Comments Add Comment

डा. उपाध्यायले गीत लेखेरै राखे १४ कीर्तिमान

एकसाथ सात एल्बम र आठ उपन्यास सार्वजनिक

कीर्तिमानी गीतकार डा. डीआर उपाध्याय (दायाँबाट तेस्रो)

काठमाडौं । एकसाथ सात गीति एल्बम सार्वजनिक गरेर विश्व कीर्तिमान राखेका गीतकार डा. डीआर उपाध्यायले त्यसको एक वर्षपछि पुनः ७ एल्बम एकसाथ सार्वजनिक गरेका छन् । २०७५ साल मंसिरमा उनले एकसाथ सात गीति एल्बम निकालेर कीर्तिमान राखेका थिए ।

सोमबार कमलपोखरीस्थित रुसी साँस्कृतिक केन्द्रमा एक विशेष कार्यक्रमबीच वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले डा. उपाध्यायका कीर्तिमानी सात गीति एल्बम सार्वजनिक गरे ।

‘अन्जान तिर्खा’, ‘सुधारस’, स्वर्ग घर, ‘नजरको तीर’, ‘सेभेन्थ कड्स’, ‘सौभाग्यको सिन्दुर’ र ‘अनुभूतिको मझेरीमा’ गीति एल्बमबाट डा. उपाध्यायले आठ विश्व कीर्तिमान राखेको दाबी गरिएको छ । सोही कार्यक्रममा यसैगरी डा. उपाध्यायको एक उपन्यास ‘सपनाकी रानी’ र आठ उपन्यासको संगालो पनि सार्वजनिक गरिएको छ ।

यस्ता छन् कीर्तिमान

सोमबार सार्वजनिक एल्बमहरुमा १२ मेजर १२ माइनर स्केलका २४ फरक गीत, पाँच फरक सङ्गीतकारले सङ्गीत गरेको एउटा गीत, सबै गीत सेभेन्थ कड्सबाट तयार पारिएको गीति एल्बम, अधिकांस हिन्दू देवी देवताको नाम राखेर बनाइएको गीत र सबैलाई स्वस्थ राखौं भन्ने योगसम्बन्धी गीत छन् ।

कीर्तिमान राखेवाफत डा. उपाध्यायले पाएका केही प्रमाणपत्र

यसैगरी महिला प्रताडनासम्बन्धी गीत, जसमा ७१ वर्ष र ५ वर्षकी गायिकाले गाएको, अत्यधिक हिमाललाई समेटेर पर्यटन वर्ष २०२० लाई लक्षित गरी तयार पारिएको गीत छन् ।

यस्ता प्रकारका गीत डा. उपाध्यायको विश्वमै पहिलो भएको दाबी गरिएको छ । साथै १६ महिनामा १८ गीति एल्बम सार्वजनिकको रेकर्ड पनि उपाध्यायले राखेको दाबी गरिएको छ ।

कार्यक्रममा एभरेष्ट वर्ल्ड रेकर्डका फाउण्डर निर्देशक मधुरा श्रेष्ठले डा. उपाध्यायलाई आठ वटा वर्ल्ड रेकर्डको प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।

यसअघि ६ कीर्तिमान

यसअघि डा. उपाध्यायले ६ कीर्तिमान राखेका थिए । सोमबार सार्वजनिक गीति एल्बम र उपन्यासपछि अहिले उनले कीर्तिमान राखेको जम्मा संख्या १४ पुगेको छ । गीत लेखेर एकपछि अर्को कीर्तिमान कायम गरेका डा. उपाध्यायले वर्ल्ड बुक्स अफ अमेरिका, अष्ट्रेलिया, लण्डनलगायत विभिन्न देशबाट प्राप्त वर्ल्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरेका छन् ।

उपाध्यायले मिराकल वर्ल्ड रेकर्ड, इण्डिया स्टार वर्ल्ड रेकर्ड, एक्सक्लुसिभ वर्ल्ड रेकर्ड, जीनस वर्ल्ड रेकर्ड, एभरेष्ट वर्ल्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरिसकेका छन् । उनले नेपाली गीत-सङ्गीतका विविध विधामा गरेको कामको खातिर विश्वका विभिन्न मुलुकले उनलाई सम्मान गरेका छन् ।

डा. उपाध्यायका यसअघि ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नशालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’, ‘सहेली’, ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक’ गरी ११ एल्बम सार्वजनिक भएका थिए । यसैगरी उनका हालसम्म ‘वज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायाँ’, ‘स्वार्थी’, ‘विटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’ र ‘सपनाकी रानी’ उपन्यास प्रकाशित छन् ।

सत्यमोहन जोशी, बसुन्धरा भुसाल र ज्ञानु राणालाई अभिनन्दन

एल्बम सार्वजनिक कार्यक्रममा वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशी, अभिनेत्री बसुन्धरा भुसाल र वरिष्ठ गायिका ज्ञानु राणालाई पनि अभिनन्दन गरिएको थियो ।

कार्यक्रममा जोशीले डा. डीआर उपाध्यायले नेपाली गीत सङ्गीतलाई विश्वमा चिनाउने काम गरेको बताए । उनको कार्य सह्रानीय रहेको भन्दै यस्तो कार्य गर्न उनमा अझ जोश जागर बढोस् र अन्य कीर्तिमान कायम होस् भन्ने कामना गरे ।

त्यस्तै युथ क्रिएशन म्युजिक प्रा.लिबाट डा. डीआर उपाध्यायलाई म्युजिक क्रिएशनका अध्यक्ष रमेश थापा र सल्लाहकार कृष्ण भुसालले दोसल्ला र ताम्रपत्रले सम्मान गरेका थिए ।

गायक गायिकाहरु सागर अधिकारी ‘शरद’, नरहरि प्रेमी, योगेश काजी, राज सागर, मनोज राज र सारिका घिमिरेले एल्बममा रहेका गीत प्रस्तुत गरेका थिए । समारोहमा मधुरा श्रेष्ठ, सन्तोष श्रेष्ठ, सागर अधिकारी, अच्युत घिमिरे, कृष्ण भुसाल, नरहरि प्रेमी, योगेश काजी, मनोज राज, राज सागर, गीता अधिकारी, सारिका घिमिरे, रमेश थापा, सुभाष प्रधान, नरेश भट्टराईलगायतलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

सङ्गीतकार सन्तोष श्रेष्ठले स्वागत भाषण तथा कार्यक्रम माथि प्रकाश पारेका थिए भने साहित्यकार सञ्चारकर्मी अच्युत घिमिरेले डा. डीआर उपाध्यायका उपन्यासबारे बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment