Comments Add Comment

सयपत्री गोल्डकप भोलिदेखि, विजेतालाई २ लाख

१८ कात्तिक, बुटवल । बुटवलमा मंगलबार सुरु हुने सयपत्री गोल्डकपको तयारी पूरा भएको छ । बुटवल १० रामनगरको खेल मैदानमा हुने खेलको सम्पुर्ण तयारी पूरा भएको आयोजक सयपत्री युवा क्लबले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

कात्तिक १९ गतेदेखि स्व. ज्ञानबहादुर गुरुङको स्मृतिमा चौथो सयपत्री गोल्डकप नकआउट फुटबल प्रतियोगिता सञ्चालन गर्न लागेको अध्यक्ष कमल रानाले बताए ।

प्रतियोगितामा आयोजक सयपत्री युवाक्लव सहित नवलपरासी ११, पाल्पा ११, फर्साटिकर यृवा क्लव, पाँच नम्बर प्रदेश प्रहरी तालिम केन्द्र, अभिषेक चर्च ब्वाइज रजहर, सुनौलो संगम युवाक्लव देवीनगर, लिस्नु युवा क्लव कोटिहवा, चितवन ११, स्रिम्रिक युवा क्लव कालिकानगर, सिद्धार्थ युवा क्लब बासगढी, भैरव देशभक्त युवा क्लब नवलपरासी गरी १२ टिमको सहभागिता रहनेछ ।

प्रतियोगितामा विजेता हुने टिमले २ लाख २ हजार २ सय २२ र उपविजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगितामा सर्वोत्कृष्ट एक जना खेलाडीलाई १० हजार रुपैयाँले पुरस्कृत गरिने आयोजकले बताएको छ ।

प्रतियोगिता गर्न १५ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ । खेल अवलोकनमा वृद्धवृद्धा, महिला, असक्त, बालबालिका र स्थानीय रामनगरवासीको लागी भने कुनै शुल्क लाग्ने छैन । प्रतियोगिताको एक कार्यक्रमका बीच सामाजिक विकासमन्त्री सुदर्शन बरालले उद्घाटन गर्नेछन् ।

उद्घाटन खेल आयोजक सयपत्री युवा क्लब र नवलपरासी ११ बीच दिनको ३ बजे सुरु हुनेछ । फाइनल खेल कात्तिक ३० गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment