Comments Add Comment

चिकित्सा शिक्षा आयोगको निर्देशकमा आवेदन आह्वान

१९ कात्तिक, चिकित्सा शिक्षा आयोगको निर्देशक पदमा आवेदन आह्वान गरिएको छ । सिफारिस समितिले बुधबार पत्रिकामा सूचना प्रकाशित गरी योग्यता पुगेकाहरुबाट निर्देशक पदमा आवेदन माग गरेको हो ।

इच्छुक व्यक्तिले ५०० शब्दमा नबढाई आफ्नो व्यक्तिगत सोच र बायोडाटा राष्ट्रिय योजना आयोगको शिक्षा सचिवालयमा वा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्राविधिक शिक्षा शाखाका कात्तिक २१ गतेभित्र दिनुपर्नेछ ।

आयोगको निर्देशकका लागि सम्बन्धित काममा १५ वर्षको अनुभवप्राप्त प्राध्यापक वा नेपाल सरकारको विशिष्ट श्रेणीको पदमा अनुभव भएको, उत्कृष्ट व्यवस्थापकीय सीप तथा कौशल, स्वच्छ छवि र व्यवसायिकता भएको व्यक्ति नियुक्ति गर्ने व्यवस्था छ । निर्देशकको नाम आयोगको उपाध्यक्षसामु सिफारिस गर्न प्रधानमन्त्रीले राष्ट्रिय योजना आयोगका सदस्यको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेकाछन् ।

चिकित्सा शिक्षा आयोगलाई पूर्णता

सरकारले चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिएको छ । आयोगका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले मनोनयन गर्नुपर्ने सदस्यहरु नियुक्त गरेपछि आयोगले पूर्णता पाएको हो ।
प्रधानमन्त्री ओलीले नागरिक समाजको लब्ध प्रतिष्ठित व्यक्तिमध्येबाट डा. रमेशकान्त अधिकारी र डा. गीता गुरुङलाई आयोगको सदस्यमा नियुक्त गरेका छन् ।

चिकित्सा शिक्षाका विज्ञमध्येबाट डा. दिव्यासिंह शाह, प्रा. डा. शैली प्रधान र प्रा. डा. जगदिश अग्रवाल नियुक्त भएका छन् । साह प्रधानमन्त्री ओलीका निजी चिकित्सक हुन् ।

आयोगमा चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन भएका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिमध्येबाट त्रिभुवन विश्वविद्यालय, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति सदस्यमा मनोनित गरिएको छ ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ अनुसार चिकित्सा शिक्षा आयोगको अध्यक्ष प्रधानमन्त्री, शिक्षा र स्वास्थ्य मन्त्री सहअध्यक्ष हुने व्यवस्था छ । उपाध्यक्षमा सरकारले श्रीकृष्ण गिरीलाई यसअघि नै नियुक्त गरिसकेको छ ।

आयोगको सदस्यहरुमा राष्ट्रिय योजना आयोगको शिक्षा तथा स्वास्थ्य हेर्ने सदस्य, शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिव, विश्वविद्यालय अनुदान आयोगका सदस्य, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी)का उपाध्यक्ष पनि रहने व्यवस्था छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद, नेपाल नर्सिङ संघ, नेपाल स्वास्थ्य व्यवसायी परिषद, नेपाल फार्मेसी काउन्सिलका अध्यक्ष पनि आयोगको सदस्य रहनेछन् । त्यस्तै नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एसोसिएसन, निजी मेडिकल र डेन्टल कलेज सञ्चालकहरुको राष्ट्रियस्तरको आधिकारिक संगठनका अध्यक्ष पनि आयोगको सदस्य रहने व्यवस्था ऐनमा गरिएको छ ।

मेडिकल र डेन्टलबाहेकका निजी शिक्षण संस्था सञ्चालकहरुको राष्ट्रियस्तरको आधिकारिक संगठनका अध्यक्ष र स्वास्थ्य सम्बन्धी राष्ट्रिय तहका मेडिकल तथा नर्सिङलगायतका आधिकारिक पेशागत संगठनका अध्यक्षहरु मध्येबाट कम्तीमा एक जना महिलासहित २ जना पनि सदस्य रहने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment