसाद लामिछानेले जानकारी दिए । पर्टिकुलेट म्याटर २.५ का धुलोका कण सजिलै स्वासको माध्यमबाट फोक्सो हुँदै रक्तनलीसम्म पुग्ने गर्छ ।

सोमबार साँझ ५ बनेसम्म रत्नपार्क बाहेक दाङ, सौराहा र नेपालगञ्जमा समेत प्रदूषणको स्तरले खतरा तह नाघिसकेको छ । केन्द्रका अनुसार तिहारपछि हरेक दिन काठमाडौंको लगायत यी ठाउँमा वायु प्रदूषणले मापदण्ड नाघ्दै आएको छ । तिहारपछि केही ठूला धुलाका कण युक्त वायुको अवस्था मापदण्डभित्रै रहेपनि साना कणका धुलोको मात्रा बढी भएको लामिछानेले जानकारी दिए । गाडीको धुवाँधुलो, सुर्तिजन्य पदार्थ लगायतबाट निस्कने पीएम २.५ भन्दा साना धुलाका कणले रुघा लाग्ने, नाकबाट निरन्तर सिगान बग्ने, सास फेर्नमा समस्या हुने जानकारहरु बताउँछन् ।

दिल्लीको प्राणघातक वायुको असर कति ?

भारतको राजधानी नयाँ दिल्लीमा आइतबार वायु प्रदूषणको अवस्था भयानक अवस्था नाघिसकेको छ । त्यहाँ तोकिएको मापदण्ड भन्दा १३ गुणाले प्रदूषण बढेको त्यहाँको दिल्ली सरकारले जनाएको छ । श्वासप्रश्वास सम्बन्धी समस्या आउन सक्ने भन्दै दिल्ली सरकारले सर्वसाधारणलाई घर भित्रै रहन भनेको छ । मुख्यमन्त्री केजरिवालले यस्तो अवस्थालाई विश्लेषण गर्दै दिल्लीलाई ‘ग्यास चेम्बर’को उपमा दिएका छन् । वायु प्रदूषणकै कारण विद्यालयहरु बन्द गरिएका छन् । भिजिविलिटी समेत नदेखिएको भन्दै आइतबार मात्रै ३० वटा उडान डाइभर्ट गरिएको थियो ।

वातावरण स्वास्थ्य विज्ञ डा यादवलाल जोशी दिल्लीको खतरनाक प्रदूषणको असर नेपालमा पनि पर्नसक्ने बताउँछन् । उनले काठमाडौंमा पनि घरभित्र बस्नेहरुलाई प्रदूषणको असर कम हुने भन्दै सडकमा बसेर व्यापार गर्नेहरु यसको बढी शिकार हुने बताउँछन् । काठमाडौंको भौगोलिक अवस्थितिका कारण यो ठाउँ वातावरण प्रदूषणको लागि झनै जोखिमयुक्त रहेको उनले बताए । साना हावाका कणहरुले प्रत्यक्ष वा परोक्ष रुपमा काठमाडौंबासीलाई पनि असर गर्ने जोशीले जानकारी दिए ।

चिसो हावाका कारण जोखिम बढी

डा. जोशीका अनुसार काठमाडौंको वातावरण चिसो भएका कारण पनि यहाँ वायु प्रदूषणको जोखिम बढी हुन्छ । वायुसञ्चरणको नियम अनुसार तातो हावा उडेर माथि जान्छ भने चिसो हावाले हाम्रो वायुमण्डललाई ढाकेको हुन्छ । काठमाडौंको मौसम चिसो भएकोले सहजै हावा उडेर माथि जान सक्दैन र प्रदूषित हावाले नै बढी वायुमण्डल ढाकेको हुन्छ ।

‘काठमाडौं उपत्यका एउटा बन्द शहर हो’ जोशीले भने ‘चारैतिर पहाडले ढाकेको देख्दा हावा सहजै सञ्चरण हुन नसकेका कारण पनि काठमाडौंमा प्रदूषणको जोखिम बढी हुन्छ । काठमाडौंमा यातायातका साधनहरु धेरै भएको, मान्छेको बसोबास पनि धेरै भएको, इट्टाभट्टा र उद्योगधन्दाहरु समेत रहेकाले काठमाडौं वायुप्रदूषणको लागि जोखिमपूर्ण छ । त्यसैले २.५ पीएमको धुलाका कणहरु ४० माइक्रोग्राम प्रति घनमिटरभन्दा बढी हुनु खतरनाक हुने जानकारहरु बताउँछन् ।

कुन् क्षेत्रका कस्तालाई जोखिम ?

जोशी वायु प्रदूषणको धेरै असर काठमाडौंमा पनि रत्नपार्क, कलंकी, चावहिल, वानेश्वर जस्ता ठाउँमा बस्नेलाई गर्ने बताउँछन् । ती क्षेत्रमा सवारी चापका कारण साना कणका प्रदूषित धुलोहरु उनीहरुको शरीरमा धेरै प्रवेश गर्ने गर्दछ । जसका कारण अरुको तुलनामा उनीहरुमा स्वास्थ्य जोखिम बढ्ने गरेको छ । उनी भन्छन् ‘ती क्षेत्रका फुटपाथमा बसेर व्यापार व्यवसाय गर्नेहरुलाई धेरै जोखिम हुने देखिन्छ ।’

वायु प्रदूषणका कारण यस्ता सबैभन्दा धेरै श्वासप्रश्वासका बिरामीहरु हुने गर्छन् । त्यसमध्ये पनि बुढाबुुढी मानिसहरु, बच्चाहरु र गर्भवती महिलाहरु प्रदूषणका कारण धेरै बिरामी हुन्छन् । प्रदूषणका कारण मानिसहरुमा ब्लड प्रेसर, तनाव बढेर जाने, खिन्नता, मानसिक रोगहरु बढ्ने जस्ता समस्या हुने गर्छ । डा. जोशीका अनुसार मुटु सम्बन्धी रोग कार्डियो भस्कुलर डिजिट बढ्ने, नाक, कान र घाँटीको समस्या हुने जस्ता समस्याहरु यसमा देखिने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment