Comments Add Comment

कर्मचारीले अन्त खटाए थुक्ने धम्की दिए : मन्त्री पण्डित

२८ कात्तिक, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले समायोजनका बेला आफूविरुद्ध कतिपय कर्मचारी व्यक्तिगत गालीगलौचमै उत्रिएको बताएका छन् ।

बिहीबार निजामती कर्मचारी विधेयकमाथिको छलफलमा राज्य व्यवस्था समिति बैठकमा उपस्थित भएका उनले कर्मचारीले आफूलाई थुक्छुसम्म भनेको सम्झिए ।

‘दुई जना उपसचिवज्यूहरु आउनुभएको थियो हानौला झैँ गरेर,, तपाईंले खटाएको ठाउँमा खट्नुपर्छ ? के लोकतन्त्र र गणतन्त्र यसैको लागि आएको हो काममा खट्नको लागि ?’ उनले कर्मचारीले आफूलाई भनेको कुरा स्मरण गरे ।

मन्त्री पण्डितले अगाडि भने ‘उहाँहरुले मलाई अन्त खटाए तपाईंलाई सबैभन्दा खराब मन्त्री भन्छु र थुक्छु भन्नुभयो ।’

मन्त्री पण्डितले कर्मचारीमा अनुशासनहीनता बढेको पनि टिप्पणी गरे । कतिपय कर्मचारी विदेश भ्रमणमात्रै गरेर दिन बिताइरहेको पनि उनले बताए ।

‘एक वर्षमा पटक पटक गरी एक जना सहसचिव २१० दिन विदेश ट्रेनिङमा गएको रेकर्ड फेला पारेको छु, उसले देशमा कहिले काम ग¥यो होला ?’ मन्त्री पण्डितले भने, ‘त्यस कारणले अहिले पनि समस्या के हो भने अनुशासनलाई टाइट बनाउनुछ, एकातिर प्रोत्साहन दिनु पनि छ । अर्कोतिर काम लिनु पनि छ ।’

कर्मचारीमा आफ्नो व्यक्तिगत कामसमेत कार्यालय समयमा गर्ने प्रवृत्ति रहेको भन्दै पनि मन्त्री पण्डितले बताए । सबै कर्मचारीहरु एकै स्तरका नहुने भन्दै उनले कर्मचारीको योग्यता, क्षमता र विकासका निम्ति प्रोत्साहित गर्दै जानुपर्ने बताए ।

निजामती कर्मचारी विधेयकमाथि बिहीबार भएको छलफलमा मन्त्री पण्डितले कतिपय दबावहरु गलत किसिमले आउने भन्दै त्यस्तो दबावलाई थेगेरै भए पनि अघि बढ्नु आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment