Comments Add Comment

सांसद आलमलाई रौतहट कारागारमा नराखिने

१ कात्तिक, काठमाडौं । राजपुर बम विष्फोट प्रकरणमा अदालतबाट पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएका पूर्वसांसद मोहम्मद अफ्ताव आलमलाई रौतहटमा नराखिने भएको छ ।

जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासले सुरक्षाको दृष्टिकोणले रौतहटमा राख्न उपयुक्त नहुने भन्दै ‘सुरक्षित स्थानमा राख्नू’ भन्ने आदेश दिएकाले रौतहट कारागारमा नराखिने भएको हो ।

यद्यपि, शुक्रबार आदेश आउँदा साँझ परिसकेकाले अहिले आलमलाई रौतहट कारागारमै राखिएको छ । रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले अनलाइनखबरसँग भने, ‘अहिलेलाई रौतहट कारागारमै राखेका छौं । तर, कहाँ राख्ने भन्ने विषयमा पनि छलफल भइरहेको छ ।’

उनले आफूले आदेशको पूर्ण विवरण पनि पढ्न भ्याइ नसकेको बताए । २०६४ साल चैत २७ गते भएको राजपुर बम विस्फोट र त्यसमा घाइते भएकाहरुलाई इँटाभट्टामा जलाएको आरोपमा आलमलाई प्रहरीले २६ असोजमा प्रहरीले पक्राउ परेको थियो ।

रौतहट २ बाट निर्वाचित आलममाथि विस्फोट पदार्थ, ज्यानमुद्दा र ज्यान मार्ने उद्योग गरी तीन मुद्दा लगाइएको छ ।

यसअघि सरकारी वकिल कार्यालयले आलमविरुद्ध ८०० पृष्ठको अभियोग पत्र दर्ता गरेको थियो ।

जसमा आलमले आलमसहितका व्यक्तिले त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँसहित दर्जनभन्दा बढी व्यक्तिलाई इँटाभट्टाको चिम्नीमा हालेर जिउँदै जलाएको उल्लेख थियो । त्यसकै आधारमा आलमलाई शुक्रबार पूर्पक्षका लागि कारागार पठाउने आदेश भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment