Comments Add Comment

आलमको बयान दोस्रो दिन पनि जारी

२० कात्तिक, रौतहट । राजपुर बमकाण्डको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता मोहमद अफताब आलमको बयान दोस्रो दिन बुधबार पनि जारी छ । जिल्ला अदालत रौतहटको चार नम्बर इजलासमा आलमको बयान जारी रहेको हो ।

न्यायाधीश दिपक ढकालको इजलाशमा आलमलाई मिसिल अनुसार प्रश्न सोध्ने र त्यसको जवाफ लिने कार्य भइरहेको सरकारी वकिल खडिन्द्रराज कटुवालले बताए ।

कटुवालका अनुसार ८७८ पानाको मिसिलमा भएका प्रश्नहरु सोध्दा निकै समय लाग्ने भएकाले बुधबार आलमको थुनछेक बहस हुने सम्भावना न्यून छ ।

‘आजको स्थिति हेर्दा बयानसम्म समाप्त हुन्छ होला’, उनले भने, ‘बयान सकिएपछि मात्रै थुनछेक बहस हुनेछ ।’

मंगलबार मुख्य घटना सम्बन्धी प्रश्न सोध्न नपाउँदै समय समाप्त भएपछि आलमलाई पुनः बयानका लागि अदालत लगिएको थियो ।

यसैगरी पीडितवादीतर्फबाट बहसका लागि पूर्व महान्यायधिवक्ता डा. युवराज संग्रौलासहित अधिवक्ता पुष्पराज पौडेल, आशिकराम कार्की रौतहटमा छन् भने अधिवक्ता गोविन्द शर्मा बन्दी र ओम प्रकाश अर्याल पनि आउँदै गरेको जनाइएको छ ।

प्रतिवादीतर्फबाट बहस गर्न कानून व्यवसायी आए पनि वकालतनामा गर्न बाँकी रहेको जिल्ला अदालत रौतहटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment