Comments Add Comment

इरानमा भेटियो तेलको विशाल भण्डार

२६ कात्तिक, काठमाडौं । इरानमा ५३ अर्ब ब्यारेल बराबरको नयाँ तेल भण्डार फेला परेको छ । ६५ अर्ब ब्यारेलवाला इरानको अहवाज तेल क्षेत्रपछि यो दोस्रो ठूलो भण्डार हो ।

इरानका राष्ट्रपति हसन रुहानी स्वयंले तेलको नयाँ भण्डार फेला परेको जानकारी दिएका छन् । चौतर्फी आर्थिक प्रतिबन्ध झेलिरहेको इरानका लागि यो सुखद् खबर हो ।

यो तेल भण्डार दक्षिण–पश्चिम इरानको २ हजार ४ सय किलोमिटर क्षेत्रमा फैलिएको छ । इरानका राष्ट्रपति रुहानीका अनुसार, यो क्षेत्र खुजेस्तान प्रान्तमा पर्दछ ।

तेल निर्यातक देशहरुको संगठन अर्गनाइजेशन अफ द पेट्रोलियम एक्सपोर्टिङ कन्ट्रिज अर्थात् ओपेकको संस्थापक देश इरान हो । इरानसँग कुल प्रमाणित तेल भण्डार १५५.६ अर्ब ब्यारेल छ ।

नयाँ भण्डार पत्ता लागेपछि इरानको कुल तेल भण्डारमा ३४ प्रतिशतले वृद्धि भएको छ । इरान विश्वको चौथो धेरै तेल भण्डार भएको र दोस्रो धेरै ग्यास भण्डार भएको देश हो । नयाँ तेल भण्डार फेला परेपछि इरान विश्वमै तेस्रो धेरै तेल भण्डार भएको देश बन्ने राष्ट्रपति रुहानीले बताएका छन् ।

यी घोषणासँगै रुहानीले अमेरिकाप्रति कडा टिप्पणी गरेका छन् । समाचार एजेन्सी एएफपीका अनुसार, रुहानीले भनेका छन, ‘हामीहरु अमेरिकालाई भन्न चाहन्छौं कि हामी एक धनी देश हौं । अमेरिकाको कठोर प्रतिबन्धका बाबजुद इरानको तेल उद्योगमा काम गर्ने र इन्जिनियरहरुले नयाँ तेल क्षेत्र पत्ता लगाएका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment