Comments Add Comment

युएईको बालुवामा रोपिएको नेपाली मन

२४ कात्तिक, दुबई । युएई अर्थात अरब । सामान्यतया नेपालीका लागि एउटा जीवनको रोटी सेक्ने गन्तव्य मुलुकमात्र हो । आफ्नो छाक टार्न अथवा परिवारको आवश्यकता र थोरै जीवनशैलीलाई उकास्न भनेर अरब छिर्ने नेपालीहरु नेपाली भाषा र साहित्यप्रति त्यत्ति धेरै चिन्तित छन् भन्दा कतै कथा बन्ला, कतै ठट्टा । तर, यथार्थ नेपाली भाषा र साहित्यको चिन्तनमा नेपालमा रहेका भन्दा विदेशमा रहेका नेपालीहरु बढि चिन्तित भएको भान हुन्छ कहिलेकाहिँ ।

नेपाली भाषा र साहित्यको चिन्ता गर्नेहरु वास्तवमा देशको चिन्ता गर्ने सच्चा देशभक्त हरु हुन् । उनीहरु आफ्नो भाषाबाट देशका लागि योगदान दिइरहन्छन् । साहित्यकारका हरेक साहित्य रचना रसस्वादन सँगै समाज र देशको चिन्तामा पोखिन्छन् ।

वैदेशिक रोजगारीका लागि भौतारिएर खाडिको युएई अर्थात संयुक्त अरब इमिरेट्स छिरेका केही जुझारु युवाहरु रोजगार दातालाई बेचेको समयबाट बाँकी रहेको अलिकति समय निकालेर आफ्नो साहित्य सिर्जना मार्फत कहिले राष्ट्रको पीडा गुन्गुनाउँछन् त कहिले देश छोड्नुपरेको आफ्नै पीडा पोख्छन् आखिरमा साहित्य भनेको पनि कलात्मक पारामा समाज र परिवेश र देशको पिडा बोल्ने भाषा नै त हो ।

युएईकै कुरा गर्दा झण्डै २ दशक अघिदेखि नै नेपाली साहित्यमा चिन्ता व्यक्त गर्न थालिएको रहेछ । नेपाली साहित्य परिषद नाम दिएर गठन गरिएको यो संस्थालाई त्यत्तिबेलाका जुझारु कर्मठ साहित्यकर्मीहरुले योगदान दिएका रहेछन् । बुझ्दै जाँदा साहित्यकार दलबीरसिंह बराइली घायलको नेतृत्वमा सुरु भएको त्यो संस्था अहिले देखिँदैन । तथापि युएईमा नेपालीको साहित्यको बिउ रोप्नमा उनको ठूलो हात रहेछ ।

एक समय अन्तराष्ट्रिय नेपाली साहित्य समाज, विश्व नेपाली साहित्य मञ्चको पनि गठन भएको पाइन्छ । तर, अहिले त्यो युएईमा गुमनामजस्तै छ । पछि गएर केही समय सुनसान रहे पनि सन् २०१४ तिर अन्तराष्ट्रिय नेपाली कलाकार समाजले प्रवासका अक्षरहरु नामक पुस्तक प्रकाशन गर्दै यहाँ बसेर रचना गर्नेहरुलाई बाहिर निकाल्न पहल गरेको त्यस समयका साहित्य संयोजक साहित्यकार जे सागर बताउँछन् ।

पुस्तक प्रकाशनलगत्तै सोही संस्थाको आयोजनामा विश्वव्यापी खुल्ला गजल प्रतियोगिताको आयोजना गरेर युएईलाई नेपाली साहित्यमा चिनाउने काम गरेको रहेछ ।

त्यस्तै, सन् २०१४ मै सगरमाथा साहित्यिक मञ्च नामक संस्था गठन गरेर युएईको अर्को पाटोमा भएका सर्जकहरुलाई सँगेट्ने काम गरिएको पाइयो । विवेक दुलाल क्षेत्री त्यस संस्थाका संस्थापक अध्यक्ष रहेछन् भने हाल कृष्ण विश्वकर्मा सो संस्थाको नेतृत्वमा छन् । सगरमाथा साहित्यिक मञ्चले त्यसै समयतिर प्रवासका फूलहरु भन्ने पुस्तकसमेत प्रकाशनमा ल्याएको थियो ।

अहिले भने संस्थालाई विश्वव्यापीकरण गर्ने सोचसहित सगरमाथा साहित्यिक प्रतिष्ठान नाम दिइएको यस संस्थाले युएईको राजधानी अबुधावीलाई केन्द्र बनाएर रचना सुन्ने–सुनाउने काम गर्दै आइरहेको संस्थाका अध्यक्ष विश्वकर्मा बताउँछन् ।

केही समयअघि मात्रै सगरमाथा साहित्यिक प्रतिष्ठानले अक्षरहरुको सगरमाथा नामक गजल संग्रह प्रकाशन ग¥यो । छरिएर रहेका १०५ जना गजलकारलाई समेटेर प्रकाशन गरिएको सो संग्रहलाई युएईमा लोकार्पण गरियो । संस्थाले आगामी बर्ष विश्वव्यापी कविता प्रतियोगिता आयोजना गर्ने योजना बनाएको छ ।

हाल युएईमा सक्रिय रहेका साहित्यिक संस्थामा सिर्जना वाचन डवलीको नाम आउँछ । हरेक २ महिनामा युएईका मुख्य शहरहरुमा साहित्यिक भेला आयोजना गरेर रचना सुन्ने–सुनाउने काममा सक्रिय रहेको यस संस्थाको फरकपन भनेको सबै सदस्य मात्र भएको कार्यसमिति पनि हो ।

सन् २०१५ मा स्थापना भएको सिर्जना वाचन डवलीका संरक्षक साहित्यका चिन्तक टंक गुरुङ्ग हुन् । हामीले सुनिरहने भन्दा फरक अक्षरहरुको आवाज सिर्जना वाचन डवली युएई नाम दिइएको यस संस्थामा युएईमा छरिएका थुप्रै नेपाली साहित्यकर्मीहरु आवद्घ छन् ।

प्रवासमा विभिन्न पेशामा आवद्घ भएर आफ्नो बाध्यतालाई छिचोल्दै खाडीको कामबाट बचेको समय साहित्य सिर्जनामा लगाउनु पक्कै पनि चानचुन कुरा होइन । तथापि शुक्रबारहरु खाडीमा रंगीन नबनेरर आउँछन् र मीठो साहित्यको सुवास छरेर जान्छन् ।

युएईमा रहेका नेपाली साहित्यिक संस्थाले हालसम्म आफूलाई नेपाली साहित्यमा चिनाउन थुप्रै हस्तीहरुलाई समेत निम्त्याइसकेको छ । सिर्जना वाचन डवलीले मात्रै पनि गीतकार डा. कृष्णहिर बराल, डा कृष्णजंग रायमाझी, कवि कृष्ण प्रसाई, मुक्तककार वादल घिमिरे, गीतकार तथा मुक्तककार विष्णुवावु देवकोटा, आवाजका वादशाह भनेर चिनिने अच्युत घिमिरे बुलबुल जस्ता नेपालीका साहित्यका हस्तीहरुलाई आफ्नो प्राङ्गणमा झुल्काइसकेको छ । त्यतिमात्र नभएर सुगम संगीतका चम्किला गायक राज सिग्देलको प्रत्यक्ष गजल गायन पनि युएईका नेपालीले सुन्न पाएका छन् । उता, सगरमाथा साहित्य प्रतिष्ठानले पनि गजलकार मायामितु न्यौपानेलाई हालसालै नेपालबाट बोलाएर युएईमा सम्मान समेत गर्न भ्याएको छ ।

बालुवाको राजधानी युएईले हालसम्म थुप्रै साहित्यिक कृतिहरु नेपाली साहित्यलाई दिइसकेको छ । पछिल्लो समयमा साहित्य संग्रह प्रकाशन गर्नेमा गजलकार जे सागर, कवि कृष्ण विश्वकर्मा, गजलकार टंक गुरुङ, मुक्तककार सरोज संगम र कवि विवेक दुलाल क्षेत्रीहरु छन् ।

प्रवासमा रहेर नेपाली साहित्यमा ईंटा थप्ने सबै स्रष्टाहरुलाई सलाम !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment