Comments Add Comment

काठमाडौंमा आप्रवासी कामदारको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

आप्रवासी कामदारको अधिकार संरक्षण प्राथमिकतामा छ : मानवअधिकार आयोग

२१ कात्तिक, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले आप्रवासी कामदारहरुको अधिकार संरक्षणलाई प्राथमिकतामा राखेको बताएको छ ।

आयोगले यही कात्तिक २६ देखि २८ गतेसम्म काठमाडौंमा आप्रवासी कामदारको मानवअधिकार संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ । सम्मेलनमा आप्रवासी कामदारहरुको समस्या समाधानको दीर्घकालीन उपायको खोजी गरिनेछ ।

सम्मेलनमा कामदार पठाउने र कामदार लिने मुलुकका प्रतिनिधिहरु सहभागी हुनेछन् । दक्षिण एशिया, एशिया प्रशान्त क्षेत्र, अफ्रिका, दक्षिण अमेरिका र युरोप क्षेत्रका राष्ट्रिय मानवअधिकार संस्थाका प्रमुख तथा आयुक्तहरू पनि सहभागी हुनेछन् ।

गन्तव्य मुलुकका सरकारी निकायका प्रतिनिधिहरू, गैरसरकारी संस्थाका प्रतिनिधिहरू, आप्रवासन क्षेत्रका विज्ञहरू समेत गरी ३० देशका सरोकारवाला पक्ष सहभागी हुने आयोगका सदस्य एवम सम्मेलनका संयोजक सुदीप पाठकले जानकारी दिए ।

उनकाअनुसार अफ्रिकी मुलुकबाट केन्या र मोरक्को, एशियाप्रशान्त मुलुकहरूबाट फिलिपिन्स, मलेशिया, कतार, युनाइटेड अबर इमिरेट्स, बहराइन, थाइल्यान्ड, मंगोलिया, अष्ट्रेलिया, न्युजिल्यान्ड, भारत, बंगलादेश, माल्दिभ्स, श्रीलंका, जर्मन, मोरिसस लगायतका २५ मुलुकहरूको सहभागिता निश्चित भएको छ ।

‘कामदार पठाउने मुलुक, कामदार लिने मुलुक र सम्बन्धित देशका मानवअधिकार आयोगका प्रतिनिधि, कर्मचारी ट्रेड युनियनका प्रतिनिधिको सहभागितामा हुने सम्मेलनले आप्रवासीहरुको अधिकार संरक्षण र समस्या समाधानको दीर्घकालीन उपायको खोजी गर्नेछ’ पाठकले भने ।

कामदार पठाउने मुलुक, कामदार लिने मुलुक र काम गर्ने संस्थाका कारण आप्रवासी कामदाहरुलाई समस्या परेको देखिएको भन्दै उनले कसलाई के समस्या पर्दा आप्रवासी कामदारको अधिकार संरक्षण हुन नसकेको हो ? भनेर सम्मेलनमा खोजीने बताए ।

सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुबाट कार्यपत्रसमेत प्रस्तुत हुने र त्यसमाथि गहन छलफल गरी काठमाडौं घोषणापत्र जारी गरिने जनाइएको छ । ‘आप्रवासी कामदारहरुको मानवअधिकार संरक्षणका विषयमा गहन छलफल, टिप्पणी र सबै सरोकारवालाबाट गरिने प्रतिबद्धता, चुनौती र समस्या समाधानको उपायहरु समेत संलग्न गरी काठमाडौं घोषणापत्र जारी गरिने छ,’ पाठकले भने ।

आयोगले आप्रवासी कामदारहरुको अधिकार संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन दोस्रो पटक आयोजना गर्न लागेको हो । यसअघि सन् २०१२ को नोभेम्बरमा आयोगले काठमाडौंमै आप्रवासी कामदारको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गरेको थियो ।

आयोगका अनुसार ६४ लाख बढी नेपाली विदेशमा छन् । ‘२४ लाख भारतमा र अन्य देशमा ४० लाख नेपाली रहेको अनुमानित तथ्याङ्क छ,’ पाठक भन्छन्, ‘आप्रवासी कामदारको अधिकार संरक्षण हाम्रो प्राथमिकतामा छ,’ आयोगका सदस्य एवम सम्मेलनका संयोजक पाठकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment