Comments Add Comment

पैसाका लागि सहकर्मीबाटै छोराको अपहरण

फिरौती लिन आउँदा प्रहरीको फन्दामा

२० कात्तिक, वीरगञ्ज । काभ्रेको बनेपाबाट १४ बर्षीय बालकको अपहरण गर्ने व्यक्ति बुवाकै सहकर्मी रहेको तथ्य खुलेको छ । बालकका बुवा वीरगञ्ज महानगरपालिका वडा नं २५ सिर्सिया खाल्वाटोला घर भई काभ्रेको बनेपामा बस्दै आएका अम्जद मियाँ धोवीले अपहरणकारी सहकर्मी नै भएको दाबी गरेका हुन् ।

दुई वर्ष पहिलेसँगै काम गरेका पर्साकै फिरोज नाम गरेका युवकले छोराको अपहरण गरेको अम्जदले बताएका हुन् । झण्डै २० वर्षदेखि काठमाडौंमा राज मिस्त्रीको काम गर्दै आएका अम्जदले फिरोजलाई आफूले नै काम गर्न सिकाएको दाबी गरेका छन् । तर प्रहरीले यो समाचार तयार पार्दासम्म फिरोजलाई पक्राउ गरेको छैन । अम्जद र पक्राउ परेका अपहरणकारीको बयान लिन बाँकी रहेकोले यो कुरा पुष्टि भई नसकेको प्रहरी स्रोतले बताएको छ ।

तीन अपहरणकारी मध्ये एक पक्राउ

बालक अपहरणमा संलग्न मध्ये एक पोखरिया नगरपालिका वडा नं ६ बस्ने जोख्खु दासको छोरा २० बर्षीय राजकुमार दासलाई प्रहरीले बिहान गोली हानेर नियन्त्रणमा लिएको थियो । फिरौती लिन आएको समयमा वीरगञ्ज–२५ सिर्सिया खाल्वाटोलामै प्रहरीले राजकुमारलाई नियन्त्रणमा लिएको हो ।

यो पनि पढ्नुहोस गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

घटनाबारे जानकारी दिन जिल्ला प्रहरी कार्यालय पर्सामा बिहान राखिएको पत्रकार सम्मेलनमा डीएसपी गौतम थापाले राजकुमारलाई एक राउण्ड गोली प्रहार गरेर नियन्त्रणमा लिएको बताए ।

‘फिरौति लिन आउने क्रममा राजकुमारले बालकको बुवालाई पेस्तोल देखाइ झोला खोसेर भाग्न खोजेका थिए, नियन्त्रणमा लिन एक राउण्ड गोली चलाउनु पर्‍यो ।’ उनले भने ‘बालकको सकुशल उद्दार भएको छ ।’ दाहिने खुट्टाको घुँडा मुनिको भागमा गोली लागेका राजकुमारको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

प्रारम्भीक अनुसन्धानका क्रममा अपहरणमा थप दुईजनाको संलग्नता देखिएको प्रहरीको भनाइ छ । राजकुमारको साथबाट कटुवा पेस्तोल १ थान, चेम्बरमा लोड गरिएको गोली १ थान, पाइन्टको खल्तीबाट बरामद पेस्तोलमै प्रयोग हुने ४ थान गोली, ब्लुटुथ इयरफोनसहितको मोबाइल १ थान र झोला बरामद गरेको प्रहरीले जनाएको छ ।

अम्जदका छोरा गत कात्तिक १० गते पर्सास्थित घर आउने क्रममा अचानक बेपत्ता भएका थिए । बालकले नै प्रयोग गर्ने मोबाइल नम्बरबाट अपहरित बालकको बुबासँग १२ लाख रुपैयाँ फिरौती माग आएपछि अपहरणमा परेको पुष्टि भयो । फिरौती नदिए बालकको हत्या समेत गर्ने धम्की बारम्बार फोन मार्फत आइरहेको थियो । त्यसपछि अम्जद पैसा दिन राजी भएका थिए ।

बुधबार बिहान ०१M१५ बजेतिर बिआर २२ जे ०८०३ भारतीय नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ अम्जदसँग फिरौती लिन आएको समयमा प्रहरीले गोली हानेर राजकुमारलाई नियन्त्रणमा लिएको थियो ।

भारतबाट बालकको सकुशल उद्दार

गोली लागेर घाइते भएकाराजकुमारले नै प्रहरीलाई बालक लुकाएको ठाउँका बारेमा जानकारी दिएका थिए । भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले भारतबाट बालकको सकुशल उद्दार गरेर ल्याएको छ । प्रहरीले सुरक्षा संवेदनशीलताको कारण देखाउँदै बालकको उद्दार गरेको ठाउँको बारेमा जानकारी दिएन ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले राजकुमारले दिएको जानकारीकै आधारमा बालकलाई भारतबाट उद्दार गरिएको बताए ।

‘नेपाल प्रहरी र अभिभावकलाई लिन पठाएर बालकलाई भारतीय प्रहरीको सहयोगमा उद्धार गरेर ल्याएका हौं । उताबाट अभिभावकको जिम्मा लगाएर पठाएका छन् ।’  एसपी राठौरले भने ‘ ‘कहाँ कहाँ राखियो, के के गरियो ? नेपालमै राखियो कि भारतमा ? भारतमा कतिपटक लगियो ? आदीबारे अनुसन्धान गरिरहेका छौं ।’

अम्जद भन्छन – शुरुमा १५ लाख फिरौती मागे, पछि १२ लाखमा झरे 

बालकका बुवा अम्जदका अनुसार कात्तिक ९ गते शनिबार मोटरसाइकल ग्यारेजमा काम गर्ने छोराको छुट्टी थियो । उनी आफ्नो काममा बिहान पाँच बजे नै निस्किएका थिए । छोराले खाना बनाइहाल्छ भन्ने लागेर अरु दिन खाना बनाउन भन्ने गरेको भएपनि त्यसदिन फोन नगरी बसे ।

बिहानको १० बजे खाना खाने समय मिल्छ, कोठमा पुग्दा खाना त छैन छैन, छोरा पनि छैन । फोन गरे । छोराको मोबाइल फोन स्वीच अफ छ । उनलाई यताउति घुम्न गयो होला भन्ने लाग्यो, काममा फर्किए । आइतबार घर फर्कने तयारीमा रहेका उनले पानस बसको टिकट लिइसकेको थिए ।

आइतबार साँझ बस चढ्न भनी निस्कँदै थिएँ । पौने ६ बजेतिर छोराकै मोबाइलबाट फोन आयो । ‘तेरो छोरालाई अपरहण गरेको छु,। छोरा चाहिन्छ भने १५ लाख दिनु, नत्र मारिदिन्छु ।’  उनी भन्छन् ‘गरिब मान्छे १ लाख त देखेको छैन १५ लाख कहाँबाट ल्याउने ? ’ म त्यसै बसें ।

अपहरणकारीको सोमबार र मंगलबार फोन आएन । बुधबार फेरि फोन आयो । ‘तेरो छोराको ज्यान प्यारो छैन कि के हो ? ’ अम्जद भन्छन् ‘मैले मसँग १५ लाख पैसा छैन भनेर जवाफ दिएपछि १५ लाख भन्दा कम हुन्न भन्दै फोन काट्यो ।’

फेरि बिहीबार फोन आयो, मैले पैसा नभएकै कुरा दोहोर्‍याएँ । उताबाट १२ लाख भन्दा १२ पैसा पनि कम हुन्न, १२ लाख नदिए तेरो छोरालाई मारिदिन्छु भन्ने धम्की आयो । त्यसपछि मैले बनेपा चौकीमा गएर निवेदन लेखाएँ, उनीहरुले अपराध अनुसन्धान महाशाखामा जान सुझाव दिएपछि मैले त्यसै गरेँ ।

प्रहरीले कहाँबाट फोन गरेको रहेछ भनेर फोन ट्रयाकिङ गर्न सुरु र्‍यो । फोन आएको ठाउँ पर्साको भिश्वा बजार देखायो । म पर्सा आएँ । उसले अर्को एक ठाउँमा बोलायो, म त्यहाँ गएर पैसाको झोला समेत राखें तर नआएपछि रिसले झोला लिएर फर्कें । सिर्सिया खाल्वाटोलामा आइपुग्दा मोटरसाइकलमा आएर उसले पछाडिबाट झोला तान्न थाल्यो । त्यही समयमा ड्याम्म गोली चलेको आवाज आयो म ढलें, त्यसपछि के भयो थाहा छैन । होस आउँदा प्रहरीले उसलाई नियन्त्रणमा लिइसकेको रहेछ । सञ्चारकर्मीसँगको कुराकानीमा उनले मोटरसाइकलमा दुईजना रहेको समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment