Comments Add Comment

लघुकथा : सिमाना

सीमा क्षेत्र लिपुलेक ।

तल्लाघरे आले बा र मेरा बुवा बचपनदेखिकै साथी हुन् । उनीहरुको मित्रतामा कहिल्यै अवरोध आएन । दुःख पर्दा एक अर्काका सारथी थिए । हामी पनि आले बा भनेपछि हुरुक्कै हुन्थ्यौं । ऐंचो-पैंचो अर्म-पर्म उहाँसँग निर्धक्कसँग चल्थ्यो ।

घरभन्दा तल ठूलो गैरीखेत थियो । खेतको आधा भाग आले बाको थियो, आधा भाग हाम्रो । लाजपूर्जा पनि दुबैका नाममा थियो । सिमाना छुट्टाउने साँध खेतको आली थियो ।

असारको महिना थियो । त्यो दिन गैरीखेतमा धान रोपाइँ थियो । खेतालाहरुले आ-आफ्नो काम गरिरहेका थिए ।

किसानका लागि असारको महिना चाडको महिना हो । मलाई पनि असारको महिना साह्रै रमाइलो लाग्छ । म पनि गैरीखेतमा कोदालो चलाउँदै थिएँ । बुवा हामीलाई सहयोग गर्दै हुनुहुन्थ्यो ।

‘यो आली ठूलो भइसकेछ’, आफूले बोकेको कोदालीले आलीलाई ताछेर मिलाउँदै बुवा बोल्नुभयो ।

‘हो त बुवा, मेलै अघि नै मिलाउन खोजेको थिएँ, मैले होमा हो मिलाएँ ।

साँझ पर्‍यो । खेतको काम पनि सकियो । घर फर्किनै लाग्दा आले बा कड्किदै आउनुभयो ।

ओ ढिँडे, तैंले के गर्न खोजेको ?

हामीले कुरा बुझ्नै सकेनाैं । बुवाले नम्र भएर भन्नुभयो, के भयो आले तँलाई ?

बढ्ता बुझ नपचा, तैंले खेतको साँध मिचेको ? आले बा ठूलो स्वरमा बोल्नुभयो ।

बल्ल कुरा बुझियो । बुवाले आली ताछेको कुरा आले बाले थाहा पाएछन् ।

बुवाले सम्झाउँदै भन्नुभयो हेर आले, मैले सिमाना मिचेको हैन । आली मिलाएको मात्र हो । तैपनि तेरो भागतिरको जस्ताको त्यस्तै छ ।
‘बढ्ता कुरा नगर् । जताको भए नि सिमाना भनेको सीमाना हो’ आले बा बेस्सरी कड्किए ।

बुवा सम्झाउन खोज्नुहुन्थ्यो । तर, आले बा कड्किन छोड्नुभएन । धेरैबेर भनाभन भयो । हात हालाहाल भयो । कुटाकुट नै भयो ।
आले बालाई बेस्सरी रीस उठेछ । गोरु चुट्ने लाठीले बुवालाई बेस्सरी हिर्काउनुभयो । बुवा थचक्कै बस्नुभयो । हामीले छुट्टाउनै सकेनाैं । बुवा उठ्न पनि सक्नुभएन ।

यतिखेरसम्म गाउँले सबै जम्मा भइसकेका थिए ।

गाउँलेहरुले आले बालाई सम्झाए । उनले केही सम्झेजस्तो गरे । सबै तितर-बितर भए । बुवा त्यहीँ हुनुहुन्थ्यो ।

पर पुगेका आले बा फर्केर दगुर्दै आउनुभयो । लाठी उचालेर बुवाको खुट्टा भाँच्चिने गरी लाठी बर्साउनुभयो । र, चिच्याउदै बोल्नुभयो- साले ! अब, साँध मिचिस् भने टाउको छिनाउँछु ।

– बागलुङ नगरपालिका- १०, भकुण्डे अर्भक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment