Comments Add Comment

प्रभावकारी भएन काठमाडौं महानगरको ‘पिक एण्ड ड्रप’ कार्यक्रम

२७ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिका (कामपा)ले टुँडिखेल आसपास क्षेत्रमा शुरु गरेको सार्वजनिक सवारी साधनले यात्रु कुरेर बस्न नपाउने ‘पिक एण्ड ड्रप’ कार्यक्रमको प्रभावकारिता न्यून देखिएको छ । काठमाडौं महानगरपालिकाले गत पुस १ गतेदेखि टुँडिखेल आसपास, भद्रकाली, रत्नपार्क, शहीदगेट, आरएनएसी र जमलमा शुरु गरेको उक्त कार्यक्रमको प्रभावकारिता अत्यन्तै न्यून देखिएको हो ।

कार्यक्रम शुरु भएको एक वर्ष बित्नै लाग्दा सवारी चालकहरु ट्राफिक प्रहरीका आँखा छली सवारी साधन रोकी यात्रु कुर्ने प्रवृत्तिमा कमी हुनसकेको छैन । जसका कारण जामको समस्या ज्यूँको त्यूँ देखिन्छ । आफ्नो गन्तव्यमा पुग्न लामो समयसम्म कुरेर बस्नुपर्दा यात्रुलाई पनि सास्ती र चालकले पनि लामो समय एकै स्थानमा बिताउँदा ट्राफिक जामसँगै समयको बर्बाद हुने हुँदा कामपाले यस किसिमको व्यवस्था गरेको थियो ।

‘पिक एण्ड ड्रप’ कार्यक्रमले जामको समस्या कम भएको छ । यसको पूर्णरूपमा कार्यान्वयन हुनका लागि समय लाग्ने कामपाका प्रवक्ता ईश्वरमान डंगोल बताउँछन् । काठमाडौंको मुटु मानिने यस क्षेत्रमा सार्वजनिक सवारी साधनले यात्रु कुरेर लामो समयसम्म बस्दा सवारीको पर्खाइमा बसेका यात्रु, पैदलयात्रु र वातावरणसमेत प्रदूषित हुने भएकाले यस किसिमको व्यवस्था गरिएको डंगोलको भनाइ छ ।

कार्यक्रम लागू भएपछि त्रिपुरेश्वरदेखि सुन्धारा, रत्नपार्क, भोटाहिटीलगायतका स्थानमा सवारी जाम कम भएको पनि प्रवक्ता डंगोलको दाबी छ । नियमको पालना नगर्ने चालक वा सहचालकलाई कारबाही गर्ने जनाए पनि उनीहरूले इमान्दारीपूर्वक पालना गरेकाले अहिलेसम्म कोही पनि कारबाहीमा नपरेको पनि महानगरले बताएको छ ।

काठमाडौं उपत्यकाभित्रै सञ्चालन हुने लामो तथा छोटो दूरीको सवारी साधन यी स्थानमा लामबद्ध हुँदा पैदलयात्रुलाई समेत समस्या भएको यात्रुको गुनासो छ । यात्रु हिँड्ने स्थानहरुमा पनि सवारी नै रोकेर राखेको हुन्छ । कार्यक्रम शुरुआतीको चरणमा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले यस्तो व्यवस्था काठमाडौं उपत्यकाको अन्य स्थानमा पनि लागू गर्ने जनाए पनि शुरु गरेको स्थानहरुमा समेत प्रभाकारी कार्यान्वयन हुन नसक्दा यसतर्फ ध्यान जानसकेको छैन ।

काठमाडौंमा कलंकी बालाजुचोक, चाबहिल चोक, कोटेश्वर सातदोबाटो, माइतीघर, थापाथलीलगायतका स्थानमा आवतजावत गर्दा नागरिकले जामको समस्या भोग्नु नौलो होइन । हरेक दिन घण्टौं जाम खेपेर नागरिक आफ्नो कामकाज धान्न बाध्य भएका छन् । त्यति मात्रै कहाँ हो र धेरै स्थानमा पैदलयात्रुका लागि बाटो काट्न आकाशे पुल छैनन् भने भएका जेब्राक्रसिङ पनि स्पष्ट देखिँदैन ।

गत साउनमै कामपाले आठ स्थानमा स्थानान्तरण गर्न सकिने आकाशे पुल निर्माण गर्ने तयारी गरे पनि उक्त कार्यले अहिलेसम्म गति लिनसकेको छैन । कामपाभित्र करिब एक हजार ४५० किलोमिटर पक्की सडक छ । कामपालाई आठ मिटरभन्दा कम चौडाइका सडक मात्र मर्मतसम्भार गर्ने अधिकार छ । त्यसभन्दा माथिका सडकमा काम गर्न सडक विभागसँग सहकार्य गरेर काम गर्नुपर्दछ ।

कामपाभित्र आठ मिटरभन्दा कम चौडाइका सडक ९५० किलोमिटर छ । कामपाभित्र ६२ मिटर चौडाइका सडकसमेत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment