Comments Add Comment

नेपालमा भारतीयभन्दा चिनियाँ पर्यटक धेरै

२२ कात्तिक, काठमाडौं । नेपाल भ्रमणमा आउने विदेशी पर्यटकमा भारतीयलाई चिनियाँले उछिनेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अक्टोवर महिनामा भारतीय पर्यटकको तुलनामा चिनियाँ पर्यटक बढी संख्यामा नेपाल भ्रमणमा आए ।

यसै महिना चीनका राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आएका थिए । उनको दुई दिने भ्रमणको विश्वव्यापी प्रचार भएको थियो । सो भ्रमणले पनि चिनीया पर्यटकहरुलाई नेपाल आउन प्रेरित गरेको बुझाइ बोर्डको छ ।

तथ्यांक अनुसार अक्टोवर महिनामा मात्र १५ हजार ३७ जना चिनियाँ नागरिक नेपाल भ्रमणमा आए । यो संख्या अक्टोवर २०१८ को तुलनामा ११।५ प्रतिशत बढी हो । यस महिनामा भारतीय पर्यटक भने १२ हजार ७ सय ६ जना मात्र आए । तथापि भारतीय पर्यटक पनि अघिल्लो वर्षको अक्टोवरको तुलनामा मात्र ९।१ प्रतिशतले बढेका हुन् ।

अहिले संसारभर चिनियाँ पर्यटकको चहलपहल बाक्लो छ । तर, नेपालमा कूल पर्यटक आगमनमा भारतीय नै अगाडी छन् । १० महिना -जनवरी-अक्टोवर० को अवधिमा कूल भारतीय पर्यटक १ लाख ६९ हजार ९ सय ५२ जना आउँदा चिनियाँ भने १ लाख ३४ हजार २ सय ८१ जना आएका छन् ।

अक्टोवर महिनामा कूल पर्यटक १ लाख ४३ हजार ८ सय ७० जना आए । अघिल्लो वर्ष यसै महिनामा १ लाख ३० हजार ७ सय ४ जना पर्यटक नेपाल आएको तथ्यांक रहेको छ ।

भ्रमण वर्ष प्रारम्भ हुनु दुई महिना अगाडिसम्मको कूल पर्यटक आगमन उत्साहजनक छैन । जनवरीदेखि अक्टोवर २०१९ सम्मको एकीकृत तथ्यांकअनुसार प्रतिमहिना औसत १ लाख पर्यटकसमेत भित्रन सकेका छैनन् । अध्यागमन विभागको तथ्यांकलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार १० महिनामा कूल ९ लाख ७५ हजार ५ सय ५७ जना पर्यटक नेपाल आए । यो अघिल्लो वर्षको १० महिनाको तुलनामा मात्र ८ प्रतिशतले बढी हो ।

सन् २०१८ को १० महिनामा ९ लाख ३ हजार ५ सय ३९ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए । कूल पर्यटकमध्ये हवाइमार्गबाट ८ लाख २० हजार ४ सय ९९ र स्थलमार्गबाट एक लाख ५५ हजार ५८ जना पर्यटक भित्रिएका छन् । स्थलमार्गबाट भित्रिने भारतीय नागरिक भने नेपालमा पर्यटकको गणनामा पर्दैनन् ।

१० महिनाको पर्यटक आगमन तथ्यांक केलाउँदा यूरोप र अमेरिकी मुलुकबाट हुने पर्यटक आगमन सुस्त देखिएको छ । १० महिनामा यूरोपेली मुलुकबाट १ लाख ९९ हजार ३ जना पर्यटक भित्रिए । गत वर्ष १ लाख ९८ हजार ४ सय ९३ जना पर्यटक नेपाल आएका थिए । अमेरिका र क्यानडाबाट ९२ हजार २ सय ७२ जना मात्र पर्यटक भित्रिए ।

गत वर्ष ८८ हजार २ सय ८६ जना भित्रिएका थिए । एसियाली क्षेत्रबाट भने केही पर्यटक बढेका छन् । खासगरी चाइनिज ताइपेई र थाइल्याण्डबाट क्रमशः ३९.५ र ३२.९ प्रतिशत बढी पर्यटक आएको आंकडाले देखाएको छ । ताइपेईबाट ११ हजार ३ सय ८४ र थाइल्याण्डबाट ३९ हजार ६ सय ८ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

१० महिनामा कुन क्षेत्रबाट कति पर्यटक आए ?

क्षेत्र सन् २०१८ सन् २०१९ वृद्धि प्रतिशत
सार्क २४०१०० २५०२४३ ४.२
एसिया (सार्कबाहेक) २३३५६२ २५९४४५ ११.१
यूरोप १९८४९३ १९९००३ ०.३
आसियाना ३३०८२ ३४८५८ ५.४
अमेरिकी मुलुक ८८२८६ ९२२७२ ५.४
अन्य ११००१६ १३६७७८ १४.०२
कूल ९०३५३९ ९७५५५७

स्रोत : नेपाल पर्यटन बोर्ड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment