Comments Add Comment

विष्णु पौडेल सरकारमा नजाने, मन्त्रिपरिषद पुनर्गठनमा को–को पर्दैछन् ?

२६ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डसहित शीर्षनेताहरुसँगको परामर्शपछि अर्को साता मन्त्रिपरिषद पुनर्गठन गर्ने भएका छन् । कम्तिमा ६ जना मन्त्री हट्दा केही प्रभावशाली नेताहरु सरकारमा सहभागी हुनेछन् ।

नेकपा स्रोतका अनुसार महासचिव विष्णु पौडेल सरकारमा नजाने भएका छन् । उनले प्रधानमन्त्री तथा दुबै अध्यक्षलाई आफू पार्टी सञ्चालनको जिम्मेवारीमै रहने भन्दै मन्त्री नबन्ने आशय व्यक्त गरिसकेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

अध्यक्षपछिको कार्यकारी पद महासचिव भएकाले भर्खरै पार्टी एकीकरण टुंगिँदै गरेकाले पौडेल सम्पूर्णरुपमा पार्टी काममा खटिने उनीनिकट एक स्थायी कमिटी सदस्यले बताए । पौडेल मिसनकेन्द्रित व्यक्ति भएकाले जुन जिम्मेवारीमा हो, त्यहीँ सफल हुने गरी खटिने उनको भनाइ छ ।

पछिल्लो समय नेकपा पंक्तिमा महासचिव पौडेल अर्थमन्त्री हुने चर्चा चलेको छ । ओलीको पहिलो कार्यकालमा सफल अर्थमन्त्री बनेका र पार्टीको जनमत बढाउने खालेको बजेट ल्याएकार कारण लोकप्रिय बनेका पौडेललाई यसपटक पुनः अर्थमन्त्री बनाउने अनुमान गरिएको थियो ।

तर, दुई वर्षअघि नै प्रधानमन्त्री ओलीले मन्त्री बन्न आग्रह गर्दा पार्टीको जिम्मेवारी मागेका पौडेल महासचिवको जिम्मेवारीमा केन्द्रित हुने उनी निकटस्थहरु बताउँछन् । पौडेल र सुवास नेम्वाङ दुवै नेताले आफूलाई मन्त्री नबनाउन प्रधानमन्त्रीसँग यसअघि नै आग्रह गरेका थिए ।

को–को बन्दैछन् मन्त्री ?

महासचिव पौडेल सरकारमा नजाने भएपछि नेकपा स्थायी कमिटी तहका नेतालाई पुनर्गठनमा पारिने भएको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार यसपटकको पुनर्गठनमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, देवेन्द्र पौडेल र जनार्दन शर्मा मन्त्री बन्नेछन् ।

उपसभामुख शिवमाया तुम्बाहम्फेलाई पनि मन्त्री बनाउने जानकारी प्रधानमन्त्रीले पार्टी नेताहरुलाई गराएका छन् । यसपटक मन्त्री बन्ने निश्चित भएका बसन्त नेम्वाङ पनि छन् । २०४८ सालदेखि नै पाँचथरबाट चुनाव जितेका नेम्वाङ पहिलोपटक मन्त्री बन्दैछन् ।

यी बाहेक छविलाल विश्वकर्मा, अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, कृष्णगोपाल श्रेष्ठ, रामेश्वर यादव, प्रेमबहादुर आले, किसान श्रेष्ठ, यज्ञराज सुनुवार र पार्वत गुरुङ लगायतका नेताहरुमध्येबाट केही अनुहार मन्त्रिपरिषदमा सामेल हुने नेकपाको उच्च स्रोत बताउँछ । यी नामहरुमा छलफल चलिरहेको नेकपाका एक नेताले अनलाइनखबरलाई बताए ।

नेकपाका कतिपय नेताले भीम रावललाई पनि मन्त्री मन्त्रिपरिषदमा सामेल गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । शुरुमा रावललाई मन्त्री बनाउन चाहेका ओली रावलले लगातार सामाजिक सञ्जालबाट आफू र सरकार विरुद्ध विपक्षीलाई मसला दिने गरी प्रस्तुत भएको भन्दै असन्तुष्टि जनाएको बताइन्छ ।

जब कि रावलभन्दा कडा आलोचक भुसाललाई भने ओलीले मन्त्री बनाउन चाहेका छन् । केही महिनाअघि प्रधानमन्त्री निवासमै ओली र भुसालबीच लामो छलफल भएको थियो । त्यसयता भुसालको सम्बन्ध प्रधानमन्त्रीसँग सुध्रिएको छ ।

अर्थमन्त्री खतिवडा नै

प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र महासचिव पौडेल लगायतका नेता अर्थमन्त्रीमा डा.युवराज खतिवडालाई नै निरन्तरता दिन एकमत रहेका छन् । माघमा राष्ट्रियसभा सदस्यको २ वर्षे कार्यकाल सकिन लाग्दा खतिवडा पुनर्गठनमा हटाइने चर्चा चलिरहेको छ । तर, उनी अर्थमन्त्री नै रहने नेकपाको उच्च स्रोतले जनायो । स्रोतले भन्यो, युवराज खतिवडा अर्थमन्त्री नै रहन्छन् र नेकपा सरकारको तेस्रो बजेट पनि उनैले ल्याउनेछन् । संविधानतः साउन महिनासम्म उनी मन्त्री पदमा रहन पाउँछन् । राष्ट्रियसभामा पुनः नदोहोरिए पनि खतिवडाले जेठमा बजेट ल्याउँछन् । अर्थतन्त्रमा सुधारका सूचकहरु आइरहेका बेला उनलाई हटाउने कुरा चलेको छैन ।

को–को हट्ने भए ?

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्दा कृषिमन्त्री चक्रपाणि खनाल, महिला वालवालिका तथा समाज कल्याण मन्त्री थममाया थापा, युवा खेलकुद मन्त्री जगत विश्वकर्मा, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ र उद्योगमन्त्री मात्रिका यादवलाई विदा दिने जानकारी नेताहरुलाई गराएका छन् ।

श्रममन्त्री गोकर्ण बिष्ट, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, वनमन्त्री शक्ति बस्नेत लगायतको सन्दर्भमा भने छलफल चलिरहेको उच्च स्रोतले जनाएको छ ।

उपेन्द्र यादव सरकारबाट बाहिरिए भने दुई मन्त्रालयमा पनि नेकपाकै सांसदले मौका पाउनेछन् ।

नेकपा स्रोतले भन्यो, कतिपय मन्त्रीको जिम्मेवारी हेरफेर हुनेछ । कम्तिमा ६/७ जना मन्त्रीलाई विदा दिएर केही अनुभवी र केही नयाँलाई जिम्मेवारी दिने गरी छलफल भइरहेको छ । सम्भवतः उपचुनावअघि नै एक साताभित्रमा प्रधानमन्त्रीले मन्त्रिपरिषद पुनर्गठन गर्नुहुन्छ, नेतृत्व तहमा सहमति भइसकेको छ ।

प्रधानमन्त्रीको सचिवालय यथावत ?

यसैबीच सामुहिक राजीनामा दिएको भनिएका प्रधानमन्त्रीको सचिवालयका मुख्य व्यक्तिहरु यथावत जिम्मेवारीमा रहने भएका छन् । मुख्य सल्लाहकार बिष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा.राजन भट्टराई, स्वकीय सचिव दिपेन दाहाल लगायतको जिम्मेवारी यथावत रहने निकट स्रोतले जनाएको छ ।

कतिपयले प्रदेश ५ का मुख्यमन्त्री प्रधानमन्त्रीको मुख्य सल्लाहकार भएर काठमाडौं आउने हल्ला चलाएको भन्दै पोखरेल स्वयंले खण्डन गरेका छन् । उनले विष्णु रिमालनै सल्लाहकारको भूमिकामा रहने बताएका छन् । नेकपा स्थायी कमिटी सदस्य समेत रहेका रिमालको विकल्प नखोजिने नेकपा स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment