Comments Add Comment

पाइलटको मापसे जाँच्न नेपाल एयरलाइन्सले ल्यायो अत्याधुनिक मेसिन

रेडबुल खाएर पनि बिमान चलाउन नपाइने !

२१ कात्तिक, काठमाडौं । नेपाल एयरलाइन्सले विमानस्थलमा आफ्ना पाइलटले मादक पदार्थ सेवन गरे–नगरेको परीक्षण गर्ने अत्याधुनिक मेसिन हालै जडान गरेको छ । रोचक चाहिँ के भने यो मेसिनले रेडबुल खाएको अवस्थामा पनि ‘पिएको’ देखाउँछ ।

अब हरेक पाइलटले यो मेसिनमा आफ्नो परीक्षण गर्नैपर्छ । मेसिनमा पोजिटिभ रिपोर्ट आयो भने उसले उडान अनुमति पाउँदैन ।

निगमका सहप्रवक्ता सुलेख मिश्रका अनुसार उक्त मेसिनमा अपरेशन विभागले दिनभर उड्ने पाइलट तथा को–पाइलटको नाम अपडेट गरेको हुन्छ । पाइलटले मेसिनमा आफ्नो नाम भन्नुपर्छ । त्यही बेला मेसिनले पाइलटले मापसे गरे–नगरेको जाँच गर्छ । त्यसपछि उक्त पाइलटको रिपोर्ट स्वतः ट्रयाक हुन्छ र प्रिन्ट पनि हुन्छ ।

तत्काल अपरेशन विभागसम्म पुग्ने रिपोर्टका आधारमा मापसे गरेको पाइलटलाई जहाजमा चढ्न दिइँदैन । यो मेसिन अहिले नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडानका पाइलटका लागि मात्र प्रयोगमा ल्याइएको हो । अध्यागमन पार गरिसकेपछि पाइलटले आफ्नो मापसे रिपोर्टका लागि परीक्षण गर्नुपर्छ ।

अन्य उडान र कम्पनीका पाइलटको हकमा भने ट्राफिक प्रहरीले सवारी साधन चालकहरुलाई परिक्षण गरेसरह नै परिक्षण हुने गरेको छ । प्रहरीले प्रयोग गर्ने ‘ब्रेथलाइजर’ नै विमानस्थलमा समेत प्रयोग हुने गरेको छ । त्यो पनि उजुरी परेको अवस्थामा वा शंका लागेको बेला मात्र । सामान्यतया विमानस्थलकै कर्मचारीले पाइलट–कोपाइलटको अवस्था असामान्य देखेमा विमानस्थल प्रशासनलाई खबर गर्छन् । त्यसपछि मात्र उनीहरुले अल्कोहल लिए–नलिएको परीक्षण हुन्छ ।

गत वर्ष साउन दोस्रो साता फ्लाइ दुबईको जहाज उडाउने एक जहाजलाई त्रिभुवन विमानस्थलमा मापसे गरेको अवस्थामा नियन्त्रणमा लिइएको थियो । उनलाई सो दिन जहाज उडाउन रोक लगाई दुबइबाट अर्को पाइलट मगाएर जहाज पठाइएको थियो । कुनै पनि पाइलटले मादक पदार्थ सेवन गरी जहाज उडाएको पाइए उक्त उडान रद्द गरी परामर्श दिने, चेतावनी दिने, तालिम उपलब्ध गराउने, जरिवाना गर्ने र अन्त्यमा ग्राउण्डेड गरी लाइसेन्स रद्द गर्नेसम्मको प्रावधान छ । विदेशी कम्पनीका पाइलटको हकमा भने सोही मुलुकको कानून अनुसार कारवाही हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment