Comments Add Comment

सेनाले प्राविधिक जनशक्तिलाई पनि दिन थाल्यो सैन्य तालिम

२० कात्तिक, काठमाडौं । नेपाली सेनाको जंगी अड्डाले प्राविधिक जनशक्तिलाई पनि सैन्य तालिम दिन थालेको छ । सम्भवतः सैनिक इतिहासमै पहिलो पटक प्राविधिक जनशक्तिलाई नियमित सैन्य तालिम दिन सुरु गरिएको हो ।

यसअघि सेनाका प्राविधिक जनशक्तिलाई भर्नाको समयमा आधारभूत सैन्य तालिम मात्रै दिइने गरिएको थियो । त्यसपछि ट्रेड (कार्य प्रकृति) अनुसारको तालिम मात्रै हुने सञ्चालन गर्ने गरिएको थियो ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार सैनिक मूल्य र मान्यताको प्रबर्द्धन गर्ने उद्देश्यले ‘सबैभन्दा पहिले हामी सिपाही’ भन्ने नारासहित मंसिर पहिलो साताबाट तालिम सुरु गरिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाकै उपस्थितिमा सुरु भएको तालिम तीन महिनासम्म चल्नेछ ।

यो तालिम सेनाभित्रका हरेक प्राविधिक जनशक्तिलाई प्रदान गरिने उनले बताए । ‘प्राविधिक उपरथीदेखि कार्यालय सहयोगीसम्मलाई विभिन्न चरणमा यो तालिम दिइन्छ’, सहायक रथी पाण्डेले अनलाइनखबरसँग भने, ‘यो तालिम सेनाभित्र रहेका १० हजार बढी जनशक्तिले अनिवार्य रुपमा लिनेछन् ।’

अहिले जारी पहिलो चरणको तालिममा ५ सय बढी सैनिक अधिकृत सहभागी छन् । तालिमका लागि कार्यालय समय बाहिर ७ः३० देखि ९ः३० बजेसम्मको समयलाई तोकिएको छ ।

जंगीअड्डाले यो तालिमलाई ५ चरणमा विभाजन गरेको छ । पहिलो चरणलाई ‘प्रिमिलिट्री’ भनिएको छ, जसमा सिपाहीका लागि चाहिने आधारभूत विषयबारे सिकाइनेछ । दोस्रो चरणको ‘बेसिक सोल्जरिङ’मा हतियार, ड्रिललगायतको विषयमा जानकारी गराइँदैछ ।

अहिले तालिम लिइरहेको टोलीको हतियार सम्बन्धी कक्षा जारी छ । तेस्रो चरणमा ‘नो योर आर्मी’ अन्तरगत सेनाको विभिन्न संरचना र विभागको महत्व र काम, कर्तव्य अधिकारबारे जानकारी गराइनेछ । यही चरणमा फौजका लागि एकअर्काको महत्व र समन्वयको आवश्यकताबारे जानकारी गराइने बताइएको छ ।

चौथोमा ‘नो योर जव’ अन्तरगत सैनिक गुणको विकास, कमाण्ड प्रतिबद्धता, मातहतका विभागको कार्य पहिचान र बजेटको पारदर्शिता जस्ता विषयमा जानकारी गराइँदैछ । अन्तिममा खण्डमा आगामी वर्षको कार्ययोजना तय गरिने सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रधानसेनापति थापाले कार्यकालको एक वर्ष अवधि पुगेको अवसमा विशेष सम्बोधन गर्दै प्राविधिक तथा विधि सेवातर्फका सकलदर्जालाई थप प्रभावकारी बनाउँदै लैजानका लागि विशेष अभियानका रुपमा तालिम थाल्ने घोषणा गरेका थिए ।

जंगी अड्डामा २४ भदौमा थापाले प्राविधिक जनशक्तिलाई सम्बोधन गर्दै भनेका थिए, ‘तपाईंहरुका लागि अबको वर्ष आधार वर्षको निरन्तरता र कार्यान्वयनको वर्ष हुने हुँदा थप मेहनत र उर्जाको अपेक्षा सेनाले गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment