Comments Add Comment

छिन्ताङ हत्याकाण्डमा ज्यान गुमाएकाको परिवारलाई जनही ५ लाख दिने निर्णय

२१ कात्तिक, विराटनगर । प्रदेश १ सरकारले पञ्चायतकालमा धनकुटाको छिन्ताङमा मारिएका १६ जनाको परिवारलाई जनही ५ लाख दिने भएको छ ।

प्रदेश-१ सरकारको बिहीबार बसेको मन्त्री परिषद्को बैठकले धनकुटाको खोकु छिन्ताङ घटनामा मारिएका १६ जनाको परिवारलाई राहात स्वरुप पाँच/पाँच लाख रुपैयाँ दिने निर्णय भएको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्म्बोले जानकारी दिए ।

संघीय सरकारले धनकुटाको खोकु छिन्ताङ घटनामा मारिएका १६ जनालाई २८ पुस २०७४ मा सहिद घोषणा गरी पीडित परिवारलाई १०/१० लाख रुपैयाँ राहत प्रदान गरेको थियो ।

कम्युनिस्टको गढ मानिने धनकुटाको छिन्ताङमा २०३६ साल कात्तिक २७ गते प्रहरीले घेरा हालेर १६ जनाको निर्ममतापूर्वक हत्या गरिएको घटना छिन्ताङ हत्याकाण्डका रूपमा परिचित छ।

उक्त घटनामा गोपाल आनन्दी राई, श्रीमाया राई (हांखिमा साइली), भैरवबहादुर खालिङ राई, पुत्रमान राई, गणेशबहादुर विक, टंकबहादुर विक, बलबहादुर खत्री, पेसलमान राई, लाखमान साधु, चन्द्रबहादुर दमाई, धनवीर दर्जी, रणध्वज पुमा राई, गंगबहादुर तुप्रिहाङ, चन्द्रबहादुर तुप्रिहाङ, रामकुमारी राई र झगेन्द राईको हत्या भएको थियो ।

धनकुटाको सहिदभूमि गाउँपालिकाअन्तर्गत छिन्ताङको पञ्चकन्यामा सहिदको स्मृतिमा सहिद पार्क र सहिदका सालिक राखिएका छन् । छिन्ताङमा कम्युनिस्ट कार्यकर्ता मारिँदा मुलुकको प्रधानमन्त्री सूर्यबहादुर थापा थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment