Comments Add Comment

सवारी दुर्घटनामा १० वर्षमा २० हजारले ज्यान गुमाए, सवा लाख घाइते

विकास खर्च पोहोरभन्दा पनि कम

१ मंसिर, काठमाडौं । सीमा अतिक्रमण र शनिबार गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीको डायलासिसलाई आजका दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । त्यस्तै, बढ्दो सवारी दुर्घटना, सत्ताको आडमा मेडिकल कलेजले मच्चाएको ब्रह्मलुटलगायत विषयलाई पनि आजका पत्रपत्रिकाहरूले उठाएका छन् ।

धान काट्दै गरेका पोखराका किसानको तस्वीर छापेको अन्नपूर्णले कास्की–२ को चुनावी माहोल तात्दै गएको लेखेको छ । प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुन दुई साता बाँकी रहँदा सबै दलका उम्मेदवार मतदाताको घरदैलोमा पुगेको समाचारमा उल्लेख छ ।

विकास खर्च पोहोरभन्दा कम भएको तथ्यांक अन्नपूर्णले आर्थिक पृष्ठमा प्रस्तुत गरेको छ । समाचार अनुसार विकास कार्यक्रमको ठूलो हिस्सा रहेको पुँजीगत बजेट यस अवधिमा ५ दशमलव ९५ प्रतिशत मात्रै खर्च भएको छ । गत वर्ष सोही अवधिमा पुँजीगत खर्च ८ दशमलव ३० प्रतिशत भएको थियो । चालू आवको चार महिनामा २४ अर्ब ६८ करोड रुपैयाँमात्रै पुँजीगत खर्च भएको महालेखानियन्त्रक कार्यालयको तथ्यांक उल्लेख गर्दै अन्नपूर्णले खबर लेखेको छ ।

आइतबार प्रकाशित हुने नेपाल साप्ताहिकले मेडिकल सञ्चालक बसुरुद्दिन अन्सारीले सत्ताको आडमा मच्चाएको ब्रह्मलुटबारे कभरस्टोरी बनाएको छ । राज्यले तोकेभन्दा बढी शुल्क लिएर बसरुद्दिनले ब्रह्मलुट मच्चाइरहे पनि सरकार मूकदर्शक बनेको रिपोर्टको सार छ ।

नेपालले बसरुद्दिनमाथि कारबाही माग गर्दै सम्पादकीयमा लेखेको छ– सत्ताको आडमा विद्याथीहरूमाथि ब्रह्मलुट मच्चाउने बसरुद्दिन अन्सारीलगायतमाथिको कारबाही आजको आवश्यकता हो, राज्यप्रति नागरिक आशाको प्रतिविम्ब ।’

पछिल्लो समय बसरुद्दिनसँगै राज्यले तोकेभन्दा बढी शुल्क उठाइरहेका ७ मेडिकल सञ्चालकविरुद्ध विद्यार्थीले आन्दोलन गरिरहेका छन् । यद्यपि, सरकारले उनीहरूको आवाज सुन्ने प्रयास गरेको छैन ।

सडक दुर्घटना पीडितको सम्झना दिवससँग सम्बन्धित सामग्रीलाई आज कान्तिपुरले मुख्य समाचार बनाएको छ । ‘बस्ती रित्याउने त्यो दुर्घटना’ शीर्षक दिएर उसले १४ वर्षअघि प्यूठानको जर्गेनीमा भएको जन्तीबस दुर्घटनाको स्मरण गरेको छ । दुर्घटनामा दीपा अधिकारीको दुलाहा छोरासहित सबै सदस्यको ज्यान गएको थियो । ४१ जनाको ज्यान जानेगरी भएको उक्त दुर्घटनामा गाउँका अन्य व्यक्ति पनि परेका थिए । तीमध्ये १० परिवारले बस्ती नै छाडेका छन् । कान्तिपुरले परिवारका सबै सदस्य गुमाएकी दीपाको पीडालाई मर्मस्पर्शी ढंगले प्रस्तुत गरेको छ ।

‘मृत्यु भएका सबै ४१ जनालाई झिमरुक नदी किनारमा लहरै जलाइएको थियो । सबै मलामीका आँखा नदीजस्तै उर्लिएका थिए । वर्ष दिनपछिको बर्खान्त पनि एकै ठानउँमा सामूहिक रूपमा गरिएको थियो । त्यसलगत्तै दीपाले गाउँ छाडेकी हुन्’, कान्तिपुरले लेखेको छ ।

घटनापछि टारीगाउँ पुरूषविहीन भयो । टारीका मात्र २२ महिला विधवा भए । तीमध्ये केहीले दोस्रो विवाह गरे । कति छोराछोरीसहित बसाइँ सरे ।

विगत १० वर्षको सवारी दुर्घटनाको तथ्यांक पनि कान्तिपुरले खोजेको छ । कान्तिपुरका अनुसार, १० वर्षमा नेपालमा भएका सडक दुर्घटनामा २० हजारले ज्यान गुमाएका छन् । सवा लाख घाइते छन् ।

सवारी दुर्घटनाका कारण ठूलो संख्यामा मानिसहरूले ज्यान गुमाए पनि सरकार यसमा संवेदनशील नभएको कान्तिपुरको ठम्याइ छ । कान्तिपुर लेख्छ– यति कहालीलाग्दो तथ्यांक जगजाहेर भए पनि राज्यसंयन्त्रहरू पूरै बेखबरसरह छन् । न दुर्घटना न्यूनीकरणका प्रयास गरिएका छन् न त पीडितका समस्या नै सुनिएका छन् ।’

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment