Comments Add Comment

बाबुरामको विश्लेषण : नेकपा पतनतिर, साझा–विवेकशीललाई बुझौं

२८ कात्तिक, काठमाडौं । समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फेरि उठ्नै नसक्ने गरी पतनको दिशामा रहेको दाबी गरेका छन् । नेपाली कांग्रेस भने आफ्नै असक्षमता, अकर्मण्यता र नालायकीको भारले थिचिएको उनको विश्लेषण छ ।

पार्टीको बिहीबार बसेको संघीय परिषद्को बैठकमा भट्टराईले पेश गरेको राजनीतिक प्रतिवेदनमा राजनीतिक शक्तिहरुको विश्लेषण गरिएको छ ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले नेकपा एकैसाथ ‘संसदवादी’ र ‘कम्युनिष्ट’ वन्ने अन्तरविरोधपूर्ण बाटोमा अग्रसर भएको बताएका छन् । पार्टी स्थापनाकालीन मान्यता, सिद्धान्त र उद्देश्यहरु विश्वव्यापी रुपमा असफल भएपछि नेपालको कम्युनिष्ट आन्दोलन कुहिरोको कागजस्तो बन्न पुगेको भन्दै उनले भनेका छन्, ‘एकातिर उनीहरुले माक्र्सवाद–लेनिनवाद–माओवादप्रति शाब्दिक निष्ठा व्यक्त गर्न छोडेका छैनन् । अर्कोतिर यी विचारको सान्दर्भिकता र प्रयोगबारे उनीहरुमा व्यापक अन्यौल, अविश्वास, निराशा र हिनताभाष छ ।’

नेपालको कम्युनिष्ट आन्दोलन नै वैचारिक रुपले अध्याँरो सुरुङभित्रको यात्रा गरिरहेको भट्टराईको विश्लेषण छ । नेकपाबारे उनको प्रतिवेदनमा भनिएको छ, एकातिर लोकतन्त्रप्रतिको आफ्नो निष्ठामा शंका नगर्न अनुनय विनय गर्दछन् अर्कोतिर ‘कम्युनिष्ट–कम्युनिष्ट’ को नाममा सामिप्यता र आडभरोसा खोज्न पनि छोडेका छैनन् । एकदलीय सर्वहारा राज्य वा कम्युन प्रणालीलाई मौका पर्ने वित्तिकै गौरवीकरण गर्दछन् ।’

दार्शनिक, वैचारिक रुपमा अन्यौलग्रस्त र नैतिक रुपमा स्खलित भइसकेको पार्टी संगठनात्मक रुपमा मात्र लामो समय बलियो भइरहन नसक्ने उनको दाबी छ । भट्टराईले भनेका छन्, आउँदा केही बर्ष वा दशकभित्र नेकपा भविष्यमा फेरि उठ्न नसक्ने गरी पतनको दिशामा अभिमुख छ ।’ नेकपाको राजनीतिक व्यवहार र नेकपाले सञ्चालन गरिरहेको सरकारले यही कुरा पुष्टि गरिरेको उनले बताएका छन् ।

पार्टीका ठूला नेताहरु भ्रष्टाचार तथा नैतिकपतनका घटनामा मुछिएको, शिक्षा र स्वास्थ्यको व्यापारीकरण रोक्न नसकेको, सम्पति शुद्धीकरण आयोगलाई निस्क्रिय बनाएको तथा ठूला आयोजनाहरु विना टेन्डर सिधै सम्झौता गरेको भन्दै उनले भनेका छन्, यसको भित्री रहस्य कालो धन र कमिसनतन्त्रसँगको साँठगाँठ हो भन्ने कुरामा कुनै शंका छैन ।’

यो पनि पढ्नुहोस समाजवादी पार्टीले तत्काल सरकार नछाड्ने

संविधान जारी गर्दा कांग्रेससंग मिलेर आन्दोलनलाई दमन गरेको, संसदीय शासकीय प्रणाली कायम राखेको र १०+१ को मोडेलमा प्रदेश सीमाङ्कन हुन नदिएको भन्दै भट्टराईले नेकपा कांग्रेस जस्तै औपचारिक–प्रतिनिधिमुलक संसदीय लोकतन्त्रको पक्षपाती बन्न पुगेको बताएका छन् । नेकपाले आफूलाई समानुपातिक–समावेशी, सहभागितामूलक तथा प्रत्यक्ष लोकतन्त्र विरुद्ध उभ्याएको भन्दै उनले भनेका छन्, ‘यस्तो प्रवृतिविरुद्ध हाम्रो पार्टीले तीव्र वैचारिक तथा राजनीतिक संघर्ष गर्नुपर्छ ।’

समाजवादी पार्टीका अध्यक्ष भट्टराईले कांग्रेससँग आफ्नो पार्टीको दलीय स्वतन्त्रता र बहुदलीय व्यवस्थामा मात्र समानता भएको बताएका छन् । परिस्थितिबल लतारिएर गणतन्त्रमा आएको तथा कांग्रेसका कयौ नेताहरु अहिले पनि संघीयता, समावेशिता र धर्मनिपेक्षता उल्टाउन जनमत निर्माण गर्दै हिँडेको भन्दै भनेका छन्, यो पार्टी उत्पीडित जनसमुदायको मुक्ति, पहिचान र अधिकारको विपक्षमा छ ।’

संघीयताको सही मोडेल निर्धारण हुन नसक्नुमा कांग्रेसको ठूलो भूमिका रहेको उनले बताएका छन् । कांग्रेसको शासनकालमा ठूल्ठूला भ्रष्टाचार काण्डहरु भएको र सुशासनको सवालमा प्रतिवद्वता व्यवहारमा नदेखिएन भन्दै उनले भनेका छन्, ‘आजको दिनमा कांग्रेस आफ्नै असक्षमता, अकर्मण्यता र नालायकीको भारले थिचिएको छ । प्रमुख प्रतिपक्षको भूमिका समेत राम्ररी निभाउन नसक्ने गरी थलथिलो भएको छ ।’

यद्यपि देशभर फैलिएको संगठन र परम्परागत जनमत रहेको उनको विश्लेषण छ । ‘वैकल्पिक लोकतान्त्रिक तथा समाजवादी दलको अभावमा राजावादी र साम्यवादी लाई भोट दिन नचाहने जनमतले यो पार्टीलाई भोट दिँदै आएको छ’ भट्टराईको प्रतिवेदनमा भनिएको छ, ‘हाम्रो पार्टीले यो जनमतमाथि उल्लेखनीय हस्तक्षेप गर्नु पर्छ । वैकल्पिक लोकतान्त्रिक शक्तिको उदय भइसकेको सन्देश दिनुपर्छ ।’

उनले राप्रपा दल गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षताको विरुद्धमा रहेको प्रतिवेदनमा उल्लेख रहेका छन् । राप्रपाले जनताको धार्मिक भावनाको राजनीतिक दोहन गरेर शक्तिमा फर्किन चाहने तर पछिल्लो चुनावमा निक्कै कमजोर भएको भन्दै उनले भनेका छन्, ‘महेन्द्रीय राष्ट्रवाद’ को पैरवी गर्ने राप्रपा धारले वेलावेला कांग्रेस–कम्युनिष्टको असक्षमताको धमिलो पानीमा माछा मार्ने प्रयत्न गर्दछ । राजतन्त्र फर्किने हल्ला गर्दछ ।’

उनले राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको तर राप्रपाले छर्ने अनावश्यक भ्रम चिर्न निरन्तर चनाखो हुनुपर्ने बताएका छन् ।

राष्ट्रिय जनता पार्टी राष्ट्रिय पहिचान र अधिकारको पक्षधर लोकतान्त्रिक दल भएको र धेरै एजेण्डा मिल्ने भन्दै भट्टराईले एकता प्रयासलाई यथासम्भव छिटो तार्किक निष्कर्षमा पुर्‍याउनुपर्नेमा जोड दिएका छन् ।

उनले नेकपा (विप्लव) समूहले सशस्त्र संघर्षको बाटो रोजेर गलत क्रियाकलाप गरिरहेको भन्दै मूलधारमा फर्किनुपर्ने बताएका छन् ।

साझा पार्टी र विवेकशील नेपालीजस्ता दलहरुले विकास, सुशासन, समृद्धि र सुसंस्कृत राजनीति नभएको चिन्ता व्यक्त गर्नु सकारात्मक भएको बताएका छन् ।

‘तर विचार के हो र कस्ता एजेण्डा बोक्ने हुन त्यो प्रष्ट छैन । केही नयाँ गरौैं भन्ने हुटहुटीले दल बनेका हुन सक्छ’ भट्टराईको प्रतिवेदनमा भनिएको छ । यिनीहरुलाई धैर्यतापूर्वक बुझ्ने, परख्ने गर्नुपर्छ । संगसंगै गलत बाटो तिर नजाउन् भनेर वैचारिक संघर्ष पनि जारी राख्नुपर्छ ।’

जनमुक्ति पार्टी, लिम्बुवान, थरुहटजस्ता पार्टीसँग कतिपय एजेण्डाहरु मिल्ने र प्रदेश पुनर्सीमाङ्कनको सवालमा सहकार्य हुन सक्ने बताएका छन् । उनले भनेका छन्, ‘समाजवादको बृहत आयाम र अवधारणाबारे यस्ता दलहरुसंग वैचारिक सहकार्य बढाउँदै, ध्रुवीकरण र एकताको प्रयास गर्दै अगाडि बढ्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment