Comments Add Comment

कोरम नपुगेर बैठक स्थगनपछि अर्थ समितिमा भत्ताको चर्चा

१९ कात्तिक, काठमाडौं । प्रतिनिधिसभा अर्थ समितिको मंगलबार ११ बजेलाई डाकिएको थियो । केही सांसद ११ बजे अगाडी नै बैठकस्थलमा पुगे । तर, करिब डेढ घण्टासम्म प्रतिक्षा गर्दा पनि आवश्यक कोरम पुग्न नसकेपछि वैठक स्थगित गरियो ।

मंगलबार नागरिक लगानी कोष ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफलको कार्यसूची रहेको थियो । सांसदहरुलाई निकै बेर कुरिसकेपछि व्यवसायी पृष्ठभूमिका सांसद मोतिलाल दुगडले अनौपचारिक छलफलका क्रममा एक सवाल उठाए । उनको सवाल उद्धृत  गर्दै अर्की सांसद प्रमिला राईले सोधिन्, ‘सभापतिज्यू, स्थगित हुने समितिको बैठकमा उपस्थित सांसदको ‘भ्यालू’ के हुन्छ ?’

करिब डेढ घण्टा चिया गफमै खेर गइसकेको समयतर्फ इंगित गर्दै दुगडले सोधेको प्रश्नलाई सांसद सुरेन्द्र पाण्डेले ‘भत्ता’मा लगेर जोडिदिए ।

‘ए तपाईले भत्ता पाइन्छ की नाइ भनेर सोध्न खोज्नु भएको ?’ उनले भने । दुगडले जवाफ दिए, ‘तपाई भत्तै बुझ्नुहोस, तर बिनाकारबाही स्थगित हुने बैठकमा हाम्रो उपस्थितिको मतलव के हुन्छ ?’

त्यसपछि बहस बैठक भत्तातर्फ नै मोडियो । अर्थ समिति सभापति कृष्णप्रसाद दाहालले उपस्थित सांसदको हाजिरी हुने भए पनि भत्ता आउँछ/आउँदैन, आफूलाई थाहा नभएको बताए ।

बैठक स्थगित भएपछि हलबाहिर निस्किएर पाण्डेले दुगड बैठकमा कम उपस्थित हुने भएकाले आज उपस्थितिको मूल्य खोजेको भन्दै आफूले जानाजान भत्ताको विषय उठाइदिएको प्रतिक्रिया दिए ।

सांसद रामकुमारी झाँक्रीले भने सफा नियतबाट सांसद दुगडले समयको मूल्य खोजेको भन्दै जबर्जस्ती भत्ताको विषय उठाउनु गलत भएको बताइन् ।

उनले पाण्डेलाई भनिन्, ‘तपाईंले भत्ताको विषय उठाउनु नै हुन्थेन, किनकी बैठकमा उपस्थित भएर डेढ घण्टा सम्म कुरेको समयको मतलव त खोज्छ नी मन्छेले ।’

पाण्डे, झाँक्री र दुगड तीनैजना नेकपाका सांसद हुन् । दुगड एक व्यवसायी पनि हुन् । तर, सुरेन्द्र पाण्डेले भनेजस्तै उनी समितिमा कम उपस्थित हुने सांसदभित्र भने पर्दैनन् । अर्थ समितिको वाषिर्क प्रतिवेदन २०७६ अनुसार ४ जेठ २०७६ सम्म अर्थ समितिका कूल ४६ वटा बैठक बसेका छन् । त्यसमध्ये दुगड १८ पटक समितिको बैठकमा उपस्थित छन् ।

दुगडभन्दा कम उपस्थिति मूख्य पेशा नै राजनीति भएका सांसदको देखिन्छ । अर्थसमितिमा दुगडभन्दा कम उपस्थित हुने सांसदमा विष्णु पौडेल, शशांक कोइराला, विजय गच्छदारजस्ता दिग्गज नेता छन् ।

गच्छदार मात्र २ पटक समिति बैठकमा उपस्थित भएका छन् । शशांक कोइराला ३ पटक मात्र पुगेका छन् । विष्णु पौडेल १४ पटक उपस्थित छन् । किशोरसिंह रौठौर मात्र ९ पटक उपस्थित भएको रेकर्ड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment