Comments Add Comment

गाई पाल्ने खेमराजले छोराको जागिर छुटाए

लघुउद्यमको एक नमूना– पौडेल गाई फार्म

२६ कात्तिक, काठमाडौं । देवचुली–३, नवलपरासीका खेमराज पौडेलको दिनचर्या अहिले गाईवस्तुसँगै वित्छ । उमेरले ७० लाग्नै आँटेका खेमराज विहान ४ बज्न नपाउदै उठ्छन् । राति अबेरसम्म गोठमा खटिन्छन् ।

घरसँगै बनाइएका ४ गोठभरि गाई र तिनका रहरलाग्दा बाच्छाबाच्छीहरु छन् । बिहान उठेपछि पौडेल पहिले एक फन्को लगाउँछन् गोठ वरीपरी । गाईलाई ब्रेक फास्ट (खोले) खुवाउँछन् । झिसमिस उज्यालो हुन नपाउँदै दुध दुहुने मेसिन र हातमा बाल्टी बोकेर गाईको छेउमा पुगछन् । कान्छा छोराबुहारी माधव र विष्णुकुमारी खनाल (पौडेल) को सहयोगमा गाई दुहुन्छन् ।

‘सरकारी अनुदानमा दुध दुहुने मेसिन पनि पाएको छु, कहिले हातैले दुन्छु त केही मेसिनले’ खेमराजले सुनाए ।

परिवारका सबै सदस्य गाईपालनमै रमाएका छन् । अहिले दैनिक ८ सय लिटर दुध उत्पादन हुने गरेको छ ।

‘जेठो र हाम्रो समेत गरेर १२० वटा त माउँ गाई मात्रै छन्’ पौडेल भन्छन्, ‘८ सय लिटर बेच्दा ४ सय लिटर फाइदै हुन्छ ।’

पोहोर साल खेमराजलाई सरकारले ५ लाख रुपैयाँ नगद अनुदान दियो । त्यसयता झनै खुसी छ उनको परिवार । तर, यो अवस्थासम्म आइपुग्न उनको संघर्षको पनि लामो कथा छ ।

आसाम बसाईकोे सिकाई

खेमराजको परिवारको पहिला आर्थिक अवस्था धेरै राम्रो थिएन । उनी स्थानीय राजनीतिमा संलग्न थिए । राजतन्त्रकै बेला उनी जिल्ला तहका नेता थिए । राजनीतिमा गति लिदै गएका खेमराजलाई परिवार पाल्न धौधौ परेको थियो ।

त्यसपछि उनी धन कमाउने उद्देश्यले भारत गए । भारतको असाममा लामो समय बिताएका खेमराजलाई गाई पालन गर्ने सोच त्यहीँबाट आयो ।

‘आसाममा त्यसबेला निकै गाई पालिएका थिए, मैले त्यहाँ गाई कसरी पालिन्छ कसरी आम्दानी हुन्छ भन्ने कुरा राम्ररी नियाले, त्यसपछि मलाई लाग्यो नेपालमा गएर केहि गर्न सकिन्छ’ उनी भन्छन् ।

२०५६ सालमा उनी नेपाल आए । गाउँमा त्यतिबेला गाई पालेर दुध बेच्ने चलन नै थिएन ।

‘शुरुमा पाल्छु भन्ने लागेको थियो, तर यहाँ गाई पालेर दुध बेच्ने चलन नै नभए पछि के गर्नु ? तर मैल आफैलाई दहि खान भनेर एउटा गाई पालेँ,’ उनी भन्छन्, ‘समयसँगै गाईको दुध किन्नेको संख्या पनि बढ्दै गयो, त्यसपछि भने मैले गोठमा गाई थपेँ ।’

लघुवित्तको सहयोग

१० वर्ष अघिसम्म गाईको दुध बेचेर उनको धेरै राम्रो आम्दानी हुँदैनथ्यो । गोठमा धेरै गाई पनि थिएनन् । दुध बिक्रीको रकम घर खर्चमै सकिन्थ्यो । बचेको रकमले गोठ थप्ने सोच भए पनि जम्मा हुनै कठिन थियो ।

यस्तो अवस्थामा उनलाई वोमी लघुवित्त वित्तीय संस्था सहयोगी बन्यो । ‘मलाई पैसा चाहिएको थियो, गाउँमा चर्को ब्याज, त्यही पनि पैसा पाउन सहज थिएन’ उनी भन्छन्, ७ वर्ष अघितिर हुनु पर्छ एउटा संस्थाका मान्छेहरु वास्तविक कृषकलाई हामी लगानी गर्छौ भन्दै आए, उहाँहरुबाट मेरो समस्या हल भयो ।’

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत पाएको संस्थाले आफ्नो उद्देश्य अनूरुप लगानी गर्न आफ्ना कर्मचारीहरुलाई गाउँमा पठाएको थियो । लामो समयसम्म बैंक तथा वित्तीय संस्थाको नियामक निकाय राष्ट्र बैंकमै सेवा गरेर सेवा निवृत भएका कर्मचारीहरुले खोलेको संस्था भएका कारण पनि संस्था आफ्नो उद्देश्य प्राप्तिमा दृढ थियो ।

वास्तविक कृषक खोज्दै समूह गठनका लागि वोमीका तत्कालिन शाखा प्रमुख वलराम कालाखेती त्यहाँ पुगेका थिए ।

‘मलाई पैसा चाहिएको थियो, वहाँहरुलाई ग्राहक’ खेमराज भन्छन्, ‘मेरो मेहनत देखेर वहाँहरुले विश्वास गर्नु भयो, मेरो बुहारी संस्थाको सदस्य बनिन् र हामीले ४० हजार रुपैयाँ कर्जा लियौँ ।’

४० हजार रकम पनि उनका लागि निकै ठूलो राहत भयो । उनले उक्त रकम गाई र गोठमा खर्चिए । सही सदुपयोग गरेकाले कर्जा चुक्ता गर्न पनि उनलाई समस्या भएन । उनले आफूलाई चाहिएको समयमा ऋण लिने र समयमा नै भुक्तानी गर्ने गरे ।

‘धैरै पटक कर्जा लिएँ, समयमा नै तिरको छु,’ उनी भन्छन्, ‘पछिल्लोपटक पनि केहि महिना अघि मैले ३ लाख रुपैयाँ बिना धितो कर्जा लिएको छु ।’

छोरालाई सरकारी जागिर छुटाए

गाई पालनमा राम्रो आम्दानी हुँदै गयो । खेमराजका कान्छा छोरा नेपाल प्रहरीमा जागिरे थिए । २०६१ सालमै प्रहरीमा भर्ना भएका माधव पौडेलले १२ वर्ष प्रहरी सेवामा बिताइसकेका थिए ।

तर खेमराजले छोरालाई प्रहरी सेवाबाट राजिनामा दिन लगाए । ‘घरमै बसेर राम्रो आम्दानी हुने पछि जागिर किन खानु पर्‍यो भनेर बोलाएको हुँ’ खेमराज भन्छन् ।

बावुको इच्छाअनुसार सरकारी जागिर छाडेर गाईबस्तुको स्याहारमा ३ वर्षदेखि जुटेका छन् माधव । उनी खुसी नै देखिन्छन् । तर पनि कमसेकम पेन्सन पकाउन पाएको भए राम्रो हुन्थ्यो कि भन्ने लाग्छ ।

केहिबेर सोचेर उनी भन्छन्, ‘ठिकै छ, परिवारसँग बस्न पाएको छु, बुवा खुसी हुनु भएको छ । यो नै ठूलो कुरा हो ।’

पौडेल परिवारले गाउँका केहिलाई जागिर पनि दिएको छ । गोठमा ५ जना कामदार छन् । ३ जनाको तलब १५ हजार रुपैयाँ हाराहारीमा छ ।

खेमराजकोमा काम गर्ने एक जना मानसिक रोगी हुन् । घर, थर मात्रै होइन नाम पनि बताउन नसक्ने मानसिक रोगीलाई उनले काम लगाएका छन् ।

‘पहिला राजमार्गमा बस्ने रहेछ, बाटामा आएका गाडीलाई ढुंगा हान्थ्यो, खानेको केही ठेगान थिएन,’ खेमराज भन्छन्, ‘अहिले मज्जाले काम गर्छ । दिमाग पनि राम्रै हुँदै गएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment