Comments Add Comment

तेलंगनामा राजस्व कार्यालयका कर्मचारीलाई जिउँदै जलाइयो

१९ कात्तिक, काठमाडौं । भारतको तेलंगनामा सम्पत्ति विवादको विषयलाई लिएर राजस्व कार्यालयमा कार्यरत एक महिला अधिकारीलाई उनकै कार्यालयमा जिउँदै जलाएर हत्या गरिएको छ ।

सोमबार भएको आक्रमणमा राजस्व कार्यालयकी अधिकृत विजया रेड्डीको घटनास्थलमै मृत्यु भएको पुष्टि स्थानीय प्रहरीले गरेको बीबीसीले जनाएको छ ।

कार्यालयमा सँगै काम गर्ने एक कर्मचारीले महिला अधिकारी रेड्डीलाई बचाउन कोशिस गरे पनि उनको उपचारको क्रममा मंगलबार मृत्यु भएको छ ।

घटनासम्बन्धी सार्वजनिक भिडियोमा जलिरहेकी विजयाले आफूलाई बचाउनका लागि सहयोग मागिरहेकी छन् र एक व्यक्तिले उनलाई बचाउनका लागि कम्बल फ्याँकेको देखिन्छ । प्रहरीले आरोपितलाई हिरासतमा लिइसकेको जनाएको छ । यस घटनामा आरोपितसमेत जलेका छन् ।

दिउँसो साढे दुई बजे रेड्डी कार्यालयमा एक व्यक्तिलाई भेट्दै थिइन् । प्रहरीका अनुसार उनलाई भेट्ने व्यक्तिको नाम सुरेश हो । रेड्डीलाई बचाउने प्रयासमा दुई कर्मचारी चन्देरिया र गुरुनाथम पनि घाइते भएका छन् ।

गुरुनाथमले भनिन्, रेड्डीको कार्यकक्षबाट चिच्याएको आवाज सुनेँ तर ढोका भित्रबाट बन्द भएको पाएँ । उनको मृत्यु हुनु अघि गुरुनाथमले भनेकी छन,’उनी ढोका खोल्न सफल भइन् र बाहिर आइन् । हामीले उनलाई सुरेशबाट टाढा लैजाने कोशिस गर्‍यौं । उनी भुइँमा लडिन् र हामीले महसुस गर्‍यौं उनको जताततै आगो फैलिसकेको थियो ।’

आगलागीका कारण घाइते भए पनि सुरेश घटना स्थलबाट भागेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । प्रहरीले उनलाई सडकबाट नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल पुर्‍याएको थियो ।

घटना राज्यको राजधानी हैदराबादबाट ३२ किलोमिटर दुरीमा रहेको अब्दुल्लापुरमेटमा भएको थियो।

प्रहरी कमिश्नर महेश भगतले सञ्चारकर्मीलाई भने, ‘हामीले अनुसन्धान गरिरहेका छौं, यस घटनामा संलग्न व्यक्ति स्वयंले यो घटना गराएको हो कि अरूले नै उनलाई यो घटना गराउनका लागि सहयोग गरेको थियो ।’

नजिकैको गाउँमा बस्दै आएका सुरेश र उसको परिवारबीच सम्पत्तीको विषयलाई लिएर अदालतमा मुद्दा चलिरहेको थियो । सुरेशका बुबा कृष्णले सञ्चारमाध्यमलाई भने, ‘जग्गाको विवादमा हाम्रो मुद्दा चलिरहेको छ । सुरेश अधिकारीलाई भेट्न किन गयो भन्नेबारेमा हामीलाई थाहा छैन ।’

तेलंगानाको राजस्व कर्मचारी संगठनले घटनाको विरोधमा तीन दिनसम्म काम बहिष्कार गर्ने जनाएको छ। संगमामका अध्यक्ष रविन्द्र रेड्डी वंगाले भने, ‘यो अत्यन्त दुर्भाग्यपूर्ण छ कि सरकारी कार्यालयमा यस्तो घटना भएको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment