Comments Add Comment

डोटीका १० वडा स्वास्थ्य चौकी विहीन

२६ कात्तिक, डोटी । डोटीका पाँच स्थानीय तहका १० वडाहरु स्वास्थ्य चौकी विहीन रहेको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ ।

नेपाल सरकारको स्वीकृत मापदण्ड अनुसार प्रत्येक वडामा एक आधारभूत स्वास्थ्य केन्द्र हुनु पर्ने व्यवस्था रहेको छ । तर, जिल्लाका १० वडाहरुमा स्वास्थ्य चौकी छैनन् ।

जिल्लाका नौ स्थानीय तहमा कूल ६५ वडा रहेका छन् । ती वडाहरुमध्ये ५५ वडामा मात्रै मापदण्ड अनुसारका स्वास्थ्य सँस्था रहेका छन् ।

बडीकेदार गाउँपालिका-२, दिपायल सिलगढी नगरपालिकाको वडानम्बर ३, ४ र ७, आदर्श गाउँपालिका-३, सायल गाउँपालिकाको वडानम्बर २, ५ र ६ र शिखर नगरपालिकाको वडानम्बर ३ र ८ मा स्वास्थ्य चौकी नरहेको स्वास्थ्य कार्यालय डोटीका तथ्याङ्क अधिकृत तथा सूचना अधिकारी महेश बोहराले जानकारी दिए ।

स्वास्थ्य चौकी नभएका वडाहरुमा स्थानीय तहले आफ्नै पहलमा सामुदायिक स्वास्थ्य इकाइ, नगर स्वास्थ्य इकाइ र शहरी स्वास्थ्य इकाइ स्थापना गरेको भए पनि स्वीकृत मापदण्ड अनुसारका स्वास्थ्य सँस्थाहरु नरहेको बोहरा बताउँछन् ।

स्थानीय तहहरुले न्यूनतम् स्वास्थ्य सेवामा जनताको सहज पहुँचका लागि जिल्ला भरीमा ३१ वडा स्वास्थ्य इकाइहरु स्थापना गरेका छन् ।
बोगटान फुड्सिल गाउँपालिकामा पाँच, जोरायलमा ६, सायलमा दुई, आदर्शमा ६ र बडीकेदार गाउँपालिकामा पाँच स्वास्थ्य इकाइहरु स्थापना भएका छन् ।

यस्तै दिपाल सिलगढी नगरपालिकामा चार र शिखर नगरपालिकामा तीन शहरी स्वास्थ्य क्लिनिकहरु स्थापना भएको सूचना अधिकारी बोरा बताउँछन् ।

स्वास्थ्य सँस्था विहीन वडाहरुमा नयाँ स्वास्थ्य चौकी स्थापना गर्ने पहल भइरहेको बताउँछन् स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासी ।

‘हामीले स्वास्थ्य चौकी नभएका स्थानीय तहहरुलाई कार्यपालिकाबाट स्वास्थ्य चौकीमा स्थापना गर्ने निर्णय गरी पठाउन जानकारी गराइसकेका छौं,’ मलासीले भने, ‘उहाँहरुले पठाउनु भएपछि हामी स्वास्थ्य कार्यालयको तर्फबाट सिफारिस गरेर प्रदेश स्वास्थ्य निर्देशनालयमार्फत केन्द्रमा पठाउँछौं, अनि प्रक्रियामा जान्छ ।’

तर, हालसम्म कुनै पनि स्थानीय तहहरुबाट त्यस्तो माग आइनसकेको मलासीले जानकारी दिए । उनले भने ‘यदि उहाँहरुले चाँडो पठाउनु भयो भने यसै आर्थिक वर्षमा स्थापना हुने गरी पनि पहल चाल्न सकिने थियो ।’

स्थानीय तहहरुले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण सहयोग गरिरहेको मलासी बताउँछन् । उनले भने, ‘स्वास्थ्य सँस्थामा कर्मचारीहरुको अभाव छ, यदि स्थानीय तहहरुले करारमा स्वास्थ्यकर्मी राखेर सहयोग नगरिदिएको भए अझै समस्या हुने थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment