Comments Add Comment

भरतपुर क्यान्सर अस्पतालमा सेवा विस्तार, आजबाट ईएचएस सेवा

१ मंसिर, चितवन । चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आजबाट ईएचएस सेवा सुरु गर्दैछ । दिउँसो साढे दुई बजेपछि ईएचएस सेवा सुरु गर्ने अस्पतालले जनाएको छ ।

क्यान्सर अस्पताल भनेर आउने बिरामी बाहिरका निजी अस्पतालमा मंहगो शुल्कमा उपचार गर्नुपर्ने बाध्यताको अन्त्य गर्न बिस्तारीत सेवा सुरु गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक डा. विजय आचार्यको भनाइ छ ।

अस्पतालबाट प्रदान गरिने सबै सेवालाई आजबाट विस्तार गर्न लागिएको उनले जानकारी दिए ।

शुल्क वृद्धि

अस्पतालले ओपीडी टिकट शुल्क पाँच सय रुपैयाँ राखेको छ । प्याथोलोजी सेवामा शुल्क यथावत छ ।

बिस्तारीत सेवा लिने बिरामीले रेडियोथेरापीमा अन्य समयमा तिर्नुपर्ने रकममा १.२५ प्रतिशत र सर्जरीमा १.५ प्रतिशत मात्रै बढी तिर्नुपर्ने छ । ‘अस्पतालमा अन्य समयमा अप्रेशन गर्दा अधिकतम तीस हजार मात्रै तिनुपर्नेमा बिस्तारीत सेवामा अप्रेशन गराउँदा अधिकतम ४५ हजार तिरे पुग्छ,’ अस्पतालका कार्यकारी निर्देशक डा. आचार्यले भने, ‘बाहिरका निजी अस्पतालमा डेढ दुई लाखसम्म लिने गरिन्छ, बिरामीलाई बिस्तारीत सेवाबाट धेरै राहत हुन्छ ।’

उनले बिरामीको चाप बढ्दै गएको र साधारण समयमा उपचार नपाएर बाहिर जानुपर्ने बाध्यतालाई अन्त्य गर्न यो सेवा प्रभावकारी हुने विश्वास व्यक्त गरे । विषेशज्ञ चिकित्सकहरुलाई आलोपालो डिउटी मिलाएर ओपीडी र अन्य सेवामा विन्यास गरिएको डा. आचार्यले बताए ।

अस्पतालमा वार्षिक झण्डै ३० हजार नयाँ बिरामी आउँछन् । सन् २०१८ मा अस्पतालको ओपीडीमा १ लाख ३७ हजार ८ सय ६२ जना बिरामी आएको तथ्यांक छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment