Comments Add Comment

नेपाल अनुपम प्राकृतिक चलचित्र नगरी हो : राष्ट्रपति भण्डारी

२१ कात्तिक, वीरगञ्ज । राष्ट्रपति विद्यादेवी भण्डारीले प्राकृतिक सौन्दर्यताले सुशोभित नेपाल आफैमा अनुपम प्राकृतिक चलचित्र नगरी भएको बताएकी छन् ।

वीरगञ्जको आदर्शनगरमा बिहीबारदेखि सुरु भएको स्वर्णिम चलचित्र महोत्सवको उद्घाटन गर्दै उनले त्यस्तो बताएकी हुन् । ‘नेपाल तराई मधेसको उर्बर समथर भूमि, पहाडका सुन्दर डाँडा र मनमोहक हिमाली श्रृंखला, जैविक विविधता र अपार साँस्कृतिक सम्पदाले भरिपूर्ण छ । यस वैभवतालाई अधिकतम रुपमा सदुपयोग गर्दै अन्तर्राष्ट्रिय जगतलाई आकृष्ट गरी चलचित्र छायंकन गन्तव्यको रुपमा विकास गर्दै जानुपर्छ,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘यसका लागि मनोरम स्थलहरुमा छायांकन स्टुडियोहरु निर्माण गर्न सम्बद्ध पक्ष अग्रसर बन्नुपर्ने आवश्यकता देखिएको मैले महसुस गरेको छु ।’

देशमा लोकतन्त्रको उदय र उदार समाजको विकास भएसँगै विभिन्न जातजाति, भाषा, भेषभुषा, र संगितलाई प्रष्फुटित गर्ने चलचित्रहरु अझ बढी निर्माण हुन थालेका बताउँदै उनले चलचित्रकर्मीहरुले राष्ट्र निर्माणमा योगदान दिनुपर्ने बताइन् ।

यो पनि पढ्नुहोस वीरगन्जमा सुरु भयो चलचित्र महोत्सव

‘चलचित्रमा प्रत्यक्ष रुपमा प्रकट हुने कला, साहित्य र गीत संगितको माध्यमबाट साँस्कृतिक विविधताबीच एकताको बलियो र सुन्दर मालामा उनिएको छ, मौलिक नेपाली समाजको यथार्थ चित्र विश्व सामु प्रदर्शित भइरहेको छ, आधा शताब्दी भन्दा बढी गौरवशाली बहुसाँस्कृतिक, बहुभाषिक र भौगोलिक विविधतालाई उजागर गर्न चलचित्र जगतले भूमिका निर्वाह गरेको छ,’ उनले अगाडी भनिन्,  ‘अन्र्तराष्ट्रिय चलचित्र महोत्सवमा सहभागी भई विश्व स्तरमा स्थापित हुन क्रियाशिल चलचित्र क्षेत्रलाई प्रोत्साहन गर्न सरकार, समुदाय, नीजि क्षेत्र सञ्चार जगत सबैले ध्यान दिनुपर्छ ।’

आफ्नो श्रृजना प्रति गर्व गर्दै चलचित्र रुपी हाम्रा मौलिक सामाजिक, साँस्कृतिक नीधिहरुर्को आधुनिक प्रविधिमा रुपान्तर गरी संरक्षण र संवर्द्धनका लागि सुरक्षित राख्न राष्ट्रपतिले सम्बन्धित पक्षको ध्यानाकर्षण गराइन् ।

‘चलचित्र समाजमा बहुआयामिक प्रभाव पार्ने सशक्त माध्यम भएका हो । समकालिन समाजको यथार्थता उद्घाटित गर्न, उन्नत सामाजिक साँस्कृतिक सन्देश प्रवाह गर्न, दर्शकलाई स्वस्थ मनोरञ्जन प्रदान गर्न भूमिका निर्वाह गर्दै आएको छ,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘देशका गौरव र पहिचानको रुपमा रहेका प्राकृतिक, साँस्कृतिक र पुरातात्विक सम्पदालाई कलाको माध्यबाट सृजनतात्मक रुपमा उतारेर आफ्नो पहिचानलाई उजागर गर्न चलचित्र क्षेत्र विश्वमा अग्रसर बन्नुपर्छ । ’

हजारौंको संख्यामा रोजगारी दिएको स्वदेशी चलचित्र उद्योगमा संलग्न श्रमजीवि चलचित्र कर्मीहरुको हकहित संरक्षण र सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने नेपाल सरकारको समसामयिक नीति रहेको उनको भनाइ छ ।

चलचित्र चेतना र जागरणको संवाहक चलचित्र निर्माण गर्दा संवेदनशील हुन उनले आग्रह गरिन् । ‘चलचित्र क्षेत्र आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने माध्यम हो । समय सापेक्ष तलिम र शिक्षा दिँदै भौतिक पूर्वाधार विकास गर्दै जानुपर्छ । कलाकारहरु राष्ट्रका जागरुक र महत्वपूर्ण प्रतिनीधि पात्र भएकाले सामाजिक सहिष्णुता, शान्ति प्रवर्द्धन, पर्यनट विकास, पर्यावरणीय सन्तुलन र आर्थिक समृद्धिका सन्देश दुत बनेर समाजमा चेतना र जागरण फेलाउनुपर्छ ।’ चलचित्र निर्माताहरुलाई ईंगित गर्दै उनले भनिन्, ‘चलचित्रकर्मीहरुको लक्ष्य स्वच्छ मनोरञ्जन सहित सभ्य र आदर्श समाज निर्माण गर्ने हुनपर्छ । चलचित्रले सार्वजनिक शिक्षा, स्वास्थ्य प्रवद्र्धन, समाजमा विद्यामान कुप्रथाहरु, (दाईजो बोक्सी, बालविवाह) विरुद्ध जागरण फैलाउँदै ससभ्य र सुसँस्कृतिक समाज निर्माणमा योगदान दिनुपर्छ ।’

प्रदेश २ सरकारले समाजमा महिलाको उत्थान र विकासका लागि सुरु गरेको ‘बेटी पढाऔं र बेटी पढाऔं’ अभियानलाई समेत सहयोग गर्न राष्ट्रपतिले आव्हान गरिन् ।

चलचित्रले जनताको जीवन र सँस्कृति बोल्नुपर्छ : बास्कोटा

कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले अध्ययन अनुसन्धान गरेर चलचित्र निर्माण गर्न आग्रह गरे । ‘नयाँ प्रस्थान बिन्दुको खोजी गर्दा विरासत भुल्नुहुन्न, चलचित्रले जनताको जीवन र सँस्कृति बोल्नुपर्छ,’ उनले भने,  ‘चलचित्र निर्माण गर्दा कति रिसर्च हुन्छ ? योगमाया, विद्यापिठ पुष्पलाल, मदन भण्डारी, वीपी र गणेशमानका बायोपिक चलचित्र किन बनेनन ? कालापानी,नालापानी, सिम्रौनगढ किन बन्दैनन् ? फगत उद्योग र मनोरञ्जनको रुपमा मानेर हुँदैन, राष्ट्रिय मनोविज्ञान निर्माणका लागि काम हुनुपर्छ । आउनुस् कसरी राम्रो बनाउन सकिन्छ छलफल गरौं ।’

अब वीरता, नव निर्माण र स्वाधिनताका चलचित्र बन्नुपर्ने बताउँदै उनले चलचित्र क्षेत्रले समेत समृद्ध नेपाल र सुखी नेपाली बनाउन योगदान दिनुपर्नेमा उनको भनाइ थियो ।

विज्ञापन सम्बन्धी कानून राष्ट्रपतिबाट पारित भइसकेको बताउँदै उनले सरकार चलचित्र सम्बन्धी कानून निर्माणको तयारीमा रहेको बताए ।

कलाकारले अन्तर्राष्ट्रिय स्तरमा देश चिनाउन सक्छ : मुख्यमन्त्री राउत

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाली चलचित्र जगतले कामको समिक्षा गर्नुपर्ने बताए ।

‘नेपाली चलचित्र नेपाली दर्शकले किन हेरिरहेका छैनन् ? समय सापेक्ष र यथार्थपरक हुन नसकेको हो कि ? वा के कमी कमजोरी छ त्यसमा सुधार गर्नुपर्छ,’ उनले भने,  ‘हलिवुड र बलिवुडलाई हेरेर ताली बनाएर बस्ने हो भने हामी समाप्त हुन्छौं ।’

सरकार, चलचित्र बोर्ड, लगानी कर्ता सबै मिलेर काम गरे नेपाली कलाकारले अन्तर्राष्ट्रिय स्तरमा कला प्रदर्शन गरेर देश चिनाउन सक्ने उनको भनाइ छ ।

वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले मधेसको कला सँस्कृतिलाई नेपाली रजतपटमा समेट्न नसकेको स्वीकार गरी वीरगञ्ज आउनु निकै सकारात्मक पक्ष भएको बताए ।

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले विदेशी चलचित्रमा कोटा सिस्टम लगाउनुपर्ने, विभिन्न मुलुकमा रहेका नेपाली दुतावास मार्फत नेपाली चलचित्रको प्रवद्धन गर्ने वातावरण मिलाईदिर्न, कम्तिमा २ वटा उत्कृष्ट चलचित्र चीनमा चलाउन पहल गरिदिन आग्रह गरे ।

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भवानी राणाले नेपाली चलचित्रलाई छिमेकी देशको बजारमा बिक्ने अवस्थामा पुर्‍याउन सबै पक्षको हातेमालो आवश्यक रहेको बताइन । चलचित्र महोत्सवले पर्यटन प्रवद्धन, आदिवासी जनजाति पछाडि परेका सिमान्तकृत समुदायको उत्थान, नेपाली कला सँस्कृतिलाई विश्व बजारमा पुर्‍याउन योगदान दिने दाबी गरिन् ।

तराई पहाड हिमालको उत्सव नाराका साथ शुरु गरिएको महोत्सवमा नेपालकै पहिलो छाँयाकार बैकुण्ठ मास्के र सम्पादक तिर्थलाल श्रेष्ठलाई सम्मान गरिएको थियो ।

महोत्सवमा बिहीबार भारतका चर्चित अभिनेता गोबिन्दाको समेत प्रस्तुती छ । ५ जनाको टोली सहित उनी केही दिनदेखि नेपालमै छन् । महोत्सवमा सहभागी हुन नेपाली चलचित्र जगतका मुर्धन्य हस्तीहरु समेत वीरगञ्ज आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment