Comments Add Comment

सडकले नदी किनारको माझी बस्ती संकटमा

२० कात्तिक, रामेछाप । सडक खन्दा निस्किएको ढुंगा-माटो नदीमा फाल्दा नदी किनारका बस्तीका बासिन्दाहरुको जीवन संकटमा परेका छन् ।

मध्य पहाडी लोकमार्ग निर्माणको क्रममा सुनकोसी नदीमा ढुंगा माटो मिल्काउँदा नदी किनारका बस्तीका बासिन्दाहरुको जीवन जोखिममा परेको हो ।

राष्ट्रिय महत्वको लोकमार्गको रुपमा रहेको मध्य पहाडी मार्गको नेपालथोकदेखि बेनीसम्मको ४० किलोमिटर सडक रामेछाप जिल्लामा पर्दछ ।

सडक खन्दा ढुंगामाटो सुनकोसी नदीमा खसालिएको छ । जसले गर्दा खाँडादेवी गाउँपालिकाको सुनकोसी नदी किनारका लुभ, बेलघारी, सित्खा, डप्कालगायतका बस्तीका बासिन्दाहरुको जीवन जोखिाममा परेका खाँडादेवी गाउँ कार्यपालिका सदस्यसमेत रहेका सम्बरबहादुर माझीले बताए ।

यो क्षेत्रमा खाँडादेवी गाउँपालिकाको वडा नं १, २, ३ र ४ का माझी बस्तीहरु पर्दछन् । माझी समुदाय नेपालको आदिवासी सीमान्तकृत समुदाय हो ।

नदीमा माटो फाल्दा सुनकोसी नदी किनारमा माटो जम्मा भएको छ । सुनकोसीका कतिपय ठूलाठूला तालहरु समेत पुरिएको रामेछापका पूर्वसांसद एवं भूगोलविद देवशंकर पौडेल बताउँछन् । यसले गर्दा सुनकोसी नदीको सतह उक्सिएर नदी किनारका बस्तीहरुमा क्षति पुर्‍याउने खतरा बढेको उनले बताए । दहहरु पुरिदा नदीमा रहेका जीवसमेत नष्ट भएको उनको भनाइ छ ।

सडकको माथिबाट ढुंगा माटो फाल्दा नदी मात्र पुरिएको छैन सडकमुनि रहेका निदी किनारका बोटविरुवा समेत नष्ट भएर मरेका छन् ।

रामेछाप जिल्लाको सुनकोसी किनारको दक्षिण फर्किएको भाग आफैमा सुक्खाग्रस्त छ । त्यही सुक्खा भूमिमा भएका केही बिरुवासमेत सडक खन्दा जथाभावि फाएकिो ढुंगा माटोले सबै मरेका छन् । सडक मुनिको क्षेत्र अहिले मरुभूमि जस्तै बनकोे छ ।

ठूला संरचनाहरु बनाउँदा वातावरणको संरक्षणको कामसँगै गर्नु पर्नेमा भएका बोटबिरुवा समेत नष्ट गरिनु दुःखद भएको पौडेल बताउँछन् । यो कार्यलाई सरकारले तत्काल रोक्नु पर्ने उनको भनाइ छ ।

नेपालको संविधान २०७२ को मौलिक हकमा नै स्वच्छ वातावरणको हक प्रदान गरिएको छ । संविधानको धारा ३० को उपधारा १ प्रत्यक नागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने हक हुने छ भन्ने व्यवस्था गरिएको छ । जंगल र नदीमा क्षति पुग्दा स्थानीयको स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार समेत खोसिएको छ ।

सडक खन्ने क्रममा जथाभावि माटो फल्दा सो क्षेत्रका बोट विरुवाका साथै ऐतिहासिक स्थलहरु समेत प्रभावित भएको खाँडादेवी गाउँपालिका-१ का वडाअध्यक्ष विष्णुकुमार श्रेष्ठ बताउँछन् ।

बाटो खन्ने क्रममा राकाथुममा रहेको ऐतिहासिक विश्वमित्र गुफासमेत पुरिएको श्रेष्ठले बताए ।

गुफाको छेउमा थुपारिएको माटो सफा गरिदिने ठेकदार कम्पनीले बचन दिएको उनले बताए । तर, अन्य क्षेत्रमा भने सडक खन्दा बोट बिरुवाहरुमा निक्कै क्षति भएको उनले बताए ।

यस विषयमा गाउँपालिका मार्फत ठेकेदार कम्पनी र सरोकारवाला निकायमा कुरा राख्ने पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment