Comments Add Comment

अधिकांश हवाई उडान ढिलो, आन्तरिक टर्मिनलमा यात्रुको चाप

१ मंसिर, काठमाडौं । आन्तरिकतर्फका हवाई उडान ढिलो हुँदा त्रिभुवन विमानस्थलमा यात्रुहरु मर्कामा परेका छन् । पूर्वनिर्धारित समयभन्दा डेढ–दुई घण्टासम्म उडान ढिला हुँदा आन्तरिक टर्मिनलमा यात्रुहरुको घुइँचो लागेको छ ।

आइतबार बिहानैदेखि अधिकांश एयरलाइन्सका उडान समयमा सुरु भएका छैनन् । विमान कम्पनीहरुले विहान कुहिरो लागेकाले उडान ढिलो भएको र त्यसको प्रभाव पछिल्ला उडानहरुमा पनि परेको दाबी गरेका छन् । आन्तरिक हवाई टर्मिनलमा खटिएका बिभिन्न एयरलाइन्सका कर्मचारीहरुले यात्रुहरुलाई मौसम अनुकुल नभएकाले उडान ढिलो भएको जवाफ दिने गरेका छन् ।

तर, विमानस्थल परिसरमै रहेको मौसम विज्ञान विभागका मौसमविदले भने उडान नै प्रभावित हुने गरी देशको कुनै पनि स्थानमा कुहिरो नलागेको बताए । मौसमविद वरुण पौडेलले अनलाइनखबरसँग भने, ‘विहानमा अलि–अलि कुहिरो लाग्न सक्छ तर त्यो एकैछिनमा उडेर गइहाल्छ । उडान नै रोकिने गरी बाक्लो हुस्सु कुहिरो अझै सुरु भएको छैन ।’
मौसमविदका अनुसार नेपालमा समान्यतया डिसेम्बर महिनाको मध्यदेखि र जनवरी महिनाभर हुस्सु लाग्ने, शितलहर चल्ने र बढी जाडो हुने गर्छ । आज नोभेम्बर महिनाको १७ तारिख हो । त्यसैले अझैसम्म हवाई उडान नै प्रभावित हुने खालको मौसमी प्रणाली देशभर कतै पनि विकसित नभएको मौसमविद पौडेलले बताए । ‘तापक्रम अहिले पनि १०–११ डिग्री सेल्सियस छ, शितलहर चल्ने बाक्लो हुस्सु लाग्ने बेलामा तापक्रम २–३ डिग्रीसम्म पुग्छ,’ मौसमविद पौडेलले भने, ‘त्यतिबेला पश्चिमतिरबाट पानी पर्ने प्रणाली पनि भित्रिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment