Comments Add Comment

प्याकुरेलको कटाक्ष : प्रदेश २ ले नाम अनुसारको भूमिका देखायो

२२ कात्तिक, जनकपुरधाम । कतिपय व्यक्तिले अनौपचारिक प्रसंगहरुमा प्रदेश २ लाई होच्याउन ‘दुई नम्बरी’ भन्ने शब्दावली प्रयोग गर्छन् । शुक्रबार एक कार्यक्रममा राष्ट्रिय सभाका सदस्यहरुले त्यही शब्द त प्रयोग गरेनन् तर यहाँका जनप्रतिनिधिहरुले प्रदेशको नाम अनुसारको भूमिका देखिएको टिप्पणी गरे ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले शुक्रबार प्रत्यायोजित विधायन र सरकारी आश्वासनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा राखेको थियो । कार्यक्रममा प्रदेश २ का सभामुख सरोजकुमार यादव, उपसभामुख उपमा देव, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादव, राज्य मन्त्री सरोजकुमार सिंह, अर्थ तथा योजना समितिका सभापति मनिष सुमनसहित सबै बिषयगत समितिका सभापति, प्रतिपक्षी दलका नेता, दलका सचेतकहरु, मुख्य न्यायाधिवक्ता र सरोकारबालालाई आमन्त्रणा गरिएको थियो । आसन ग्रहणका लागि २० जनाको नाम तय भएको थियो ।

तर कार्यक्रममा राष्ट्रिय जनता पार्टी (राजपा)का सचेतक परमेश्वर साह मात्र उपस्थित भए । राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले चार ठाउँमा यस्तो कार्यक्रम गरेकोमा जनकपुरमा यस्तो बिजोग भएको बताए ।

‘समिति सभापति, मन्त्री र सांसदहरुलाई प्रदेशसभाबाट खबर गरिएको रहेछ, तर कोहि आएनन्’ उनले भने, ‘यसमा मेरो केहि चित्त दुःखाई छैन, तर बिषयवस्तुबारे सबैले बुझ्दा राम्रो हुन्थ्यो ।’

सरकारले ल्याउने विधेयक, बनाउने ऐन, निर्देशिकामा सांसदहरुले ध्यान पुर्‍याउनुपर्ने सन्देश दिन आयोजना गरिएको कार्यक्रममा मुख्य सरोकारबालाहरु नआइदिएपछि कार्यक्रको समापन मन्तव्यमा राष्ट्रियसभाका सांसद सुमनराज प्याकुरेलले प्रदेशप्रति नै कटाक्ष गरे, ‘प्रदेशको नाम अनुसारको भूमिका देखियो ।’

कार्यक्रमको मुख्य व्यक्ति प्रदेशसभा सचिवालयका सचिव रंजित यादव आए पनि केहि बेरमै उठेर हिँडेकोप्रति दुःख व्यक्त गरेका समितिका सभापति बिडारीले पनि भने, ‘त्यसैले मान्छेहरुले प्रदेश २ लाई अरु नै के–के भन्दा रहेछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment