Comments Add Comment

जाडोमा बदाम : कति स्वादिलो, कति पोषिलो ?

मौसमले बर्खा सकिएको जनाउ दिएपछि कुटो बोकेर गाउँले किसानहरु बदाम खन्न जान्छन् । पानी पनि नचाहिने पाखा बारीमा लगाइने फल हो बदाम । यसले बारीमा अरु फल लगाउन कुनै बाधा पुर्‍याउँदैन । यो खानमा मिठो र पौष्टिक युक्त मात्रै नभएर यसको बिरुवाहरु गाईबस्तुलाई दिन पनि उपयोगी हुने भएकोले यो केवल जरामा फल्ने फल मात्र नभएर सबै उपयोगी हुने गर्छ ।

सामान्यतयाः बदाम उपोष्ण प्रदेशमा फल्ने एक किसिमको कोसेबाली हो । वर्षायाममा या वर्षा सुरु हुनुभन्दा पहिले यो लगाउने गरिन्छ । यो पहाडी भेगहरुमा जेठ एवं असार महिनातिर लगाइन्छ । अन्यत्र यो चैत बैशाखदेखि नै लगाउने गरिन्छ । बदामको राम्रो उत्पादनका लगि उष्ण तापक्रम तथा ५०० देखि ६०० मिलिमिटर वर्षाको आवश्यकता पर्छ । सामान्यतया, वर्षायाममा बदाम रोपिने हुँदा यसलाई बर्खे बालीका रूपमा चिनिन्छ ।

स्वाद र सन्तुष्टि

स्वादिलो र पौष्टिक दुवै हुने बदाम नेपालमा धेरै लोकपि्रय खानेकुराको रुपमा चिनिन्छ । तिहार पर्वमा विशेषगरी दिदीबहिनीले आफ्नो दाजुभाइलाई भाइमसालाको रुपमा बदाम दिने गर्छन् ।

जाडोमा बदाम खाँदा यसले धेरै फाइदा गर्ने भएकाले जाडोयाम सुरु भएसँगै आउने तिहारमा दिदीबहिनीले आफ्नो दाजुभाइलाई बदाम लगाएत अन्य ड्राइ फ्रुट्स भाइमसालाको रुपमा दिने चलन विकास भएको मानिन्छ ।

बदाम लगाएतका ड्राइ फ्रुट्सले शरीरमा गर्माहट बढाउँछन् । त्यसैले जाडोमा बदाम खाँदा हाम्रो शरीरलाई धेरै फाइदा हुन्छ । अन्य ड्राइ फ्रुट्सभन्दा बदाम सस्तो पनि हुने र हाम्रै गाउँठाउँमा खेती हुने भएकाले बदाम सर्वप्रिय पनि छ ।

स्वाद र पौष्टिकताले भरपुर बदामले दिमाग तेज बनाउने मात्रै नभई मुटुलाई पनि तन्दुरुस्त राख्छ । यसको तेल पनि स्वास्थ्यको लागि धेरै फाइदाकारी छ ।

यसमा मिनरल्स, एन्टीअक्सिडेन्ट्स, भिटामिन बी कम्लेक्स, रिवोफ्लोबिन, थियामिन, भिटामिन बी पनि भरपुर मात्रामा पाइन्छ ।

यस्ता छन् बदाम खानुका ८ फाइदा

१. मधुमेहलाई नियन्त्रणमा राख्छ

नियमित रुपमा दैनिक बदाम खानाले मधुमेह हुने सम्भावना २१ प्रतिशतले कम हुन्छ । बदाममा पाइने म्यागनिज नामक तत्वले ब्लड सुगर लेभललाई नियन्त्रित गर्छ । यसको सेवनले शरीरमा क्याल्सियमको अवशोषणमा मद्धत गर्छ र मेटाबोलिज्म बढाउँछ ।

२. मांसपेसी बढ्छ

यदि तपाइर्ंको शरीर कमजोर छ र बाङ्गोटिङ्गो मांसपेसीले तपाईको लुक खराब गरिरहेको जस्तो लाग्छ भने दैनिक रुपमा भिजाइएको बदाम दूधसँग खानुहोस् । बिस्तारै बिस्तारै तपाईंको मांसपेसी बढ्न थाल्छ र शरीर तन्दूरुस्त देखिन्छ ।

३. क्यान्सरबाट बचाउँछ

बदाममा पाइने एन्टिअक्सिडेन्ट, आइरन, फोलेट क्याल्सियम र जिंकले शरीरलाई क्यान्सर सेलबाट लड्नको लागि मद्दत गर्छ । यसैले बदाम खानाले स्वस्थ हुने मात्रै नभई क्यान्सरबाट बच्न सकिन्छ ।

४. रक्त सञ्चार सही राख्छ

जाडोमा चिसोको कारण हाम्रो ब्लड सर्कुलेसनमा पनि समस्या हुन्छ । जाडोमा बदामको सेवनले शरीरमा गर्माहट ल्याउँछ जुन कारणले ब्लड सर्कुलेसन राम्रो हुन्छ र मुटु स्वस्थ हुन्छ । बदामको नियमित सेवनले हार्ट अट्याक र मुटु सम्बन्धी रोगहरुको खतरा कम हुन्छ ।

५. गर्भवती महिलाहरुको लागि लाभदायक

गर्भवती महिलाहरुको लागि बदाम खानु फाइदाकारी हुन्छ । यसले गर्भमा बढीरहेको बच्चाको विकासको लागि फाइदाकारी हुन्छ ।

६. तौल घटाउँछ

बदाममा फाइबरको भरपुर मात्रा हुन्छ । यो इनर्जीको राम्रो स्रोत पनि हो यसैले बदाम खाँदा खाँदा छिटै भोक लाग्दैन । त्यसैले तौल व्यवस्थापनको लागि बदाम खानुपर्छ ।

७. तनावबाट राहत

डिप्रेशनबाट बच्न र यसको उपचारमा बदामको सेवन राम्रो मानिन्छ । बदाममा टि्रपटोफान नामक एमिनोएसिड हुन्छ जसले मुड सुधार्ने हार्मोन सेरोटोनिनको स्राव बढाउँछ । यसले मुड राम्रो हुन्छ र मन शान्त हुन्छ ।

८. स्मरणशक्ति बढाउँछ

बदाममा पाइने ‘भिटामिन बि’ले दिमागी प्रक्रियालाई तीब्र बनाउँछ । स्मरणशक्ति बढाउँछ । यसको सेवनले दिमाग स्वस्थ र तेज हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment